युएसएआइडीको सहयोग रोकिदा स्वास्थ्यका कार्यक्रम प्रभावित

सुर्खेत: नेपालमा युएसएआइडी अन्तर्गतका कार्यक्रमको सम्झौता रद्द गरिएपछि त्यसको असर कर्णालीमा पनि देखिन थालेको छ । युएसएआडीका कार्यक्रम ठप्प हुँदा कतिको राजगारी गुमेको छ भने कार्यक्रमका गतिविधि अधुरा छन् । प्रदेशमा अहिले दर्जनौ कार्यक्रम अलपत्र अवस्थामा छन् ।

युएसएआडीको सहयोग रहेका स्वास्थ्यका कार्यक्रम सबैभन्दा बढी प्रभावित बनेका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) र नेपाल सरकारबीच सम्झौतामार्फत कार्यक्रम कार्यान्वयन हुँदै आएका थिए । ती कार्यक्रम रद्द हुँदा धेरै स्वास्थ्यका कार्यक्रम अलपत्र परेका छन् । यो वर्ष स्वास्थ्यका कार्यक्रममा धक्का पुगेको प्रदेश सरकारले जनाएको छ । पोषणका कार्यक्रमदेखि पूर्वाधार निर्माणका कार्यक्रम ठप्प रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा १५ करोड बजेटको सम्झौता गरेर विभिन्न स्वास्थ्यका कार्यक्रम कार्यान्वनको चरणमा पुगेका थिए । स्वास्थ्यमा विनियोजन गरिएको कार्यक्रम ठप्प रहेको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत वृषबहादुर शाहीले बताए ।

सामाजिक विकास मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयहरूबाट कार्यान्वयन गर्नेगरी काम अघि बढाइएको थियो । अहिले ती कार्यक्रम कसरी कार्यान्वयन गर्ने भनेर समीक्षा भइरहेको मन्त्रालयले जनाएको छ । सहयोग जुटाएर भएपनि कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइएको छ । अति आवश्यक कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने योजना सरकारले बनाएको छ । अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफलसमेत थालिएको छ । गनैपर्ने कार्यक्रम पहिलो प्राथमिकतामा राखिने प्रदेश सरकारले जनाएको छ ।

कर्णालीमा युएसएआइडीअन्तर्गत सामाजिक, शैक्षिक, स्वास्थ्य तथा कृषि विकासका परियोजनाहरू सञ्चालनमा थिए । स्वास्थ्य र शिक्षा क्षेत्रअन्तर्गत स्वास्थ्य सुरक्षा, सामुदायिक स्वास्थ्य सेवा विस्तार र आपतकालीन स्वास्थ्य प्रतिक्रियालगायत कार्यक्रम कार्यान्वयनमा अन्योलता छाएको छ ।

यस्तै प्रारम्भिक ग्रेड सिकाइ, शिक्षा समावेशीकरण र समानता तथा आपतकालीन शिक्षा प्रतिक्रिया गतिविधिजस्ता परियोजना कार्यान्वयनमा थिए । यी योजनामार्फत विपन्न तथा पिछडिएका समुदायमा शिक्षा पहुँच विस्तारको काम रोकिएको छ । त्यस्तै जलवायु कृषि, कृषि लगानी, बजार सुधार, महिलाहरूलाई व्यवसायमा सशक्तीकरण, महिला उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्यसहितका कार्यक्रमसमेत प्रभावित बनेका छन् । लोकतान्त्रिक अभ्यास र सामुदायिक न्यायअन्तर्गत पनि विभिन्न कार्यक्रम प्रदेशमा कार्यान्वयन भएका थिए ।

त्यति मात्रै होइन, कर्णालीमा कार्यान्वयन भइरहेको जलजंगल परियोजनासमेत ठप्प छ । जलवायु परिवर्तन तथा जैविक विविधता संरक्षणको मुख्य शब्दावली, जैविक विवधता संरक्षणको अवधारणा, जलवायु परिवर्तन र जलवायु परिवर्तनको असर तथा प्रभाव र जलवायु परिवर्तनको प्रभाव र जैविक विविधता संरक्षणका लागि नीति, योजना निर्माण गरिएको थियो । कर्णालीका ६ जिल्लामा कार्यक्रम कार्यान्वयन भएको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्राथमिकताको आधारमा कार्यक्रम गर्ने गरिएको जलजंगल परियोजनाले जनाएको छ । मन्त्रालयका नियमित कामलाई सघाउने उद्देश्यले कामहरू भइरहेका थिए । सरकारको सहयोगीको रूपमा कार्यक्रम कार्यान्वयन भइरहेको अहिले उक्त कार्यक्रम ठप्प छ । जल तथा वन संरक्षणको काम गरिरहेको थियो । नीति निर्माणका काममा जलजंगल परियोजनाले सहयोग गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका वार्षिक कार्यक्रममा परिपूरक सहयोग बन्द भएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले बताए । उनका अनुसार यो परियोजनाले सञ्चालन गरेका कार्यक्रम धेरै कार्यान्वयनमै रहेको उनले जनाए । परिपूरक बजेटको व्यवस्थापन गरेर समेत कार्यान्वयन गर्ने गरिएको थियो ।

गैरसरकारी संघसंस्था सरकारका सहयोगीका रूपमा रहेका छन् । अझ कर्णालीमा त सरकारको कुल बजेटभन्दा विदेशी सहयोग रहेको संस्थाको बजेट बढी हुन्छ । यसरी हेर्दा प्रदेश सरकारका धेरै कार्यक्रम सहयोगीका रूपमा सञ्चालनमा रहेका छन् । प्रदेश सरकारले समेत विभिन्न संघसंस्थासँग मिलेर काम पनि गर्दै आइरहेको छ । प्रदेशमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा धेरैजसो विदेशी लगानीका संघसंस्थाले कार्यक्रम गरिरहेका छन् । यसरी आउने रकमको ठूलो हिस्सा युएसएआइडी अन्तर्गतको थियो । जुन अहिले रद्द भएको छ ।

प्रकाशित मितिः   २१ चैत्र २०८१, बिहीबार ०६:०६