संघको निर्वाचन प्रक्रियाबाट बाहिरियो एमाले

सुर्खेत: नेकपा (एमाले) निकट उद्योगी–व्यवसायीहरू सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । विभिन्न पदमा मनोनयन दर्ता गराएका व्यवसायीहरूले सामुहिकरूपमा उम्मेदवारी फिर्ता लिएका छन् ।

संघको चुनाव वैशाख ६ गते हुँदैछ । त्यसअघि नै एमाले सम्बद्ध ११ जना उम्मेदवारले नै निर्वाचन प्रक्रियामा सहभागी नहुने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् । संघको अध्यक्ष पदमा नेपाली कांग्रेस निकट हर्षविक्रम खड्का निर्विरोध निर्वाचित भइसकेका छन् । चुनाव हुनुअघि नै अन्य पदहरूमा पनि सहमति गर्ने छलफलपछि एमाले निकट व्यवसायीहरूले अध्यक्षबाहेक अन्य पदमा उम्मेदवारी दिएका थिए । तर नेपाली कांग्रेस निकट व्यवसायीहरूबाट सहमतिका लागि आवश्यक पहल नभएको भन्दै उनीहरूले निर्वाचन प्रक्रियाबाट बाहिरिएका हुन् ।

व्यवसायीहरूको छाता संस्थालाई कुनै एक दलको भातृ संगठनजस्तो बनाउन खोजिएको, विगतमा आर्थिक हिनामिना भएको तर त्यसप्रति जवाफदेहिता नदेखिएको, यसअघि ४१औँ साधारणसभाबाट विधान संशोधनको निर्णय भएपनि त्यसको कार्यान्वयन नगरिएको, सहकार्यका नाममा धोका दिएको लगायतका कारण देखाउँदै मतदानमा समेत सहभागी नहुने गरी उम्मेदवारी फिर्ता लिइएको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रकाशित मितिः   १ बैशाख २०८२, सोमबार १७:३९