राष्ट्रिय खेलकुद निर्धारित मितिमै होला ?
सुर्खेत: दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मूल आयोजक सचिवालय सञ्चालनमा ल्याइएको छ । आइतवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालयको उद्घाटन गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् प्रतियोगिता मूल आयोजक समितिका सहअध्यक्ष यामलाल कँडेलले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सचिवालयको उद्घाटन गरेका हुन् । सो अवसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जेठ ३ गतेदेखि तोकिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै बहानामा नसर्ने प्रतिवद्धता जनाए । उनले विगतमा दुई पटक मिति तोकेर पनि विभिन्न प्राविधिक कारणले प्रतियोगिता हुन नसके पनि अहिले ती समस्याहरू समाधान गर्दै गएकोले जेठ ३ गतेदेखि प्रतियोगिता हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।
मन्त्री चौधरीले कर्णालीले उत्कृष्ट रंगशाला निर्माण गरेर खेल पर्यटनको विकास गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रतियोगिताको सचिवालय स्थापना भएपछि प्रतियोगिता हुँदैन कि भन्ने आंशका अन्त्य भएको बताए । उनले कर्णाली प्रदेश खेलकुद परिषद् सदस्य सचिवविहीन भएको हुँदा छिटो नियुक्त गर्न निर्देशनसमेत दिए । प्रतियोगिताका लागि आवश्यक पर्ने खरिद आदेशलगायतका टेण्डरहरू प्रक्रियामा गइसकेकोले अब तोकिएकै मितिमा प्रतियोगिता हुने र तयारीमा अपिल गरे । जेठमा गर्मी हुने भएपनि त्यसको उचित व्यवस्थापना गरेर प्रतियोगिता हुने र जेठमा पनि नभए यो आर्थिक वर्षमा प्रतियोगिता हुन नसक्ने भएकोले कुनै बहाना र निहुँमा प्रतियोगिता नसर्ने खेलाडी तथा सरोकार पक्षलाई उनले बताए ।
कर्णालीका मुख्यमन्त्री एवम् प्रतियोगिता मूल तयारी समितिका सहअध्यक्ष यामलाल कँडेलले प्रतियोगिता सचिवालय स्थापना गरिएपछि प्रतियोगिता नहुने आंशका अन्त्य भएको बताए । मूल आयोजक समितिले अब प्रतियोगिताको मिति नसार्न आग्रह गर्दै उनले सवैले तोकिएकै मितिमा प्रतियोगिता हुन्छ भन्ने सन्देश फैलाउन अनुरोध गरे ।
सचिवालय उद्घाटनसँगै प्रतियोगिता निर्धारित समयमा सञ्चालन हुने विश्वास जागेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । ‘कर्णालीले राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न सक्छ भन्ने सन्देश जानेगरी सकारात्मक धारणा बनाउन आग्रह गर्छु,’ उनले भने, ‘यो प्रतियोगिताले कर्णालीको खेलकुदको सम्भावना र खेलाडीको प्रतिभा पहिचान हुनेछ ।’
ठाउँ–ठाउँमा खेलपूर्वाधार
आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । वीरेन्द्रनगरमा रंगशाला निर्माणसहितका अन्य पूर्वाधार तयार पारिएको छ । दश हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माण पूरा भएको छ । जुन फिफा मापदण्ड अनुसारको फुटबल मैदानलगायतका अन्य संरचनाहरू बनाइएको छ ।
रंगशालाभित्र १६ वटा खेल खेलाउन सकिनेछ । दशौँ खेलकुदको लागि २४ खेल खेलाउने तयारी छ । प्रतियोगितालाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फूटबल मैदान निर्माण तयार पारिएको जनाइएको छ । दैलेख र रुकुमपश्चिममा कभर्डहल मर्मत गरिएको छ । हुम्लामा हकी खेलमैदान निर्माण भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ । जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण गरिएपनि खेलको मिति अन्योलमा हुँदा समस्या भएको हो ।
सदस्य सचिव नियुक्तिमा ढिलाइ
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्ति प्रक्रियामा भने ढिलाइ भएको छ । गत पुस ६ गतेदेखि सदस्य सचिव विश्वामित्र सञ्ज्यालको कार्यकाल सकिएको हो । तर नयाँ सदस्य सचिव नियुक्तिका लागि भने प्रक्रिया अघि बढेको छैन ।
प्रदेश सरकारले भने सदस्य सचिवको सेवा सुविधासहितको ऐन जारी गरेर सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढाइने जनाएको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा रहेको छ । उक्त विधेयक जारी गरेर नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया थाल्ने तयारी भएको सामाजिक विकास मन्त्री भण्डारीले बताए ।
यसअघिका सदस्य सचिव सञ्जायलले समेत करिब दुई वर्षको सेवा सुविधा पाएका छैनन् । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ मा सेवा सुविधा नतोकिएकाले पारिश्रमिक उपलब्ध गराउन समस्या भएको मन्त्री भण्डारीले बताए । खेलकुद विकास ऐन जारी गरेर मात्र नयाँ सदस्य सचिव नियुक्ति प्रक्रिया थाल्ने तयारी गरिएको उनको भनाइ छ । मन्त्री भण्डारीले भने, ‘ऐनमा सेवा सुविधा तोकिएको छैन, त्यसकारण काम गरेकै रकम दिन समस्या छ, अहिले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६, लाई संशोधन गर्न बनेको विधेयक जारी भए सेवा सुविधा दिन सहज हुनेछ ।’
२०७७ पुस ६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार सञ्ज्याललाई सदस्य सचिवमा नियुक्त गरिएको थियो । प्रदेश खेलकुद ऐन २०७६ को दफा ६ को उपदफा (२) को खण्ड (च) को व्यवस्थाबमोजिम उनी नियुक्त भएका थिए । सञ्ज्यालको चार वर्षे कार्यअवधि सकिएपछि उनको स्थानमा अर्को व्यक्ति ल्याउनुपर्ने हुन्छ । त्यसको निर्णय प्रदेश सरकारले गर्नेछ । प्रदेश सरकारले नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया सुरु भने गरेको छैन । अबको केही दिनमा नयाँ सदस्य सचिव नियुक्तिका लागि प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । यद्यपि, हालसम्म सिफारिस समिति नै गठन भएको छैन ।
खेलकुद ऐनअनुसार सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्ने हुन्छ । जसमा मन्त्रीको सिफारिसमा खेलकुद क्षेत्रका दुई जना विज्ञ सदस्य हुन्छन् । समितिले प्राप्त आवेदनमध्ये केहीको नाम ‘सर्ट लिस्ट’ गर्नेछ । उक्त समितिले नाम मन्त्रालयमा सिफारिस गर्ने र मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले एक जना सदस्य सचिवमा नियुक्त गर्नेछ । तर सामाजिक विकास मन्त्रालयले हालसम्म सिफारिस समिति नै गठन गरेको छैन ।
प्रकाशित मितिः २६ फाल्गुन २०८१, सोमबार ०६:०६
साझा बिसौनी ।