कर्णालीको दोस्रो जित

 

सुर्खेत: कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिवार भएको आफ्नो चौथो खेलमा विराटनगरलाई सात रनले पराजित गरेको हो । एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले आठ विकेट गुमाएर एक सय २६ रनमै समेटियो ।

अन्तिम ओभरमा जितका लागि विराटनगरलाई १५ रनको आवश्यकता थियो । तर नन्दन यादवले सात रनमात्र दिएर कर्णालीलाई जित दिलाए । नन्दनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । देव्रेहाते स्पिनर विपिन शर्माले चार ओभरमा २० रन खर्चेर दुई तथा कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र युनिस ठकुरीले एक–एक विकेट लिए ।

विराटनगरका निकोलस कृतनले सर्वाधिक ४० रन बनाए । उनले ३९ बल खेल्दा चार चौका र एक छक्का प्रहार गरे । ओपनर लोकेश बमले नौ बल खेली एक चौका र दुई छक्काका साथ १९ र दीपक बोहराले १३ बलमा एक छक्काका साथ १८ रन बनाए । मार्टिन गप्टिल चार, अकिब इल्यास आठ, नरेन भट्ट सात, बसिर अहमद आठ, क्रिस सोल पाँच रनमा आउट भएका थिए । प्रतिश जीसी सात बलमा सात र सन्दीप लामिछाने पाँच बलमा ६ रन बनाइ अविजित रहे ।

यसअघि प्रतिश जिसीले सनसनी अन्तिम ओभर फालेपछि विराटनगरले कर्णालीलाई एक सय ३३ रनमा अलआउट गरेको थियो । प्रतिशले अन्तिम ओभरमा बिना कुनै रन खर्चेर तीन विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको कर्णाली एक सय ३३ रनमा समेटिएको थियो । प्रतिशले अन्तिम ओभरमा जिसन मक्सुदलाई दुई तथा नन्दन र विपिनलाई शून्यमा आउट गरेका थिए भने युनिस रन आउट भएका थिए ।

कर्णालीका अर्का विदेशी खेलाडी चाडविक वाल्टनलाई एक रनमा सोलले आउट गरेपछि बोसिस्टो र देव खनालले तेस्रो विकेटका लागि ७९ बलमा एक सय दुई रनको साझेदारी गरी कर्णालीको स्थिति सुधारेका थिए । देवले ४८ बलमा ५३ रन र बोसिस्टोले ४९ बलमा ६६ रन बनाए । देवले चार चौका र चार छक्का तथा १९औँ ओभरमा आउट भएका बोसिस्टोले पाँच चौका र तीन छक्का प्रहार गरे । बसिरले लगातार बलमा देव र गुलशन झा (०) लाई आउट गरेका थिए । इल्यासले अर्जुन घर्तीलाई एक रनमा आउट गरे । कर्णालीले अन्तिममा पाँच विकेट कुनै रन नजोडी गुमाएको थियो । चार खेल खेल्दा कर्णालीले दुई खेल गुमाएको छ भने दुई खेलमा जित निकालेको हो ।

प्रकाशित मितिः   २३ मंसिर २०८१, आईतवार ०६:०२