बाढी–पहिरोको जोखिममा हिमाली बस्ती

सुर्खेत: अविरल वर्षाका कारण हिमाली भेगका बासिन्दा पनि बाढीपहिरोसहितका प्राकृतिक विपद्को उच्च जोखिममा परेका छन् । हिमाली भेगमा भएको वर्षाका कारण हिमपहिरोपछि आएको बाढीले मानवीय क्षतिका साथै बाढीले बस्ती नै डुबानमा पार्न थालेपछि जोखिम बढेको हो ।

डोल्पाको काइके गाउँपालिका वडा नं. ४ रिवा गाउँमा लेदोसहितको बाढी आउँदा ५३ घरमा क्षति भएको छ । बिहीवार रातीदेखि परेको वर्षाले लेदोसहितको पहिरो गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी रुकबहादुर खड्काले राती साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको बाढी र पहिरो खस्दा ५३ घरमा क्षति भएको बताए । डीएसपी खड्काले बस्ती माथिबाट नयाँ सडक खनिएको र नजिकै खहरे खोला भएका कारण लेदोसहितको बाढीले गाउँनै प्रभावित बनाएको जनाए । जिल्ला सदरमुकाम दुनैबाट घटनास्थल पुग्नका लागि करिब आठ देखि दश घण्टा लाग्ने गर्दछ । प्रहरीका अनुसार करिब एक करोड बराबारको क्षति भएको छ ।

यस्तै, गत वैशाखमा हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर बजारमा वर्षासहितको बाढीले ठूलो क्षति पुग्यो । वर्षाका कारण श्रीनगर बजार क्षेत्र र मुगुको सोरु गाउँपालिका–३ भिहीस्थित बैन्यामा ठूलो क्षति पुगेको थियो । करिब १५ मिनेटसम्म परेको मुसलधारे वर्षाले पसलमा क्षति पुगेको हो । यसका साथै बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय र घरटहरामा समेत क्षति पुगेको थियो ।

हिमाली क्षेत्र छुने हुम्ला, जाजरकोट, पश्चिम रुकुम, कालीकोट, मुगुका उच्च जोखिमका क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अधिक वर्षाले हिमाली भेगमा रहेका सानाठुला हिमताल क्षेत्रमा पहिरो जान सक्ने जोखिम मनसुन अवधिभर कायम रहने प्राधिकरणले जनाएको छ । यस पटक हिमाली भेगमा पनि सरदरभन्दा बढी वर्षा हुने भएकाले विपत्को उच्च जोखिम बढ्ने जनाइएको छ । प्राधिकरणका अनुसार जाजरकोट र रूकुम क्षेत्र भूकम्पले गर्दा पहिरोको उच्च जोखिममा छन् । अहिले पनि बाढीका घटना भइरहेका छन् ।

 

विपद्को घटनामा वृद्धि

यो वर्ष कर्णालीमा सात सय ३३ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनाबाट ३० जनाको मृत्यु भएको छ । एक जना बेपत्ता रहेका छन् । एक सय ६२ जना घाइते भएको तथ्याङ्क छ ।

यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क हेर्दा पछिल्लो चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार दुई सय १६ विपद्का घटना भएका छन् । सो वर्षमा ६८ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७९/०८० मा दुई हजार दुई सय १४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सात सय ३३ विपद्का घटना भएकोमा एक सय ९४ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

पछिल्लो समय विपद्का घटना कम भएपनि मानवीय क्षति बढी हुनेगरेको छ । सो आर्थिक वर्षलाई कर्णालीमा विपद्को वर्षको रूपमा हेरिएको छ । विपद्का घटनामा पनि पहिरोको क्षति धेरै छ । आर्थिक वर्ष २०७७/०७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भएको छ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १७ तथा आर्थिक वर्ष २०७९/०८० मा ४० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको पहिरोमा परी ज्यान गएको छ ।

प्रकाशित मितिः   १४ असार २०८२, शनिबार ०९:४४