तीस प्रतिशत चालु बजेट कटौती गर्ने तयारी

सुर्खेत: कर्णाली प्रदेश सरकारले चालुतर्फको बजेट कटौती गर्न लागेको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सबैभन्दा धेरै सुर्खेतमा २१ करोड रूपैयाँभन्दा बढीको सरकारी सम्पत्तिको क्षति भएको थियो । क्षति मूल्याङ्कन समितिमा प्राप्त भएको विवरणका आधारमा २१ करोड १९ लाख ६९ हजार तीन सय ४५ रूपैयाँ बराबरको सरकारी सम्पत्तिको क्षति भएको जनाइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने चालुतर्फको बजेट कटौती गर्ने जनाएको छ । चालुतर्फको करिब ३० प्रतिशत बजेट कटौती गर्नेगरी गृहकार्य भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । बैठक भत्ता, भ्रमण, सवारी साधन खरिदलगायतका शीर्षकको बजेट कटौती गर्ने तयारी भइरहेको मन्त्रालयका वरिष्ठ राजश्व अधिकृत गणेशबहादुर चन्दले बताए । अहिले सबै मन्त्रालयमा कति बजेट, कुन शीर्षकमा घटाउन सकिन्छ भनेर विवरण माग गरिएको उनले जानकारी दिए । संघीय सरकारले पनि प्रदेशलाई दिने बजेट कटौती गर्ने भएपछि प्रदेश सरकारले चालु बजेट कटौतीको गृहकार्य गरेको हो । मन्त्रालयहरूले पठाएको विवरणका आधारमा बजेटका शीर्षक तोकेर कटौती गर्न लागिएको जनाइएको छ ।

केही दिन अघि मात्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विकास बजेट बाहेक अन्य बजेटका शीर्षक कटौती सहितको पत्र आर्थिक मामिलामा पठाएको थियो । सोही पत्रका आधारमा अहिले विवरण संकलनको काम भइरहेको छ । सरकारले कम आवश्यकता भएका चालुतर्फको बजेट शीर्षक कटौती गर्न लागेको हो । मुख्यमन्त्री यामलाल कँडेलले समेत विकास बजेट बाहेक अन्य शीर्षकका बजेट कटौती गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मितिः   २९ आश्विन २०८२, बुधबार १०:१८