दलित संग्रहालय निर्माणमा बजेट अपुग
सुर्खेत: पूर्वी सुर्खेतमा निर्माण भइरहेको दलित संग्रहालयको भवन निर्माण गर्न बजेट अभाव भएको छ । संघीय सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरेपछि भवन निर्माणको काम अघि बढाउन समस्या भएको हो ।
दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन संग्रहालय निर्माण निर्माण थालिएको थियो । पहिचान संरक्षणसँगै ग्रामीण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारले दलित संग्रहालय निर्माण थालेको हो । अहिले बजेट नहुँदा भवन निर्माणको काम अघि बढाउन नसकिएको भेरीगंगा नगरपालिकाले जनाएको छ । भवन निर्माणको काम भने अन्तिम चरणमा पुगेको नगरपालिकाका सव–इन्जिनियर गणेश कार्कीले जानकारी दिए ।
हालसम्म भवन निर्माणको ८५ प्रतिशत काम सकिएको छ । अब १५ प्रतिशत मात्र काम गर्न बाँकी छ । चालु आर्थिक वर्षमा सरकारले बजेट विनियोजन नगरेको तथा यसअघि गरेको कामको समेत भुक्तानी दिन नसक्दा काम अघि बढाउन नसकिएको कार्कीले जानकारी दिए । भवन निर्माणको बाँकी काम अघि बढाउन बजेट माग गरिएको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट मागको फाइल पेस गरिएको सव–इन्जिनियर कार्कीले बताए । निर्माण कम्पनीले हालसम्म साढे दुई करोड बराबरको काम गरिसकेको छ । अहिलेसम्म करिब एक करोड मात्र भुक्तानी पाएको छ । यसअघि नै गरेको कामको भुक्तानी नहुँदा अहिले अन्य काम ठप्प छन् । विभिन्न समयमा मन्त्रालयमा फाइल पेस गरिएको कार्कीले बताए । उनका अनुसार यो वर्ष मात्र तीन पटक फाइल पेस गरिएको छ ।
पुर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ८ मा संग्रहालयको भवन निर्माणको काम थालिएको हो । दलित समुदायको कला, संस्कृति, परम्परागत रीतिरिवाज झल्काउने उद्देश्यले संग्रहालय निर्माणको काम थालिएको भेरीगंगा नगरपालिकाले जनाएको छ । उक्त संग्रहालयबाट दलित समुदायको बारेमा अध्ययन, अनुसन्धान गर्न र उनीहरूको सीपबाट थप उद्यम सिर्जना गर्न सकिने लक्ष्य राखिएको छ । संग्रहालयलाई औद्योगिक क्षेत्रको रूपमा पनि विकास गर्न सकिने भेरीगंगा नगरपालिकाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा संग्रहालय निर्माणको काम थालिएको हो । नगरपालिकाको ३५ प्रतिशत लगानी रहनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तीन करोड २० लाख लागतमा संग्रहालयको भवन निर्माण भइरहेको छ । २०७८ असोज १० गते बाट संग्रहालयको भवन निर्माणको काम थालिएको हो । २०७८ असोज १० देखि २०८० असार ३० गतेसम्म भवन निर्माण सम्पन्न गर्नेगरी नेपाल मेगा, लामा प्रगति, सुवास जेभी वीरेन्द्रनगरसँग ठेक्का सम्झौता गरिएको थियो । जेभीसँग नगरपालिकाले तीन करोड २० लाख ७३ हजारमा भवन निर्माणको सम्झौता गरेको हो । दुई वर्षमा भवन निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको भएपनि कोरोना महामारीलगायतका कारण ढिलाइ भएको जनाइएको छ । तर अहिले भवन निर्माणको काम ८५ प्रतिशत सकिएको छ । भवन निर्माणको म्याद थपिएको नगरपालिकाले जनाएको छ । २०८१ पुस मसान्तदेखि २०८२ असारसम्म म्याद थप गरिएको हो । संग्रहालयको, डेकुरेशन, सजावटलगाएतका धेरै काम बाँकी नै छन् ।
