नयाँ भवनमा गुण नियन्त्रण कार्यालय

सुर्खेत: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको भवन उद्घाटन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिवकुमार कर्णले शुक्रवार भवन उद्घाटन गरे हुन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले नयाँ भवनबाट प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए । यसअघि विभिन्न समस्याकाबीचबाट सेवा दिइरहेको बारेमा आफू अवगत रहेको भन्दै उनले अब भने व्यवस्थित रूपमा प्रभावकारी सेवा दिनुपर्ने बताए । स्थानीय तह, प्रशासन र सरकारवालासँगको समन्वयमा बजार अनुगमनका कामलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जनजिविकाको सवालमा जोडिएको कार्यालयले खाद्य अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । समन्वयनका लागि प्रशासन तत्पर रहेको उनको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले ६ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाका अनुसार कार्यक्षेत्रअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, रूकुम–पश्चिम, डोल्पा र हुम्ला पर्छन् । २१ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालयमा १४ जना मात्र कर्मचारी कार्यरत रहेका छन् । सात जनाको दरबन्दी रिक्त छ ।

 

प्रकाशित मितिः   १४ असार २०८२, शनिबार ०९:४६