जोखिममा कर्णालीका बालबालिका

सुर्खेत: कर्णालीका ६ सयभन्दा बढी बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको छ । हिमाली नविन समाजको सन् २००६ देखि २०२५ सम्मको घटना व्यवस्थापनको तथ्यांक अनुसार ती बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको पाइएको हो ।
यो अवधिमा कर्णालीबाट ६ सय ७६ जना बालबालिलाई परिवारको जिम्मा लगाइएको हिमाली नविन समाजका सुरेन्द्र लामा तामाङले बताए । उनका अनुसार ४२ वटा बालगृहबाट नेपाल सरकारद्वारा जोखिमपूर्ण अवस्थाबाट उद्धार भएका बालबालिका रहेका छन् । यो अवधिमा नेपालभर नौ सय ६७ जना बालबालिकाको उद्धार गरिएको थियो । जसमा सबैभन्दा धेरै कर्णालीका बालबालिका रहेको तथ्यांकले देखाएको छ । मधेश प्रदेशका ६, सुदूरपश्चिमका १३, कोशीका १६, लुम्बिनीका ४५, गण्डकीका २४ र बागमती प्रदेशका दुई सय ११ जना बालबालिकाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको हो । बालगृहमा सबैभन्दा धेरै बालबालिका कर्णालीका रहेको पाइएको छ । हुम्ला जिल्लाका अधिकांश बालबालिकाका देशभरका विभिन्न बालगृहमा रहेका छन् । राम्रो शिक्षा पाउने लोभले अभिभावकले नै बालबालिका बालगृहमा पठाउने गरेको पाइएको तामाङले जानकारी दिए ।
अभिभावकविहीनका लागि खोलिएका बालगृहमा बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइएको छ । कानुनमा बाबुआमा दुवै र संरक्षत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था भएपनि बालगृहमा अधिकांश बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइएको छ । हिमाली नविन समाजले सार्वजनिक गरेको विवरण अनुसार ६६ प्रतिशत बालगृहहरू पर्यटकीय गन्तव्य रहेका जिल्लाहरूमा रहेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र चिवतन जिल्लाहरूमा बालगृहहरू सञ्चालित रहेका छन् । ३३ प्रतिशत बालबालिका बालगृहमा रहेका छन् । एक हजार आठ सय ८२ बालबालिका ती बालगृहमा रहेको जनाइएको छ ।
राष्ट्रिय बाल अधिकार परिषद् कर्णाली प्रदेशले सार्वजनिक गरेको बालबालिकाको स्थिति प्रतिवेदनअनुसार हाल बालगृहमा आश्रय लिएका बालबालिकामध्ये २२ प्रतिशत बालबालिकालाई मात्रै बालगृहको आवश्यकता रहेको उल्लेख गरेको छ । बाँकी ७८ प्रतिशत बालबालिकालाई बालगृहको आवश्यकता नपर्ने सोही प्रतिवेदनले जनाएको छ । कर्णालीमा रहेका विभिन्न बालगृहमा करिब ६० प्रतिशत बालबालिका आमा वा बाबु दुईमध्ये एक जना भएका बालबालिका बस्ने गरेको पाइएको राष्ट्रिय बाल अधिकार परिषद् कर्णाली प्रदेशका संयोजन डम्बर रोकायाले बताए । उनका अनुसार राज्यको नीतिविपरित बालबालिका बालगृहमा राख्ने गरेको पाइएको हो ।
आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्डमा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठीक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । उनले भने, ‘संरक्षकत्वविहीन बालबालिकालाई राज्यको जिम्मामा आवासीय बालगृहमा राख्न सकिने व्यवस्था छ तर ठीक विपरित गुणस्तरीय शिक्षा र पोषण पाउने आशमा बालबालिका बालगृहमा राखिइएको पाइयो ।’ उनका अनुसार बालगृहमा सामान्यतया तीन किसिमका बालबालिका बस्दै आएका छन् । आर्थिक विपन्न, अपाङ्गता भएका र दुर्गम क्षेत्रका आमाबाबुले छोराछोरीलाई सहरका राम्रा विद्यालयमा पढाउने रहरले बालगृहमा राखिदिने गरेका छन् ।
परिषद्का अनुसार हाल देशका विभिन्न जिल्लामा सञ्चालित चार सय ५४ वटा बालगृहमा कर्णालीका करिब ७० प्रतिशत बालबालिकाले आश्रय लिँदै आएका छन् । स्थानीय सरकारको बेइमानीका कारण आमाबाबु भएका बालबालिका बालगृहमा पठाउने गरिएको हो ।
बालविवाह र बालश्रमको सिकार
कर्णालीको कुल जनसंख्यामध्ये ४० प्रतिशत बालबालिका छन् । प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ छ । २०७८ सालको जनगणना तथ्यांकअनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन् । यसमा पनि बालकको संख्या बढी छ । तीन लाख ४५ हजार चार सय २९ जना बालक छन् भने तीन लाख ३१ हजार पाँच सय ५६ जना बालिका छन् । प्रदेशका तीन लाख चार हजार एक सय ८४ जना बालबलिकालाई विभिन्न कारणले विशेष संरक्षण र वैकल्पिक संरक्षणको आवश्यकता देखिएको छ । राष्ट्रिय बाल कल्याण परिषद्का अनुसार कर्णालीका ४१ हजार बालबालिका बालविवाहको शिकार भएका छन् । बालविवाहका कारण उनीहरू विभिन्न अधिकार प्राप्तिबाट वञ्चित भएको जनाइएको छ ।
यस्तै एक लाख ३७ हजार अर्थात् जम्मा संख्याको २० प्रतिशतभन्दा बढी बालबालिका बालश्रम गर्न बाध्य छन् । उनीहरू पारिवारिक, भौगोलिक, अभिभावकको चेतनाको कमीजस्ता विविध कारणले श्रममा लाग्न बाध्य भएको तथ्यांकले देखाएको छ । नेसनल इन्स्टिच्युट अफ कन्टेम्पोरारी स्टडिज (एनआइसिएस) ले निकालेको तथ्यांकअनुसार कर्णाली प्रदेशका २५ हजार तीन सय ६३ जना अर्थात् करिब चार प्रतिशत बालबालिका अभिभावकदेखि टाढा बसिरहेका छन् । पछिल्लो समय कोभिडका कारण देशमा निम्तिएको आर्थिक मन्दीका कारण उनीहरू अभिभावकभन्दा बाहिर रहेको जनाइएको छ । त्यसैगरी तीन हजार दुई सय ८७ बालबालिका नजिकका अन्य अभिभावकसँग बसिरहेका छन् । ९५ हजार पाँच सय ३४ जना बालबालिका एकल अभिभावकसँग छन् । दुई हजारभन्दा बढी बालबालिका विभिन्न बालगृहमा बस्न बाध्य छन् ।
प्रकाशित मितिः २९ फाल्गुन २०८१, बिहीबार ०६:०६
साझा बिसौनी ।