सुर्खेतमा ‘पांग्राको उडान’ अभियान

सुर्खेत: अपांगता भएका व्यक्तिहरूलाई खेलकुदमा प्रोत्साहन गर्न सुर्खेतमा ‘पांग्राको उडान’ अभियान सञ्चालन गरिएको छ । सेभ द चिल्ड्रेनको सिफ्ट अभियानअन्तर्गत स्पाइनल इञ्जुरी संघ सुर्खेतले अभियान सञ्चालन गरेको हो ।
बिहीवार अभियानको मस्कट अनावरण गरिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले ‘पांग्राको उडान’ को मस्कटको औपचारिक अनावरण गरेका हुन् ।
मस्कट अनावरण कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले निजी क्षेत्रले अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको लागि सरकारसँग साझेदारी गर्न तयार रहेको बताए । उनले सीपमुलक तालिम सञ्चालन गरी अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि स्पाइनल इञ्जुरी संघ र कर्णाली प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले अपाङ्गता भएका व्यक्तिहरूको मुद्दा सबैको भएको र सबै पक्षसँग साझेदारीमा कर्णाली प्रदेश सरकारले कार्य गरिरहेको बताए । कार्यक्रममा सेभ द चिल्ड्रेनका सिनियर प्रोजेक्ट कोअर्डिनेटर जुठिराम चौधरीले सेभ द चिल्ड्रेनको सिफ्ट अभियानको बारेमा जानकारी गराएका थिए ।
अभियानअन्तर्गत सुर्खेतका विद्यालयहरूमा अपाङ्गता भएका व्यक्तिहरूले खेल्ने ह्विलचियर बास्केटबल प्रदर्शन गर्नेदेखि विद्यार्थीहरूसँग ह्विलचियर बास्केटबल खेलाडीहरूको अन्तरक्रियालगायतका कार्यक्रम भइरहेका छन् । सुर्खेतस्थित युथ फर चेन्ज नामक गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको स्पाइनल इञ्जुरी संघका सल्लाहकार दिव्य खड्काले जानकारी दिए ।
प्रकाशित मितिः ३१ आश्विन २०८२, शुक्रबार १२:१५
साझा बिसौनी ।