बजेटमा अपाङ्गताका सवाल समेट्न माग
सुर्खेत: आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गताका सवाल समावेश गर्न माग गरिएको छ । आगामी वर्षका लागि निर्माण गर्न लागिएको योजना छनोट प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागितामा योजना छनोट गर्न माग गरिएको हो । शनिवार वीरेन्द्रनगरमा भएको छलफल कार्यक्रमका सहभागीहरूले यस्तो माग गरेका हुन् ।
नेपालको घरेलु कानुन तथा अन्तर्राष्ट्रिय कानुनले समेत अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गरेकाले स्थानीय तहको नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाललाई प्राथमिकतामा राख्न माग गरिएको अपाङ्गता मानव अधिकार एवम् विकास केन्द्रका सचिव झक्कप्रसाद पोखरेलले बताए । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वडा स्तरीय योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सम्बन्धित टोल बस्ती र वडा तहका समितिमा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराउन माग गरिएको उनले जानकारी दिए ।
अपाङ्गता मानव अधिकार एवम् विकास केन्द्रले वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख मोहनमाया ढकालले बस्तीस्तरबाट योजना छनोट गर्दा अनिवार्य रूपमा लक्षित वर्ग र उनीहरूका सवाल समावेश गर्न भनिएको बताइन् । अब छनोट हुने योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवाल समावेश हुने उनले जानकारी दिइन् । चालु आर्थिक वर्षमा समेत लक्षित वर्ग विशेष कार्यक्रमलाई जोड दिएको उनको भनाइ छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले संविधानले दिएको अधिकार कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम बनाउन सुझाव दिए । योजना छनोट गर्दा सकेसम्म अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराउनुपर्नेमा उनको जोड थियो । अन्य सरोकारवालाहरूले समेत अपाङ्गता भएका व्यक्ति अनुकुलका पूर्वाधार निर्माण गर्नुपर्ने, बजेट नीति तथा कार्यक्रममा समेत प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।
प्रकाशित मितिः ४ जेष्ठ २०८२, आईतवार ०६:०१
साझा बिसौनी ।