बस्तीमा बढ्दो बँदेल आक्रमण

सुर्खेत: दैलेखको आठबीस नगरपालिका–३ को जास्कीमा बँदेलको आक्रमणमा परी ६ जना घाइते भएका छन् । मकै खान आएको बँदेल धपाउन जम्मा भएका स्थानीयलाई बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
आक्रमणबाट ६ जना घाइते भएको प्रहरी प्रमुख गणेशबहादुर बरालले बताए । बँदेलको आक्रमणबाट आठबीस नगरपालिका–२ का २३ वर्षीय डबल बडुबाल, आठबीस नगरपालिका–२ का २९ वर्षीय टेकबहादुर शाही, आठबीस नगरपालिका–३ का ४५ वर्षीय रामबहादुर बडुवाल, आठबीस नगरपालिका–२ का २२ वर्षीय विकास कार्की आठबीस नगरपालिका–३ का निरज कार्की र आठबीस नगरपालिका–३ कै कमल कार्की घाइते भएको उनले जानकारी दिए । बँदेलको आक्रमणबाट घाइतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।
यसैगरी २०८१ वैशाखमा दैलेखको भैरवी गाउँपालिकाको वडा नं. ६ मा बँदेलको आक्रमणमा परेर सात जना घाइते भए । जंगलबाट गाउँ पसेको एउटै बँदेलले सात जनालाई आक्रमण गरेको थियो । बिहानको समयमा घरमै बसिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गरी घाइते बनाएको हो ।
२०८० फागुन ३ गते पनि सोही वडाकी ६३ वर्षीया पवित्रा कँडेललाई बँदेलले घरमै आएर आक्रमण गरेको थियो । बँदेलले आक्रमणमा परेर उनी घाइते भइन् । कर्णाली प्रदेश अस्पतालमा उपचार गरिए पनि उनी शारीरिकरूपमा अपाङ्ग हुन पुगिन् । गाउँमा अहिले बँदेलको त्रास छ । बँदेलका कारण खाद्यन्न तथा अन्न बाली जोगाउनै धौ–धौ हुने र बर्सेनि अन्न बालिमा क्षति पुग्ने गरेको छ । पछिल्लो समय मानिसहरूमाथि पनि आक्रमण गर्ने गरेका घटनाहरू बढेका छन् ।
२०७९ वैशाख ४ गते जंगली बँदेलको आक्रमणबाटै दैलेखको दुल्लू नगरपालिका–१० का निरक खत्री गम्भीर घाइते भएका थिए । दिउँसोको समयमा खेतबारीमा काम गरिरहेका उनलाई एक्कासी गाउँ पसेको बँदेलले आक्रमण ग¥यो । उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइयो । उपचारपछि ज्यान त जोगियो तर उनको एउटा हात र खुट्टाले काम गर्न छोड्यो । निरक भन्छन्, ‘दिउँसोको समयमा घरमै आएर बँदेलले आक्रमण ग¥यो, धौ–धौ ज्यान त जोगियो तर जीवनभर अपाङ्ग भइयो, बाँया खुट्टा र दाँया हात चल्दैन ।’
जंगली जनावर बँदेलको आतंकले स्थानीय त्रसित बनेका छन् । दिउँसोमा नै बँदेल गाउँमै पस्न थालेको छ । अर्कोतर्फ खेतबारीमा लगाएको अन्न बाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । जंगली जनावरकै कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको भैरवी गाउँपालिका–६ का रामबहादुर पुनमगरले बताए । ‘बँदेल आतंक बढेको छ । जेनतेन खेती ग¥यो जंगली जनावरले खाइदिन्छन्’ उनले भने । जनावरबाट बाली जोगाउन धौ–धौ हुनेगरेको उनको भनाइ छ । बर्सेनि खाद्यन्न उत्पादन कम हुँदै गएको भन्दै उनले त्यसमा पनि जंगली जनावरले खाएर हैरान पार्ने गरेको सुनाए ।
बँदेलबाट स्थानीयलाई बालीनाली जोगाउन हम्मेहम्मे परेको दैलेखको दुल्लू नगरपालिका वडा नंं १० कृषक पार्वती थापाले बताइन् । उनका अनुसार जङ्गली बँदेल र अन्य वन्यजन्तु आहाराको खोजीमा बस्ती पसेका हुन् ।
राहत वितरण गर्न निर्देशिका
जंगली जनावरले पारेको क्षतिको राहत दिने उद्देश्यले निर्देशिका जारी गरिएको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भएसँगै क्षतिपूर्तिको बाटो भने खुलेको छ । वन्यजन्तुबाट जनधनको क्षति भएमा राहत वितरण गर्ने प्रक्रियालाई सरल बनाउन संघीय वन मन्त्रालयले निर्देशिका जारी गरेको हो । उक्त निर्देशिका बमोजिम प्रदेश सरकारले राहत वितरण गर्ने गरेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
१६ वटा जनावरबाट मानवीय तथा अन्नबालीमा क्षति भएमा राहत दिने गरिएको मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए । उनका अनुसार हात्ती, गैडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, गोही, चौरीगाई, अजिङ्गर, नीलगाई र बाँदरले पु¥याएको क्षतिमा क्षतिपूर्तिको व्यवस्थापन गरिएको छ ।
जंगली जनावरले बाली क्षति गरेमा कृषकले क्षतिपूर्तिस्वरूप दश हजार रूपैयाँसम्म पाउने छन् । निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट अङ्गभङ्ग भएर जीवनभर शारीरिक रूपले अशक्त भएकालाई पनि राहतको व्यवस्था गरिएको छ । गम्भीर घाइतेलाई दुई लाख रूपैयाँसम्म दिइनेछ भने जीवनभर गम्भीर रूपले शारीरिक अशक्त हुने अवस्था भएमा एकमुष्ट पाँच लाख रूपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको हो ।
प्रकाशित मितिः २ श्रावण २०८२, शुक्रबार १७:०१
साझा बिसौनी ।