जेन–जी आन्दोलन: कर्णालीका ९७ भौतिक संरचनामा क्षति

सुर्खेत: युवा (जेन–जी)हरूको आन्दोलनका क्रममा कर्णालीका ९७ भौतिक संरचनामा क्षति पुगेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विवरणअनुसार निजी तथा सरकारी सवारी साधन र भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाइएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार खनालले सवारी साधन र भौतिक संरचनातर्फ पूर्ण, आंशिक र सामान्य रूपमा क्षति भएको बताए । उनका अनुसार सरकारी सवारी साधनहरू १४ वटा दुई पाङ्ग्रै पूर्णरूपमा क्षति भएका छन् भने पाँच वटामा आंशिक रूपमा क्षति भएका छन् । चारपाङ्ग्रे ६ वटा पूर्ण र १३ वटा आंशिक क्षति भएका छन् । निजीतर्फ चारवटा पूर्ण, एउटा आंशिक रूपमा क्षति भएका छन् ।
भौतिक संरचनामा संघीय सरकारी कार्यालयतर्फ एक पूर्ण र दुई आंशिक क्षति भएका छन् भने प्रादेशिक कार्यालयतर्फ चार पूर्ण र तीन वटा आंशिक क्षति पुगेको प्रवक्ता खानलले जानकारी दिए ।
यसैगरी जिल्ला तथा स्थानीयका सात पूर्ण र दश वटा आंशिक क्षति भएका छन् । चार वटा निजी भौतिक संरचनामा पूर्ण र चार वटा भौतिक संरचनामा आंशिक क्षति भएको छ । कर्णालीका तीन जिल्लामा भौतिक क्षति भएको प्रहरीले जनाएको छ । सुर्खेत, जुम्ला र मुगुमा भौतिक संरचनामा क्षति पुगेको हो । सबैभन्दा धेरै सुर्खेतमा भौतिक संरचनामा क्षति पुगेको छ ।
जेन–जी आन्दोलनको क्रममा सुर्खेतमा ३२ सरकारी सवारी साधनमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन गरेर दश वटा सरकारी कार्यालयका ३२ वटा सवारी साधनमा आगजनी भएको हो । बाँकी अन्य सरकारी कार्यालयहरूको पनि विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले बताए । प्रहरीको विवरण अनुसार आगजनीबाट १५ वटा चारपाङ्ग्रे तथा १७ वटा दुई पाङ्ग्रे गरी ३२ वटा सवारीसाधन नष्ट भएका हुन् । अहिलेसम्म दश वटा सरकारी कार्यालयको मात्र विवरण प्राप्त भएको बुढथापाको भनाइ छ । अन्य कार्यालयहरूको विवरण संकलनको काम भइरहेको उनले जनाए ।
आगजनीबाट वीरेन्द्रनगर नगरपालिकामा मात्र सात वटा सवारी साधनमा आगजनी भएको छ । प्रहरीका अनुसार चार वटा चार पाङ्ग्रे र तीन वटा दुई पाङ्ग्रे सवारी साधनमा आगजनी भएको हो । प्रदेश लेखा नियन्त्रणको कार्यालयका आठ वटा सवारी साधनमा आगजनी भएको छ । ६ वटा मोटरसाइकल र दुई वटा गाडीमा आगजनी भएको छ ।
सबैभन्दा धेरै भौतिक क्षति भएको कर्णाली प्रदेश सभामा दुई वटा मोटरसाइकल र एउटा गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । नापी कार्यालय सुर्खेतमा समेत सवारी साधनमा आगजनी भएको छ । दुई वटा मोटरसाइकल र एउटा कारमा आगजनी भएको कार्यालय प्रमुख दिनेश भण्डारीले बताए । भण्डारीका अनुसार सडकमा सरकारी गाडी असुरक्षित हुन नसक्ने भन्दै कार्यालय परिसरमै पार्किङमा राख्ने गरिएको थियो । तर भदौ २४ गते आन्दोलन थप हिंसात्मक बन्दै कार्यालय परिसरभित्र र बाहिरका सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । त्यसक्रममा चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनहरू पनि जलेका थिए । जलेका गाडीहरू अहिले पनि सरकारी कार्यालय परिसरमा देखिन्छन् ।
भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा कर्णाली प्रदेशमा ठूलो भौतिक क्षति भएको हो । प्रदेशका थुप्रै सरकारी संरचना ध्वस्त भएका छन् । राजनीतिक दलहरूका पार्टी कार्यालयदेखि व्यक्तिगत सम्पत्तिमा पनि उत्तिकै क्षति पुगेको छ । आन्दोलनमा उत्रिएका युवाहरूले कर्णाली प्रदेशसभालाई समेत कब्जामा लिएर पूर्ण रूपमा ध्वस्त पारेका थिए । आगजनी र तोडफोडका कारण प्रदेशसभाभित्रका भौतिक संरचनाका साथै महŒवपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएपछि अब कसरी कार्यसम्पादन अघि बढाउने भन्ने अन्योल देखिएको छ । प्रदेशसभा परिसरमा तोडफोड र आगजनी नभएका कुनै संरचना बाँकी देखिँदैनन् । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले तोडफोड र आगजनीका कारण एक अर्बभन्दा बढीको क्षति भएको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत क्षति पुगेको छ । आन्दोलनकारीले मुख्यमन्त्रीको सरकारी निवासमा पनि क्षति पु¥याइएका छन् । यसबाहेक वीरेन्द्रनगर नगरपालिकासहित विभिन्न वडा कार्यालयहरूसमेत क्षतिग्रस्त छन् । आन्दोलनकारीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १२ वडा कार्यालयहरूमा पूर्णरूपमा क्षति पु¥याएका छन् ।
वीरेन्द्रनगरस्थित सभाहल, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा समेत तोडफोड र आगजनीबाट ठूलो मात्रामा क्षति भएको छ । आन्दोलनकारीले केही निजी भवनमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । मुख्यमन्त्री यामलाल कँडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनका भाइ डा. डम्बर खड्का, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उप–प्रमुुख निलकण्ठ खनालको निजी घरमा समेत तोडफोड र आगजनीका साथै धनमाल लुटपाट भएको छ ।
प्रदेशसभामा मात्रै तीन करोडको नोक्सानी
आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कर्णाली प्रदेशसभामा मात्रै तीन करोड ९४ लाख ७३ हजार रूपैयाँ बराबरको क्षति भएको छ । प्रारम्भिक तथ्यांकअनुसार इलेक्ट्रोनिक्स सामग्रीतर्फ सबैभन्दा धेरै अर्थात् दुई करोड २० लाख २० हजार रूपैयाँ बराबरको क्षति भएको प्रदेशसभा सचिवालय जिन्सी शाखामा कार्यरत नायव सुब्बा कपिलदेव भण्डारीले जानकारी दिए ।
त्यस्तै भवनतर्फ एक करोड ६ लाख ५७ हजार, फर्निचरका सामग्रीतर्फ ५३ लाख ९८ हजार, सवारी साधनतर्फ चार लाख २८ हजार र अन्यतर्फ नौ लाख ६७ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
आन्दोलनकारीले प्रदेशसभाको बैठक कक्ष रहेको भवन, सभामुख, उपसभामुख, दलका नेताहरूको कार्यकक्ष, विषयगत समितिका बैठक कक्ष र संसदीय दलका कार्यालयसहित सम्पूर्ण संरचनामा आगजनी र तोडफोड गरेका थिए । आगजनीकै कारण प्रदेशसभा बैठक कक्ष पुनःनिर्माण गर्नुपर्ने अवस्थामा पुगेको सचिवालयले जनाएको छ । बैठक भवनमा रहेका दर्शक दीर्घा, रेकर्ड तथा प्रसारण कक्षसमेत नष्ट भएका छन् । जसले गर्दा बैठक कक्ष पुनर्निर्माण नगरेसम्म बैठक सञ्चालन गर्न सकिने अवस्था छैन ।
त्यस्तै बैठकको प्रत्यक्ष प्रसारण गर्नका लागि जडान गरिएको कन्ट्रोल रुममै आगजनी भएपछि हालसम्मका प्रदेशसभा बैठकका रेकर्डहरूसमेत नष्ट भएका छन् । ‘जेन–जीको आन्दोलनमा भएको तोडफोड र आगजनीपछि कर्णाली प्रदेशसभाका सम्पूर्ण सामग्रीहरू नष्ट भएका छन्’ प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले भने, ‘आगलागीबाट प्रदेशसभाको कुनै पनि सामग्री सग्लो बचेका छैनन् ।’
आगजनी र तोडफोडका कारण विषयगत समितिका बैठकहरू पनि प्रभावित भएका छन् । प्रदेशसभाका चार वटै समितिका कार्यकक्षमा रहेका फर्निचर, रेकर्ड सामग्री र कम्प्यूटरलगायत सम्पूर्ण सामग्रीहरू नष्ट भएका छन् । सोही कारण तत्काललाई समितिका बैठक पनि सञ्चालन गर्न सक्ने अवस्था नरहेको सचिवालयले जनाएको छ ।
प्रकाशित मितिः १ आश्विन २०८२, बुधबार १५:३९
साझा बिसौनी ।