चाडपर्वमा नै खानेपानीको संकट

पहिरोले पानीको आपूर्ति अवरुद्ध

सुर्खेत: हिउँद र गर्मीयाममा खानेपानीको संकट भोग्दै आएका वीरेन्द्रनगरका नागरिकले मनसुनको अवधिमै पनि अभाव झेल्नु परेको छ । मुख्य चाडपर्वहरू मुखैमा आएको समयमा नै वीरेन्द्रनगरवासीको धारामा पानी आइरहेको छैन ।

हप्तौदेखि धारामा पानी नपाएपछि खानेपानीको समस्या भइरहेको स्थानीय नागरिकहरूले बताएका छन् । वीरेन्द्रनगर–२ का अमर वलीको धारामा पानी नआएको पाँच दिन भयो । धारामा पानी नआउँदा खानेपानीको समसया परिरहेको उनले बताए ।

वलीका अनुसार केहीदिन अघिसम्म दुई दिनको एकपटक पानी आउने गरेको थियो । तर पछिल्लो पाँच दिनदेखि धारामा खानेपानी आएको छैन । उनी भन्छन्, ‘अहिले त धारामा एक थोपा पानी आउँदैन, नजिकै खानेपानीका मुहान छैनन् एक घण्टाको दुरीमा रहेको धाराबाट पानी ल्याएर खान परिरहेको छ ।’

खानेपानीको समस्या समाधान गर्नका लागि वीरेन्द्रनगर नगरपालिकाकै सहयोगमा बोरिङ पनि खनिएको छ । सुकुम्बासी र मजदुरी काम गर्नेको संख्या धेरै रहेको जनमिलन टोलका बासिन्दाले महसुल उठाउन नसकेपछि अहिले बोरिङ नै बन्द छ । चौकीदारको व्यवस्थासहित बोरिङ सञ्चालन गरिएपनि प्रतिव्यक्ति दुई सयसम्म बिल आउने गरेको वलीले बताए । एकातर्फ खानेपानीको संकट भइरहेको छ, अर्कोतर्फ सरकारले निर्माण गरेका खानेपानीका संरचना जीर्ण बनिरहेका छन् ।

यस्तै वीरेन्द्रनगर–११ सुब्बाकुना टोलका हरिबहादुर खड्काको धारामा पानी नआएको आठ दिन भयो । भदौ २९ गते उनको धारामा लेदोसहित पानी आएको थियो । त्यसपछि पानी आएको छैन । हिउँद, वर्षा, गर्मीयाम र मनसुनजन्य समयमा खानेपानीका लागि निकै सास्ती भोग्नु परिरहेको उनको भनाइ छ । खड्काले भने, ‘हामीलाई बाह्रैमहिना खानेपानीको समस्या हुनेगरेको छ । वर्षात्मा भल पसेर पानी खान नमिल्ने हुन्छ । अहिले त धारामा पानी नै आएको छैन ।’ पानीका अन्य स्रोत नहुँदा बजारबाट किनेर पानी खान परिरहेको उनको भनाइ छ । टोलमा डिप बोरिङ पनि छैन । इनारको पानी खान नमिल्दा निकै सास्ती हुँदै आएको खड्काले सुनाए ।

वीरेन्दनगरकै वडा नं. १ की सरिता गिरीले पनि वर्षात् भएपछि थप खानेपानीको समस्या चुलिएको बताइन् । ‘गर्मीयाममा कुवाको पानी खान मिल्थ्यो’ उनले भनिन्, ‘भल पसेर कुवाको पानी खान मिल्दैन । झुप्राखोलाको पानी धारामा नआएको पाँच दिन हुन थाल्यो ।’ किनेर पानी खान परिरहेको भन्दै उनले स्थानीय सरकार नागरिकको आधारभूत आवश्यकतामा उदासीन बनेको बताइन् । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा मनसुन अवधिमा नै खानेपानीको संकट चुलिएको छ ।

पछिल्लो सात दिनदेखि धारामा पानी नआउँदा उपभोक्ता समस्यामा परेका हुन् । असोज १ गतेदेखि पहिरोले पानीको आपूर्ति अवरुद्ध भएको छ । पाइप बगाउँदा वीरेन्द्रनगरका वासिन्दा खानेपानीबाट वञ्चित भएका छन् । वीरेन्दनगर–१३ को सिरेनीमा पहिरोले खानेपानीको पाइप बगाएको छ । ५० मिटर बाटो भासिँदा पाइपलाइन टुटेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । ठाउँ–ठाउँमा गएको पहिरो पञ्छाउने र पाइप मर्मतको काम भने भइरहेको उनको भनाइ छ । थप वर्षाले अवरोध नगरे केही दिनमै पालो अनुसार पानी वितरण सुरु गरिने उनले जनाए । ठाउँ–ठाउँमा सडक खन्दा निर्माण समितिले जंगलमा ढुंगामाटो फालेका कारण पहिरो गएको हो । गत वर्षहरूमा पनि सडक खन्ने क्रममा फालेका ढुंगामाटोसँगै पहिरो जाँदा पाइप बगाएका कारण वर्षात्को समयमा पानीको हाहाकार भएको थियो ।

उपत्यकाका मुख्य खानेपानीका स्रोत झुप्रा खोला, खरी खोला, बोरी खोला र इत्राम खोला हुन् । पानीको मुख्य स्रोतको रूपमा रहेको झुप्रा खोलाको पानीको पाइप पहिरोले अवरुद्ध गरेको हो । सुख्खायाममा खानेपानी खपत बढी र स्रोत कम हुँदा समस्या हुन्छ भने मनसुनको समयमा समेत बाढी–पहिरो र भलले खानेपानी सेवा अवरुद्ध हुने गरेको हो ।

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा पानीका स्रोत कम र माग अत्यधिक हुँदा खानेपानीको समस्या दिनानुदिन चुलिँदै गएको छ । वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार पाँच सय धारामार्फत खानेपानी सेवा दिइरहेको छ । सीमित स्रोतका कारण माग र आपूर्तिको सन्तुलन मिलाउन हम्मेहम्मे परिरहेको कार्यालयले जनाएको छ । वीरेन्द्रनगरमा दैनिक औसत प्रतिसेकेण्ड तीन सय २० लिटर खानेपानी आवश्यक पर्छ । अहिले एक सय ६३ लिटर प्रतिसेकेण्ड पानीको अभाव हुने गरेको छ ।

प्रकाशित मितिः   ८ आश्विन २०८२, बुधबार ०५:०५