बालबालिका केन्द्रित नीतिमा जोड

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिकालाई मध्यनजर गरेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका छन् । शनिवार वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ ले आयोजना गरेको वातावरणमैत्री र बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि स्थानीय, प्रदेश र संघीय सरकारले जिम्मेवारी बोधका साथ ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

उनले भने, ‘बालबालिकालाई हामीले आज सुरक्षित, सशक्त र सम्मानजनक वातावरण दिन सक्यौ भने मात्र भोलिको समुन्नत समाज निर्माण सम्भव हुन्छ ।’ वातावरण संरक्षण र बाल अधिकार प्रवद्र्धनलाई परस्पर पूरक विषयका रूपमा जोड्दै स्वस्थ वातावरणमा हुर्कने बालबालिका नै समुन्नत राष्ट्र निर्माणका संवाहक हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो । कर्णाली प्रदेश सरकारले बालमैत्री समाज निर्माणका लागि आवश्यक नीति, बजेट र कार्यक्रमहरूलाई प्राथमिकतामा राखि बालबालिकाको स्वास्थ्य, शिक्षा, अभिव्यक्ति तथा सुरक्षित हुने अधिकार सुनिश्चित गर्दै बालमैत्री संरचना विकास ध्यान दिने मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, वडाध्यक्ष टिकाराम शर्मालगायत जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बाल क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मितिः   २२ असार २०८२, आईतवार ०५:०१