‘आयोजना बैंक’ निर्माण गरेर लगानी सम्मेलन

सुर्खेत: प्रदेश सरकारले ‘आयोजना बैंक’ निर्माण गरेर मात्र लगानी सम्मेलन गर्ने भएको छ । यसअघि आवश्यक तयारी र प्रक्रिया पूरा नहुँदा लगानी सम्मेलन हुन सकेको थिएन । बेला–बेला भइरहने सरकार फेरबदल र योजना आयोगले पूर्णता नपाउँदा लगानी सम्मेलन अन्योलमा पर्दै आएको थियो । यो पटक भने लगानी सम्मेलनका लागि केही आधार निर्माण गरेर मात्र सम्मेलनको मिति तय गर्ने सरकारले जनाएको छ ।

आयोजना बैंक निर्माण गर्ने र त्यसै अनुरूप लगानी सम्मेलन गर्नेगरी तयारी भइरहेको जनाइएको छ । अहिले आयोजना बैंकको कार्यविधि निर्माणको काम भइरहेको प्रदेश योजना आयोगले जनाएको छ । लगानी सम्मेलनबारे यसअघि भएका काम र आयोजनाहरूको सुनिश्चित गरेर मात्र सम्मेलन गर्ने तयारी भएको प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले बताए । यसअघिको योजना आयोगले समेत केही तयारी गरेको थियो । सोही बमोजिम काम अघि बढाउन लागिएको हो । तयारी पूरा गरेर मात्र सम्मेलनको मिति तय गर्नेगरी योजना आयोग लागिरहेको उनको भनाइ छ । यसअघि भएका अभ्यास हेर्दा तयारी नहुँदा काम हुनसकेको थिएन । सम्मेलनका केही आधार तय गरेर मात्र काम अघि बढाउन लागिएको उपाध्यक्ष योगीले बताए ।

 

हुन नसकेको लगानी सम्मेलन

यसअघि प्रदेश सरकारले विभिन्न समयमा लगाानी सम्मेलन गर्नेगरी तयारी थालेको थियो । तर सरकारको योजना कार्यान्वयन भएको थिएन । अन्तिम पटक निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले यही वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने योजना बनाएको थियो । वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्नेगरी तयारी थालिएको थियो । सम्मेलनको तयारीका लागि मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो ।

प्रदेश योजना आयोगले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारलाई कार्ययोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृतसमेत गरेको थियो । २०८० माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १९ र २० गते कर्णाली प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको थियो । दुई पटक लगानी सम्मेलनको योजना विफल बनेको थियो । त्यतिबेला धेरै कामसमेत अघि बढिसकेको अवस्थामा सरकार फेरबदलले गर्दा सम्मेलन अन्योल बनेको थियो । यो पटक भने सरकारले लहडमा भन्दा पनि तयारी पूरा गरेर मात्र लगानी सम्मेलन गर्ने तयारी गरेको छ । हचुवाको भरमा सम्मेलनको मिति तय गर्दा दुविधा उत्पन्न भएको भन्दै तयारी पूरा गरेर मात्र मिति तय गर्न लागिएको हो ।

 

पूर्वाधार विकासमा लगानी बढाउन बहस

पूर्वाधार विकासमा लगानी बढाउन बहस गरिएको छ । सार्वजनिक–निजी साझेदारीसम्बन्धी प्रादेशिक रूपमा बहस गरिएको हो । कर्णालीमा लगानीमैत्री वातावरण नहुँदा ठूला पूर्वाधार निर्माणका आयोजना अध्ययनमै सीमित भएका छन् । २३ हजार मेघावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता भएको प्रदेशमा हालसम्म १६ मेघावाट मात्र विद्युत उत्पादन भएको छ । लगानीमैत्री वातावरण नहुनु, आयोजना सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार अभाव हुनु लगायतका कारण ठूला आयोजना सञ्चालन हुन सकेका छैनन् ।

सार्वजनिक–निजी साझेदारीमा भूगोल सुहाउँदो लगानी गर्नुपर्ने, प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने र निजी क्षेत्रलाई समेट्नुपर्नेमा जोड दिइएको छ । कर्णालीमा लगानी गर्न निजी क्षेत्र उत्साहित देखिँदैनन् । धेरैजसो ठूला आयोजना अलपत्र अवस्थामा छन् । प्रदेश सरकारले परियोजना बैंक स्थापना गरेर ठूला आयोजना सञ्चालन गर्न लागेको आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले बताए । पूर्वाधार क्षेत्रहरूका सम्भावना पहिचान गरेर सोही अनुरूप काम गर्ने नीति सरकारले निर्माण गरेको उनको भनाइ थियो । कर्णाली प्रदेश सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएकाले जलविद्युतमा लगानी बढाउन निजी क्षेत्रसँगको सहकार्य अघि बढाउन लागिएको शाहले बताए ।

प्रकाशित मितिः   ३ फाल्गुन २०८१, शनिबार ०६:०६