दलित समुदायको राज्य
कुनैबेला पूर्वी सुर्खेतका केही भाग दलित समुदायको राज्य थियो । साविकको मैनतडा र मेहेकुना क्षेत्रमा दलित समुदायका राजाले राज्य गर्ने गरेको इतिहास रहेको जानकारहरू बताउँछन् । सातौँ शताब्दी अघिको दलित राज्यमा अहिले संग्रहालय बनाउन थालिएको स्थानीय जयवीर विकले बताए । उनका अनुसार हालको भेरीगंगा नगरपालिका ७ र ८ को केही क्षेत्रमा दलितले राज्य गर्ने गरेको इतिहास भेटिएको छ । डुमकोटी राजाले राज्य गरेको डुमकोट डाँडा र डुमकोटी राजाको स्थानलाई अहिले दलितहरूको अध्ययन, अनुसन्धान र पर्यटकीय केन्द्र बनाइँदैछ । ‘विक्रम संवत् १३७० सम्म डुमकोटी राजाले राज्य गरेको ऐतिहासिक डुमकोट डाँडा अहिले पर्यटकीय स्थलका रूपमा परिचित छ,’ डुमकोटी राज्यबारे जानकार जयविर सुनारले भने, ‘डुमकोटी राजाको राज्य र राजधानी रहेको डुमकोट डाँडालाई खोज, अनुसन्धान, उत्खनन् र पर्यटकीय केन्द्र बनाउँदैछौँ ।’ दलित समुदायको पहलमा संग्रहालय निर्माणको काम अघि बढाइएको विकले बताए । ‘दलित समुदायको राज्य रहेको यही ठाउँमा अहिले डुमकोट दलित संग्रहालय बन्दैछ,’ जयवीरले भने, ‘विभिन्न पूर्वाधार निर्माणका काम अघि बढाइएको छ ।’
डुमकोटी राज्य रहेको स्थानमा २५ वटा सुरुङ फेला परेको भन्दै विकले अहिले त्यस्ता संरचनाको खोजी भइरहेको समेत जानकारी दिएका छन् । ‘आफ्नो राज्यलाई बचाउन डुमकोट डाँडा वरपर सुरुङहरू निर्माण गरेको देखिन्छ,’ उनले भने, ‘उत्खनन् गर्दा जातो, पाला, तलबारलगायतका पुरातात्विक वस्तुहरू फेला परेका छन् ।’ विक्रम संवत् १३७० मा नजिकैका अर्का राजाले डुमकोटमा आक्रमण गरे । गुर्भाकोटी राजाको आक्रमणबाट भागेका डुमकोटीहरू रुकुमको अर्माखोलामा बसाइँ सरेको अनुसन्धानले देखाउँछ । ‘तत्कालीन अवस्थामा घरेलु हतियार प्रशस्त भएपनि जनसंख्या कम हुँदा गुर्भाकोटी राज्यले डुमकोटमाथि विजय प्राप्त गरेको देखिन्छ,’ उनले भने, ‘युद्धमा पराजय भोगेर राज्य गुमाएका डुमहरू रूकुमको अर्माखोलामा बसेको पाइएको छ ।’ रुकुमको अर्माखोलाका सार्की समुदायलाई ‘सुर्खेती सार्की’ भन्ने गरिन्छ । डुमकोटी राज्य र यसको प्रचार–प्रसारका लागि डुमकोट पर्यटन विकास समिति पनि गठन गरिएको छ । संग्रहालयसँगै डुमकोट राज्यका बारेमा खोज, अनुसन्धान र परम्परागत दलित समुदायको सीप, भेषभूषाको संरक्षण हुने सुनारको भनाइ छ ।
प्रकाशित मितिः ११ फाल्गुन २०८१, आईतवार १३:३४
साझा बिसौनी ।