अपाङ्गताका सवाललाई प्राथमिकतामा राख्न सुझाव

सुर्खेत: वीरेन्द्रनगरभित्र काम गर्ने सम्पूर्ण संघसंस्थालाई अपाङ्गताका सवाल प्राथमिकतामा राख्न सुझाव दिइएको छ । राष्ट्रिय अपाङ्ग नेपाल कर्णाली प्रदेशले एकजुट भएर अपाङ्गताका सवाल उठान गर्न सुझाव दिइएको हो ।
अपाङ्गता मानव अधिकार एवम् विकास केन्द्रको आयोजना र राष्ट्रिय अपाङ्ग नेपाल कर्णाली प्रदेशको सहआयोजना तथा द एशिया फाउन्डेशनको साझेदारीमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तर्गत स्थानीय अपाङ्गता समन्वय समितिका पधादीकारीहरूबीच छलफल गरिएको हो । समितिको नियमित बैठक बसेर अपाङ्गताका सवालमा काम गर्नेगरी छलफल भएको राष्ट्रिय अपाङ्ग नेपाल कर्णाली प्रदेश व्यवस्थापक आनन्दबहादुर विष्टले बताए । उनले छलफलबाट उठेका सवाल अनुरूप अघि बढ्नेगरी योजना निर्माण गरिने जनाएका छन् ।
अहिले विभिन्न संघसंथाले आ–आफ्नै हिसाबले काम गरिरहेका छन् । तर ती काम अपेक्षितरूपमा प्रभावकारी बन्न सकेका छैनन् । अब भने दोहोरोपन नहुनेगरी कार्यक्रम गर्न लागिएको हो । वीरेन्द्रनगर नगरपालिकाभित्र काम गर्ने सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग बैठक बस्ने र अपाङ्गताका क्षेत्रमा भइरहेका कामहरूका बारेमा जानकारी राखिनेछ । नगरपालिका भित्र हरेक विकास निर्माणका कामहरूको पहुँचयुक्तता सुनिश्चित गर्नका लागि अनुगमन र समन्वय गरिनेछ । विभिन्न संघ संस्थाहरूको समन्वयनमा अपाङ्गताका क्षेत्रको बजेट कार्यान्वयनमा जोड दिइएको छ ।
छलफल कार्यक्रममा सहभागी वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले अपाङ्गताका क्षेत्र पहिचान गरेर काम गर्नुपर्ने बताए । नगरपालिकाले समेत निर्माण गर्ने योजना र बजेटमा विशेष प्राथमिकता राखेको भन्दै उनले संघ संस्थाहरूले पनि एकद्वार प्रणालीबाट कार्यक्रम कार्यान्वयन गर्नुपर्ने जनाए । कार्यपालिका सदस्य टिका गुरुङ घलेले अपाङ्गता भएका व्यक्तिका सवाल साझा भएकाले सबैले मिलेर दोहोरोपन नहुनेगरी कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिएकी थिइन् ।
प्रकाशित मितिः १४ भाद्र २०८२, शनिबार १०:२४
साझा बिसौनी ।