राजावादीको हिंसात्मक आन्दोलन
काठमाडौं: शुक्रवार दिनभर काठमाडौं तनावग्रस्त बन्यो । अहिलेको व्यवस्था उल्टाउने र राजसंस्था पुनस्र्थापना गर्ने भन्दै राजावादीहरूले हिंसात्मक आन्दोलन गरे । तीनकुनेमा जम्मा भएका राजावादीहरू निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि सो क्षेत्र रणमैदानमै परिणत हुनपुग्यो ।
प्रहरीले प्रर्दशनकारीहरूलाई रोक्न खोज्दा दुई पक्षबिच झडप भयो । प्रदर्शनकारीका कमाण्डरसमेत रहेका दुर्गा प्रसाईंले गाडीसमेत प्रयोग गरेर निषेधित क्षेत्र तोड्न अघि बढेका थिए । त्यसपछि प्रदर्शनले थप उग्ररूप लिएको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली प्रहार गर्नुका साथ बल प्रयोग गरेको थियो । आन्दोलनका क्रममा भएको झडपकाबीच प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ । प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पु¥याइएको थियो । उनको घाँटीमा गोली लागेको थियो ।
प्रदर्शनकारीहरूले सर्वसाधारणको घरमा समेत तोडफोड गरेका छन् । तोडफोड गरिएको एउटा घरमा आगलागीसमेत भएको छ । सो क्रममा फोटो÷भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको आगोले जलेर मृत्यु भएको छ । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए । त्यही क्रममा आन्दोलनकारीले घरमा आगजनी गरेका थिए ।
शुक्रवार काठमाडौंमै दुईवटा प्रदर्शन थिए । एउटा राजावादीहरूको र अर्को समाजवादीको मोर्चाको । प्रशासनले राजावादीहरूलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने स्थान तोकेको थियो । उता, समाजवादी मोर्चाको कार्यक्रम भृकुटीमण्डपमा तय भएको थियो । मोर्चाको कार्यक्रममा शान्तिपूर्ण रूपमा सम्पन्न हुँदा राजावादीहरू भने सुरुदेखि नै निषेधित क्षेत्र उल्लङ्घन गरेर नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेका थिए ।
निषेधित क्षेत्र तोड्न नदिएको आक्रोशमा प्रदर्शनकारीहरू भौतिक संरचना तोडफोड, आगजनी र लुटपाट गर्नतिर लागेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सुरुमा लाठी प्रहार, अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेन । बरु प्रदर्शनकारीहरू थप अराजक बन्दै व्यक्तिका घर, सरकारी तथा निजी घर गाडी, प्रहरी विट, पार्टी कार्यालय निशानामा परे ।
राजावादीहरूले सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयसहित कोटेश्वस्थित प्रहरी विट लगायतका संरचना तोडफोड गर्नुका साथै कतिपयमा आगजनीको प्रयास समेत गरेका छन् । जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रको कार्यालय समेत राजावादीहरूले जलाएका छन् । प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुनेमा गर्ने भनिएको सभा छाडेर हिँडेका थिए । प्रदर्शनकारी र आन्दोलनकारीको झडपमा परी केही प्रहरी र आन्दोलनकारीहरू घाइते भएका छन् ।
प्रकाशित मितिः १६ चैत्र २०८१, शनिबार १७:४१
साझा बिसौनी ।