आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण

सुर्खेत: संघीयता कार्यान्वयनमा आएको सात वर्षपछि प्रादेशिक आपतकालीन गोदमघर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आइतवार बिहान एक कार्यक्रमका बिच गृहमन्त्री रमेश लेखकले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई उक्त घर हस्तान्तरण गरेका हुन् ।

विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने गोदमघरको व्यवस्थापन तथा सञ्चालन अब प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ । हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले पश्चिम नेपाल जोखिम भूगोल रहेको बताए । ‘भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने जस्ता विविध जोखिममा यहाँ छन्,’ उनले भने, ‘तीन वटै तहका सकारहरूले विपद्को पूर्वतयारी अवस्थामा रहनुपर्छ ।’

उनले पश्चिम नेपालमा भूकम्पबाट क्षति भएको ठाउँको पुनर्निर्माण र पुनस्र्थापनाको कार्य भइरहेको बताए । लेखकले अगाडि थपे, ‘अछाम र जाजरकोटमा पुनर्निर्माण इकाई कार्यालय थापना गरी द्रुत गतिमा काम गर्ने तयारी छ ।’

यस्तै मुख्यमन्त्री यामलाल कँडेलले गोदाम घरको संरचना प्रदेशलाई हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न गृहमन्त्री लेखकलाई आग्रह गरे । यो वर्ष विपद्का सामग्री खरिद गर्न प्रदेश सरकारले एक करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मितिः   २६ फाल्गुन २०८१, सोमबार ०६:०१