जनस्वास्थ्य प्रयोगशाला स्तरोन्नति हुँदै

भवन निर्माण कार्य अन्तिम चरणमा

सुर्खेत: वीरेन्द्रनगरमा निर्माणाधीन जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पछिल्लो पटक म्याद थपेर भवन निर्माण कार्य भइरहेको छ । निर्माण कार्य थालिएको लामो समयपछि कामले तीव्रता पाएको छ ।
पछिल्लो पटक २०८० माघ १ गतेदेखि २०८१ पुस २९ गतेसम्मका लागि म्याद थप गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । अहिले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको कार्यालयका इन्जिनियर पूर्ण शर्माले बताए । २०७८ असार २८ गतेदेखि भवन निर्माणको काम थालिएको थियो । २०७९ पुस २८ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकोमा त्यसयता पटक–पटक म्याद थप गरेर निर्माणको काम भइरहेको छ । हालसम्म भवन निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको कार्यालयका इन्जिनियर शर्माले जानकारी दिए ।

यसैगरी भवनको वित्तीय प्रगति ८५ प्रतिशत हासिल भएको छ । अन्तिम पटक थपिएको म्याद सकिन नौ दिन बाँकी छ । एक÷दुई महिना म्याद थपेर भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम भइरहेको भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । अहिले भवन निर्माणको काम धमाधम भइरहेको इन्जिनियर शर्मा बताउँछन् । उनले भने, ‘अब दुई महिना म्याद थपेर भवन निर्माणको काम सक्ने तयारी भएको छ, अहिले काम धमाधम रूपमा भइरहेको छ, यो वर्ष नै जनस्वास्थ्य प्रयोगशालालाई भवन हस्तान्तरण गर्छौं ।’

अहिले केही महिना म्याद थपेर काम अघि बढाउने तयारी भइरहेको जनाएको छ । भवन निर्माण थालिएको लामो समय भएको भएपनि पछिल्लो पटक भवन निर्माणको कामले तिव्रता पाएको हो । भवन निर्माण कार्य सम्पन्न गरेर जनस्वास्थ्य प्रयोगशालाको कामलाई प्रभावकारी बनाउन लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर भवन निर्माणको योजना अघि सारिएको छ । संघीय सरकारसँगको सहकार्यमा भवन निर्माण कार्यलाई अन्तिम रूप दिन लागिएको प्रदेश सरकारले जनाएको छ । यो वर्षदेखि नै नयाँ भवनबाट सेवा दिने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता वृषबहादुर शाहीले बताए । उनका अनुसार संघीय सरकारको लगानीमा जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण भइरहेको छ । प्रयोगशालाको कामलाई प्रभावकारी बनाउन लागिएको प्रदेश सरकारले जनाएको छ ।

अहिले जनस्वास्थ्य प्रयोगशालाले पुरानै भवनबाट सेवा दिइरहेको छ । दैनिक बिरामी चेकजाँच, दशवटै जिल्लाका प्रयोगशालाको गुणस्तर मापनलगायतका काम गरिरहेको छ । तालिम र अनुगमनका कामलाई प्रभावकारी रूपमा अघि बढाइएको जनस्वास्थ्य प्रयोगशालाका प्रमुख कलम थापाले बताए । भवन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको भन्दै थापाले सेवालाई थप व्यवस्थित बनाउन लागिएको जनाए । प्रयोगशालाले निजी प्रयोगशालालाई समेत लाइसेन्स वितरणका लागि सहजीकरण गर्ने गरेको छ । विशेष गरेर एचआईभी, मलेरिया र टिबी रोगको ल्याव परीक्षण र आवश्यक पृष्ठपोषण दिने काम गरिएको छ ।

जनस्वास्थ्य प्रयोगशालाको कामलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार र जनशक्तिको आवश्यक व्यवस्थापन गर्न लागिएको छ । हाल प्रयोगशालामा ११ जनाको स्वीकृत दरबन्दी रहेको छ । जसमध्ये ६ जना दरबन्दीमा कार्यरत छन् । अन्य कर्मचारी करारमा कार्यरत रहेको कार्यालय प्रमुख थापाले बताए । भौतिक संरचना अभाव र न्यून जनशक्ति हुँदा प्रभावकारी रूपमा काम गर्न नसकिएको जनाइएको छ । अहिले भने भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशालामा सेवा लिनेको संख्या बढेको छ । सेवालाई थप व्यवस्थित बनाउन लागिएको हो । अहिले भवन निर्माण कार्य भइरहेको छ भने थप सेवा विस्तार गर्ने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मितिः   २० पुष २०८१, शनिबार ०६:०६