महिला उद्यमी पुरस्कृत

सुर्खेत: कर्णाली प्रदेश सरकारले आठ जना महिला उद्यमीहरूलाई पुरस्कृत गरेको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रतिव्यक्ति एक लाखको दरले नगदसहित पुरस्कार दिइएको हो ।

पुरस्कार पाउनेमा घरेलु ऊन तथा अल्लो उद्योग सञ्चालन गरिरहेकी डोल्पाको जगदुल्ला गाउँपालिका–३, की ललिता थापा, सिलाई कटाई उद्योग सञ्चालक हुम्लाको सिमीकोट गाउँपालिका–५, की लछु थापा, फलफूल उत्पादन तथा प्रशोधन उद्योग सञ्चालक जुम्लाको तातोपानी गाउँपालिका–५, की नारायणी चौलागाइँ रहेका छन् ।

यस्तै बाख्रा फर्म चलाइरहेकी सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१०, की गीताकुमारी पुन मगर, पोल्ट्री फार्म सञ्चालक कालिकोटको रास्कोट नगरपालिका–५, की सिता शाही, सिलाई कटाई उद्यमी दैलेखको नारायण नगरपालिका–६, की विन्दुकुमारी उपाध्याय, मुगुको छायानाथ रारा नगरपालिका–२, की टेलर्स सञ्चालक सविना रोकाया र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, की होजियारी उद्योग सञ्चालक सुजाता पाण्डेय रहेका छन् । उत्कृष्ट महिला उद्यमी बापतको रकमबाट उनीहरूलाई पुरस्कृत गरिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका अधिकृतविना थापाले बताइन् ।

प्रकाशित मितिः   २५ फाल्गुन २०८१, आईतवार ०६:०१