स्वास्थ्य पूर्वाधार प्राथमिकतामा

सुर्खेत: कर्णाली प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा बहुवर्षीय र स्रोत सुनिश्चितता भएका ठूला पूर्वाधार योजनालाई अघि बढाउने नीति अनुरूप स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई अघि बढाउन लागिएको हो । जीर्ण भवनबाट सेवा प्रवाहमा निकै समस्या हुने गरेको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ, पहुँचयोग्य र प्रभावकारी बनाउन स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले जनाएको छ । नयाँ पूर्वाधार निर्माणभन्दा पनि बनिरहेका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर निर्माण भवन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । चार वटा जिल्ला अस्पताल भवन निर्माणको निरन्तरताका लागि यो वर्ष बजेट विनियोजान गरिएको छ ।

उक्त भवन निर्माणको निरन्तरताका लागि २५ करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य शाखा प्रमुख वृषबहादुर शाहीले बताए । उनका अनुसार भवन निर्माण कार्यको निरन्तरताका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख, रूकुमपश्चिम, हुम्ला र सल्यानका लागि बजेट विनियोजन गरिएको छ । पर्याप्त भवन नहुँदा प्रभावकारी सेवा दिन नसकिएको समेत जनाइएको छ । यो वर्ष बहुवर्षीय र स्रोत सुनिश्चितता भएका योजनामा मात्र बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता शाहीले बताए ।

सरकारले पर्याप्त बजेट विनियोजन गरेपनि निर्माण व्यवसायीको लापरबाहीका कारण जिल्ला–जिल्लाका अस्पताल भवन निर्माणमा भने ढिलाइ भइरहेको छ । जिल्ला अस्पताल दैलेखमा म्याद थप गरेर भवन निर्माणको काम भइरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणको निरन्तरताका लागि दश करोड बजेट पठाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. रत्नवीर सुनारले बताए । उनका अनुसार भवन निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

जिल्लामा पूर्वाधारको अभाव छ । भवनकै समस्या छ । वि.सं. २०४५ मा बनेको पुरानो भवनबाट अस्पतालले सेवा दिइरहेको छ । सेवाग्राहीको चाप हुँदा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको कार्यालय प्रमुख डा. सुनार बताउँछन् । १५ शैय्याको अस्पताललाई स्तरोन्नति गर्ने योजना अघि सारिएको छ । ५० शैड्ढयाको बनाउने गरी तीन वटा भवन निर्माणको काम अघि बढाइएको छ । अहिले अन्तिम पटक २०८१ भदौमा म्याद थप गरिएको हो । २०८२ भदौमा भवन निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । तर हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने ५५ प्रतिशत काम बाँकी छ ।

यो त एउटा प्रतिनिधि अस्पताल मात्र हो । जिल्ला–जिल्लाका अस्पताल भवन निर्माण कार्य निकै सुस्त गतिमा भइरहेको छ । जसले गर्दा सेवा प्रवाहमा समस्या हुने गरेको हो । जिल्ला अस्पताल हुम्लाको समेत भवन निर्माण भइरहेको छ । बहुवर्षीय ठेक्कामार्फत् काम भइरहेको अस्पतालका सूचना अधिकारी नन्द शाहीले बताए ।

प्रदेश सरकारले संघीय सरकारको सहकार्यमा पनि भवन निर्माण योजनालाई प्राथमिकतामा राखेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश सवास्थ्य आर्पूति व्यवस्थापन केन्द्र, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र मेहेलकुना अस्पतालको भौतिक पूर्वाधारको निरन्तरताका लागि समेत बजेट विनियोजन गरिएको छ । सरकारले बहुवर्षीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने नीति अबलम्वन गरेको हो ।

प्रकाशित मितिः   १० पुष २०८१, बुधबार ०६:०६