‘सबै प्रकारका विभेद अन्त्य हुन्छ’

सुर्खेत: समाजमा रहेका सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गरिने कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । सोमवार आवाज संस्था सुर्खेतको २५औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारको नीति तथा कार्यक्रममा समेटेर सबै विभेद र कुसंस्कारको अन्त्य गर्ने योजना राखिएको जानकारी दिए । समाजमा बढ्दो बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छाउपडी प्रथा अन्त्यका लागि प्रदेश सरकारले विभिन्न सचेतनाका कार्यक्रम राखेको कँडेलको भनाइ छ । कानुनी अज्ञानताका कारण हिंसा बढिरहेको भन्दै उनले कानुनी सचेतनाका कार्यक्रम सरकारले ल्याएको बताए । टोलस्तरमा कानुनी सचेतनाका कार्यक्रम कार्यान्वयन भइरहेको र धर्मका नाममा गरिने विभेदको समेत अन्त्य गर्ने नीति अबलम्वन सरकारले गरेको जानकारी दिए । विभेद न्यूनिकरणमा आवाज संस्थाको भूमिका महŒवपूर्ण रहेको उनको भनाइ छ । सरकारले विभेद न्यूनिकरण गर्न विभिन्न संघसंस्थासँग मिलेर काम गरिरहेको समेत कँडेलले बताए ।

२०६५ सालदेखि आवाज संस्था सुर्खेतले महिला र बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ । जोखिममा रहेका महिला, बालबालिका, अति विपन्न समुदायका व्यक्ति तथा समूहहरूमा लैगिंक समानता, बालअधिकार र सशक्तिकरणका लागि काम गरिरहेको आवाज संस्थाका अध्यक्ष इरादा गौतमले बताइन् । उनका अनुसार बालविवाह, बहुविवाह, जातिय छुवाछुत, छाउपडी प्रथा, लैंगिक हिंसा न्यूनिकरणका सवालमा संस्थाले काम गरिरहेको छ ।

प्रकाशित मितिः   २९ माघ २०८१, मंगलवार ०६:०२