गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड

सुर्खेत: संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, नागरिक समाज, शिक्षा क्षेत्रका विज्ञ र विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी थिए । एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने बताए । जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र संवद्र्धनमा जुट्न सबैसँग अनुरोधसमेत उनले गरेका छन् । पछिल्लो समय गणतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सचेत रहन समग्र पार्टी पंक्तिलाई आग्रहसमेत गरेका छन् ।

एमालेका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले राजाबारे अहिले चलेको चर्चा मिथ्या भएको उनको भनाइ छ । अर्का केन्द्रीय सदस्य ठम्मर विष्टले लोकतन्त्रले गर्दा देशमा ठूलो परिवर्तन भएको जनाए । नागरिकलाई यसबारे बुझाउनुपर्ने उनको भनाइ छ ।

एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्ष कुलमणी देवकोटाले लोकतन्त्रको सुन्दर पक्षको रक्षा गर्नुपर्ने बताए । लोकतन्त्रको दिगोपनाका लागि काम गर्नुपर्ने भन्दै उनले आयातित बिचारमा बिचल्लीत नहुन सबैलाई आग्रह गरे । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको समावेशी शासन व्यवस्थालाई कमजोर पार्ने÷उल्ट्याउने कोसिस भइरहेको छ, त्यसतर्फ सचेत र सजग हुन सबैसँग अनुरोध गर्दछु ।’

नेकपा (माओवादी केन्द्र) सुर्खेत जिल्ला सचिव टोपबहादुर दर्लामीले लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व भएको जनाए । अहिले भइरहेको राजावादीको चर्चा बेकारको भएको र जनताले त्यस कुरामा सचेत हुनुपर्ने जनाए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. आनन्दप्रसाद सुवेदीले सबैले एकै किसिमबाट लोकतन्त्रको अनुशरण गर्न पाउनुपर्ने बताए । संवैधानिक प्रावधानको परिपालना गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ । अहिलेपनि लोकतन्त्रको अनुभूति शतप्रतिशत नागरिकले गर्न नसकेको भन्दै उनले सरकारले मौलिक हक कार्यान्वयनमा जोड दिनुपर्ने जनाए । राज्यले नागरिकप्रति उत्तरदायी भूमिका निभाउन नसकेको सुवेदीको भनाइ छ । सरकार र कर्मचारीतन्त्रमा बेमेल हुँदा संघीयताको मर्म अनुरूप काम हुननसकेको उनले बताए ।

प्याब्सन सुर्खेतका अध्यक्ष छत्र बडुवालले शिक्षामा नीतिगत व्यवस्था आवश्यक रहेको बताए । शिक्षामा असमान्ता र शिक्षा सुधारमा ढिलाइ भइरहेको भन्दै उनले सबै नागरिकको हकमा सर्वसुलभ शिक्षा हुनुपर्नेमा जोड दिए । नागरिक समाजका प्रतिनिधि भूपेन्द्र शाहीले जनता र सरकारबीच असन्तुष्टि बढेको बताए । लोकतन्त्रको रक्षाका लागि संविधानको परिपालना गर्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मितिः   १३ चैत्र २०८१, बुधबार १२:०७