जग्गाधनी पुर्जाले दिएको खुसी
सुर्खेत: शुक्रवार लेकवेशी नगरपालिकाको प्राङ्गणमा भेटिएका ८८ वर्षीय बलबहादुर ज्ञवालीको अनुहारमा झल्किएको खुसी प्रष्टै देखिन्थ्यो । लेकवेशी–४ का स्थायी बासिन्दा ज्ञवाली जग्गाधनी पुर्जा लिनका लागि नगरपालिकाको प्राङ्गणमा पुगेका थिए । नगरपालिकाले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यमा जग्गाधनी पुर्जा वितरण तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा ज्ञवालीसहित वडा नं. ४ का २१ जना अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाण पुर्जा पाए ।
‘२०२८ सालदेखि बसेका हौँ, ५२ वर्षपछि आज पहिलो पटक जग्गाधनी पुर्जा पाएँ, निकै खुसी भएको छु’ हातमा लिएको रातो पुर्जा देखाँउदै ज्ञवालीले भने । उनले यसभन्दा अघि २०५२ सालमा पनि नापी भएको बताए । ‘५२ मा पनि ए कपटक नापी भएको थियो तर त्यतिबेला पुर्जा भने पाइएन’ उनले भने ।
यस्तै ४९ वर्षीय कृष्णा थापाले पनि जग्गाधनी प्रमाण पुर्जा पाँउदा खुसी लागेको बताइन् । ‘वर्षौंदेखि बस्दै आएका छौँ, पहिले पनि कति चोटी पुर्जा पाइन्छ भन्थे तर पाइएन’ उनले भनिन् । जग्गाधनी पुर्जा नहुँदा सास्ती खेप्दै भोगचलन गर्दै आएको दशकौँपछि पुर्जा हातमा आउँदा उनीहरू हर्षित भएका छन् । ८१ वर्षीय देवबहादुर बुढाक्षेत्रीले नेताहरूले विगतका चुनावमा पनि पटक–पटक लालपुर्जा (जग्गाधनी पुर्जा) वितरण गर्छौं भन्दै चुनावी एजेन्डा बनाएर जनताको घरदैलोमा आउने गरेको बताए । यो पटक हातमै पुर्जा पाउँदा निकै खुसी लागेको उनको अनुभव छ । जग्गाधनी पुर्जा नहुँदा बैंकिङ्ग कारोबार, संरचना निर्माणलगायतका काममा आफूहरूले सास्ती खेप्दै आएको उनले बताए ।
लेकवेशीले जस्तै पूर्वी सुर्खेतकै भेरीगंगा नगरपालिकाले पनि शुक्रवार दुई सय पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । वडा नं. ६, ७ र ८ का पुर्जाविहीन नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । वडा नं. ७ का ८३ वर्षीय धनबहादुर सार्कीले जीवनमै पहिलो पटक जग्गाधनी प्रमाण पुर्जा पाए । उनी वर्षाैंदेखि ऐलानी जग्गामा बस्दै आएका थिए । लामो समयको प्रतिक्षापछि जग्गाधनी पुर्जा पाउँदा उनी निकै हर्षित भएका छन् ।
यसअघि रोकिएको पुर्जा वितरणको कामलाई अहिले धमाधम अघि बढाइएको छ । आवश्यक प्रक्रिया पूरा गराएर लालपुर्जा वितरण गर्न थालिएको भूमि समस्या समाधान आयोग सुर्खेतका सदस्य सचिव दिनेशकुमार भण्डारीले बताए । उनकाअनुसार शुक्रवार भेरीगंगा र लेकवेशी नगरपालिकामा गरेर दुई सय २६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले नगरपालिकाले धेरै नै मिहेनत गरेको बताए । उनले नगरका केही सानातिना कामलाई थाति राखेर भएपनि नापीको कामलाई निरन्तरता दिने जानकारी दिए । भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनदकुमार कार्कीले पुर्जा वितरणमा देशभरिमा नै सुर्खेत जिल्ला उत्कृष्ट भएको बताए ।
यस्तै, भूमि समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष केशरहादुर ओलीले जग्गाधनी पुर्जा वितरणलाई तीव्र पारिएको बताए । केही दिनअघि पश्चिम सुर्खेतको चौकुने र बराहताल गाउँपालिकामा पुर्जा वितरण गरिएको उनले जानकारी दिए । बाँकी पालिकाहरूमा समेत विभिन्न चरणका कामहरू भइरहेको उनको भनाइ छ । शुक्रवार मात्र दुई पालिकाका दुई सय २६ जनालाई पुर्जा वितरण गरिएको उनले जानकारी दिए ।
भेरीगंगा र लेकवेशी दुवै ठाउँमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जग्गाधनी पुर्जा वितरण गरेका हुन् । भूमि समस्या समाधान आयोग, जिल्ला समिति सुर्खेतद्वारा शुक्रवार आयोजित कार्यक्रममा खड्काले दुई २६ जनालाई जग्गाधनी पुर्जा वितरण गरेका गरे ।
खड्काले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा पाउनु खुसीको कुरा भएको बताए । उनले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको पनि अवगत गराए । यस्तै, भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गर्नेगरी पार्टीले छलफललाई व्यापक बनाएको उनको भनाइ छ । उनले भूमिको अधिकतम उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएकोमा जोड दिए ।
प्रकाशित मितिः ३ श्रावण २०८२, शनिबार १३:०६






साझा बिसौनी ।