पशु नश्ल सुधार योजना: ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना हुँदै
सुर्खेत: कर्णाली प्रदेश सरकारले ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न लागेको छ । पशु नश्ल सुधारमार्फत् उत्पादन वृद्धि गर्न कृत्रिम गर्भाधानका लागि आवश्यक तरल नाइट्रोजन प्लान्ट स्थापना गर्न लागिएको हो ।
प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउनका लागि प्लान्ट स्थापना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष प्लान्ट स्थापना गर्न पर्याप्त बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा प्लान्ट स्थापना गर्नका लागि चार करोड ८५ लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।
गत आर्थिक वर्षमा समेत प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । उक्त वर्ष ४० लाख बजेट विनियोजन भएको थियो । सो बजेटमा डिपीआर निर्माण गरिएको कठायतले जानकारी दिए । यो वर्ष सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले सम्झौता भइ काम अघि बढाइएको कठायतले बताए । यो वर्ष प्रदेशमा प्लान्ट स्थापना गरिनेछ ।
पशुहरूको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानका लागि ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माणको योजना बनाइएको हो । गाई र भैँसीको नश्ल सुधार र उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने उद्देश्यसहित कर्णाली प्रदेशमै पहिलोपटक प्लान्ट निर्माणको काम अघि बढाउन लागिएको हो । मन्त्रालयका प्रवक्ता कठायतका अनुसार नश्ल सुधारका लागि अहिले कर्णालीमा पशुको वीर्य बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ । महँगो र समय धेरै लाग्ने भएकाले निकै समस्या हुनेगरेको छ । झन्झटिलो चाहेको समयमा सहज उपलब्ध पनि नहुने समस्या देखिएपछि सरकारले प्रदेशमै नाइट्रोजन प्लान्ट निर्माणको योजना अघि बढाएको हो । पशुपन्छी विकास निर्देशनालय सुर्खेत परिसरमा प्लान्ट निर्माण गर्न लागिएको छ ।
कर्णली प्रदेशमा पहिलो पटक स्थापना गर्न लागिएको ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माणले बाहिरबाट ल्याइने उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न सहयोग पुग्ने पशुपक्षी विकास निर्देशनालय सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशमा हालसम्म बाहिरबाट वीर्य आपूर्ति गरिँदै आएको छ । कर्णालीमै यो प्रक्रिया सञ्चालन गर्नका लागि नाइट्रोजन उत्पादनका लागि प्लान्ट निर्माण गर्न लागिएको पशुपन्छी विकास निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले बताए । कृत्रिम गर्भाधान कार्यक्रमलाई सुदृढ बनाउन र दूध उत्पादनमा वृद्धि ल्याउन यो कार्यक्रमले सहयोग पुग्ने उनले जानकारी दिए । ‘प्रशोधित वीर्यका स्ट्रहरू संरक्षण तथा भण्डारणका लागि नभई नहुने अति आवश्यक वस्तु तरल पदार्थ नाइट्रोजन बाहिरबाट आपूर्ति गर्नुभन्दा यहीँबाट कृत्रिम गर्भाधान केन्द्रहरूमा वितरण गर्ने लक्ष्य राखिएको छ ।
मन्त्रालयले कर्णालीका विभिन्न जिल्लामा करिब दुई सय कृषकहरूलाई कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै आएको छ । विशेषगरी, दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत् नश्ल सुधार अत्यन्त प्रभावकारी मानिएको निर्देशनालयले जनाएको छ । प्लान्ट स्थापना गर्नु पूर्व मन्त्रालयले प्रभावित क्षेत्रका स्थानीयसँग सार्वजनिक सुनुवाइसमेत गरिसकेको छ । स्थानीयले प्लान्टबाट दीर्घकालीन असर नपर्ने भन्दै निर्माणसँगै सञ्चालनमा कुनै अवरोध नगर्ने सहमति गरेका छन् । प्लान्ट निर्माणको क्षेत्रमा खानेपानीको भूमिगत स्रोत नभएका कारण कुनै पनि दीर्घकालीन असर समेत नपर्ने जनाइएको छ । पंगेनीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म प्लान्ट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षबाट कर्णाली प्रदेशमा तरल नाइट्रोजन उत्पादन गर्न थालिने छ । यस परियोजना सफल भएमा कर्णाली प्रदेशमा कृषि र पशुपालन क्षेत्रमा उल्लेखनीय प्रगति हुने विश्वास सरकारको छ ।
प्रदेश सरकारले सन् २०३० सम्म पशुपन्क्षीमा लाग्ने रोग उन्मुलन गर्ने जनाएको छ । पशुपन्छीमा महामारीको रूपमा फैलिन सक्ने विभिन्न संक्रामक रोगहरूको उन्मूलन गर्न खोप अभियान सञ्चालन गर्ने भएको हो । प्रत्येक जिल्लामा रहेका गाई, भैँसी, बाख्रा र घाँसको श्रोत केन्द्रहरूको सुदृढीकरणका कार्यक्रमसमेत राखिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः १० फाल्गुन २०८१, शनिबार ०९:३०
साझा बिसौनी ।