सहरी करिडोर योजना: दशमध्ये दुई ठूला आयोजनाको डीपीआर
सुर्खेत: नेपालगञ्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी करिडोरअन्तर्गत दुई ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागिएको छ । सहरी करिडोरअन्तर्गत ठूला दश वटा योजना कार्यान्वयन गरिनेछ । जसमध्ये यो वर्ष दुई वटा योजनाको डीपीआर निर्माण गर्न लागिएको सहरी विकास आयोजना केन्द्रले जनाएको छ ।
सीमित बजेट हुँदा यो वर्ष दुई वटा आयोजनाको मात्र डीपीआर निर्माण गर्न लागिएको आयोजनाका उपनिर्देशक विनोद सिंहले बताए । यसअघि नै करिडोरको विकास रणनीति तयार पारिएको थियो । उक्त योजनाअन्तर्गत दश वटा योजना छनोट गरिएकोमा यो वर्ष दुई वटा योजनाको मात्र डीपीआर निर्माण गर्न लागिएको छ । गरिएको प्रि–फिजिविलिटी अध्ययनका आधारमा डीपीआरका लागि दुई करोडको लागत अनुमान गरिएको थियो । चालु आर्थिक वर्षमा सरकारले ४० लाख मात्र बजेट विनियोजन गरेको छ । न्यून बजेट हुँदा दुई वटा मात्र योजनाको डीपीआर निर्माण गर्न लागिएको सिंहले बताए । यो वर्ष डीपीआर निर्माण गरेर ती आयोजना आउँदो वर्षबाट कार्यान्वयनमा जानेछन् । अन्य आठ योजनाको बजेट उपलब्ध भए कार्यान्वयन गरिने जनाइएको छ । खानेपानी, फोहोर व्यवस्थापन, सहरी यातायात, भौतिक संरचना, वातावरणीय विषय, ठूला सभा सम्मेलन गर्ने भौतिक संरचनाको निर्माण गरिनेछ । सडक निर्माण, चिस्यान केन्द्र, बसपार्क र ल्याण्डफिल्ड साइड निर्माण गर्न लागिएको हो ।
करिब दुई वर्ष लगाएर सहरी करिडोरको विकास रणनीति तयार पारिएको सहरी करिडोर आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० देखि एकीकृत विकास रणनीति निर्माणको काम थालिएको थियो । त्यसका लागि सरोकारवालाहरूसँग दीर्घकालीन सोच र रणनीति योजनासम्बन्धी विभिन्न चरणमा छलफल चलाइएको आयोजनाले जनाएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबीच सहज पहुँच स्थापित गर्न सहरी करिडोर निर्माण गर्न लागिएको आयोजनाका उपनिर्देशक सिंहले बताए । ‘हालसम्म सहर केन्द्रित गरेर पूर्वाधार विकास भए तर पछिल्लो समय जनसंख्या वृद्धिसँगै सहर आसपासका सडकमा बसोबास बढ्दै गएको छ’, उनले भने, ‘सहर व्यवस्थित नहुँदा विकास अस्तव्यस्त हुने भएकाले सहरी करिडोरको काम अघि बढाएका हौँ ।’
नेपालगञ्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरको रणनीति योजना तयार पारिएको उनको भनाइ छ । सहरी रणनीतिले मुलुकको आर्थिक विकासमा महŒवपूर्ण सहयोग पु¥याउने छ । सरकारले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा तीन सहर जोड्ने करिडोरको लागि एकीकृत विकास रणनीति तयार पा¥यो । चालु आर्थिक वर्ष २०८१/०८२ मा दश वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्नेगरी छनोट भएका थिए । प्रि–फिजिविलिटी अध्ययनले ५० योजनाको सूचि तयार पारेकोमा दश वटा योजना छनोट भएका हुन् । तर, बजेट अभावका कारण यो वर्ष मुख्य दुई वटा आयोजनाको डीपीआर निर्माण गरी आउँदो वर्षबाट आयोजना निर्माणको काम थालिनेछ ।
शहरी करिडोर आयोजनाले दुई वर्ष लगाएर प्रि–फिजिविलिटी अध्ययन गरेको हो । एक घण्टाको दुरीमा रहेका साना सहरहरूलाई कसरी आर्थिक आयआर्जनमा जोड्न सकिन्छ भनेर अध्ययन गरिएको छ । यसअघि आयोजनाले चार वटा सहरी करिडोरको काम गरिसकेको छ । पाँचौ करिडोरको रूपमा नेपालगञ्ज–कोहलपुर–सुर्खेतको विस्तृत सम्भाव्यता अध्ययन गरिएको आयोजनाले जनाएको छ । अहिले करिडोर निर्माणको सुरुवाती चरणको काम सकिएको छ ।
सहरीकरण व्यवस्थित गर्न करिडोर
सरकारले सहरीकरण व्यवस्थित गर्न ‘सहरी करिडोर’ को अवधारणा ल्याएको छ । मुलुकका विभिन्न सहरलाई समेटेर ठूला सहरी करिडोर निर्माण गर्न थालिएको सहरी विकास मन्त्रालयका सहसचिव पद्कुमार मैनालीले बताए । यसअन्तर्गत पहिलो चरणमा सात वटा ठूला सहरी करिडोर निर्माण सुरू गरिएको छ । सहरीकरणको उचित व्यवस्थापनका लागि करिडोरको अवधारणा ल्याइएको मैनालीले जानकारी दिए । ‘यी क्षेत्रहरूमा तीव्रगतिमा सहरीकरण भइरहेको छ,’ मैनालीले भने, ‘अहिले नै यसको उचित व्यवस्थापन नगर्ने हो भने दीर्घकालीन रूपमा निकै ठूलो समस्या आउनेछ ।’ विशेषगरी ठूला सहरी क्षेत्रको बीच भागमा पर्ने क्षेत्रलाई समेटेर करिडोर निर्माण गर्न थालिएको छ । नजिकै रहेका सहरहरूलाई जोडेर ठूला करिडोर बनाउन थालिएको हो । यी स्थानमा सरकारले आधारभूत भौतिक पूर्वाधार निर्माण गर्नेछ ।
व्यापारिक कम्प्लेक्सलगायत भौतिक पूर्वाधार निर्माणको जिम्मा भने निजीक्षेत्रलाई दिइनेछ । मन्त्रालयका अनुसार दुईदेखि चार वटा सहरलाई जोडेर करिडोर निर्माण गर्न थालिएको छ । केही स्थानमा भने मुख्य राजमार्गको विकल्पमा भित्री सडकसमेत निर्माण गरिने जनाइएको छ । कोहलपुर–नेपालगञ्ज करिडोरमा मुख्य राजमार्गको पाँच सय मिटरभित्र वैकल्पिक मार्ग निर्माण गरिनेछ । स्थानीय जनताका लागि भित्री सडक प्रयोग गर्दा मुख्य राजमार्गमा ट्राफिक चाप कम हुनेछ । हाल दुई सहरको बीचमा पर्ने राजमार्गमा मात्र बस्ती हुँदा सहरीकरण व्यवस्थित गर्न समस्या पर्ने गरेको छ । करिडोर निर्माणपछि भने यसको भित्री भागमा समेत बस्ती विकास हुने अपेक्षा छ ।
प्रकाशित मितिः १२ फाल्गुन २०८१, सोमबार ०६:०६
साझा बिसौनी ।