अन्तरिम सरकार प्रमुखमा सुशीला कार्कीको चर्चा

सुर्खेत: अब बन्ने अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिएको छ । जेन–जी युवाहरूको एक समूहले अबका दिनमा देश चलाउन र निर्वाचन गर्न गठन हुने अन्तरिम सरकारमा पूर्वप्रधानन्यायाधीश कार्कीको नाम अघि सारेको हो ।

उनीहरूले सामाजिक सञ्जाल ‘डिस्कर्ड’ मा करिब पाँच घण्टा छलफल गरेर कार्कीको नाममा सहमति गरेका हुन् । जेन–जीका यस्तै समूह अरू पनि छन् । उनीहरू पनि छुट्टाछुट्टै रूपमा छलफलमा जुटेका छन् । छलफलमा करिब दश हजार जना सहभागी थिए । त्यही छलफलबाट सहमति भएको सुशीला कार्कीको नाम जेन–जी युवाहरूले प्रधानसेनापति समक्ष पेस गरेका छन् ।

छलफलमा कुलमान घिसिङ, बालेन शाह लगायतको नाम पनि उठेको थियो । अहिलेको संवेदनशील समयमा बन्ने सरकारको अभिभावक कानुन र विधिको रक्षा गर्नसक्ने इमानदार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले गहन विमर्शपछि कार्कीको नाम प्रस्ताव गरिएको छलफलमा सहभागी एक युवाले बताए । यसबारे कार्कीसँग पनि कुराकानी भइसकेको उनको भनाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले मंगलवार साँझ वार्ताका लागि आह्वान गरेका थिए । वार्ता आह्वानपछि जेन–जीहरूको छुट्टाछुट्टै समूह छलफल निम्ति जंगी अड्डा पुगेको पाइएको छ । एउटा समूहले लाइभ छलफल गर्दै गर्दा अर्को समूह जंगी अड्डामा पुगेर छलफल गरेको थियो । जेन–जीका विभिन्न समूहहरूबीच पनि मतभेद देखिएको छ ।

त्यसैमध्ये जंगी अड्डामा छलफल गर्न पुगेको समूहका प्रतिनिधि रक्षा बमले ‘प्रधानसेनापति सिग्देलले दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसँग छलफल गरेर आउनू भनेपछि आफूहरू बाहिरिएको’ बताएकी छिन् । ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयम् प्रधानसेनापतिले भनिसकेपछि जेन–जी आन्दोलन क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी प्रस्ताव अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेन–जी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ,’ उनले भनिन् ।

लाइभ छलफलमा सहभागीहरूले भने दुर्गा प्रसाईं र रास्वपासँग वार्ता गर्ने कुरा अस्वीकार गरेका छन् । उनीहरूले लोकतन्त्र रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । संवेदनशील समयको फाइदा उठाउँदै देशको नेतृत्व कुनै चरमपन्थी समूहको हातमा जानबाट रोक्नुपर्ने उनीहरूले बताए ।

नेपाली सेनाले आन्दोलनमा सहभागी सबै पक्षसँग छलफल गर्न सहजीकरण गर्ने बताउँदै आएको छ । ‘अहिलेसम्मको जानकारीअनुसार सम्बद्ध पक्ष सबैसँग बसेर परिस्थिति सहजीकरण गर्ने भन्ने हो,’ सैनिक प्रवक्ता तथा सहायक रथि राजाराम बस्नेतले भने । त्यस्तै, छलफलको निम्ति जंगी अड्डा पुगेका निमेश श्रेष्ठ र रेहानराज दंगालले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत नेताको बन्ने भन्ने छलफल गर्न ‘हामी नेपाली’ का संस्थापक सुदन गुरूङलाई पठाएको बताएका थिए ।

‘हामीले आधिकारिक रूपमा हामी नेपाल भन्ने संस्थाका सुदन दाइलाई कुरा गर्न पठाएका छौँ,’ दंगालले भनेका छन्, ‘हामीलाई एउटा राम्रो लिडर चाहिएको छ । त्यो लिडर कसलाई बनाउने भनेर छलफल हुँदैछ ।’ लोकतन्त्र कायम होस् भन्ने चाहना जेन–जी युवाहरूको भएको उनले बताए ।

यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि बढाउन समर्थन जनाएका छन् । जेन–जी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् । संवेदनशील समयमा विकास हुने घटनाक्रमको नेतृत्व गर्नका लागि कानुन र विधिको रक्षा गर्नसक्ने इमान्दार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले कार्कीको नाम प्रस्ताव गरिएको बताइएको छ ।

कार्कीले पनि जेन–जी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् । सञ्चारमाध्यमहरूसँगको कुराकानीमा उनले जेन–जी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी हुन् । ‘उनीहरूले मलाई प्रस्ताव गरे । यो मप्रतिको विश्वास हो । म छोटो समय सरकार चलाएर चुनाव गराउनेछु । मैले जेन–जीको प्रस्तावलाई स्वीकार गरेँ,’ उनले भनिन् ।

कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेन–जी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरूका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् । जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबारलगायत सबै सरकारी भवन जलेकोमा उनले दुःख व्यक्त गरेकी छिन् । सरकारको नेतृत्व गरेपछि आफ्नो पहिलो चरणको काम भ्रष्टाचार नियन्त्रण हुने बताइन् । नेपाली राजनीतिमा सधैँ समस्या भइरहेको भन्दै कार्कीले अब जेन–जी पुस्तासँग मिलेर दीर्घकालीन समाधान खोज्ने बताइन् । ‘नयाँ वातावरण बनाउँछौँ । यो समस्या रोक्छौँ,’ उनले भनिन् ।

प्रकाशित मितिः   २६ भाद्र २०८२, बिहीबार १०:२५