वातावरणका एकाई बैठक सम्पन्न
सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाको एकाई बैठक सम्पन्न भएका छन् । संस्थाको २२ औँ वार्षिक साधारणसभाअन्तर्गत शनिवार एकाई नं. २ को बैठक भएसँगै सबै एकाई बैठकहरू सम्पन्न भएका हुन् ।
सहकारी ऐनअनुसार एकाई बैठकहरूमार्फत वार्षिक साधारण सभा सञ्चालन गर्नुपर्ने व्यवस्था भएबमोजिम संस्थाको सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्ला अन्तर्गत विभिन्न सात वटा एकाई बैठक विभाजन गरी सोहीअनुसार एकाई बैठकहरू सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।
शनिवार भएको एकाई बैठक नं. २ को उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले नागरिक र समग्र राष्ट्रको आर्थिक अवस्थालाई सुदृढिकरण गर्न सहकारीहरूको महत्त्वपूर्ण योगदान रहेको बताए । राज्यको तीनखम्बे अर्थ नीतिको एक महत्त्वपूर्ण खम्बाको रूपमा रहेको सहकारीहरूहरूले अझ जिम्मेवार भइ आफ्ना सेवा क्रियाकलापहरूलाई सञ्चालन गर्नुपर्ने उयनको भनाइ थियो ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मी, बहुउद्देश्यीय जिल्ला सहकारी संघका सचिव गोपाल पाण्डे, संस्थाका सञ्चालक समिति उपाध्यक्ष प्रेमप्रसाद चालिसेलगायतको सहभागिता रहेको थियो । एकाई बैठकले संस्थाका सचिव राधाकुमारी ढकालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ताराकेशर पौडेलले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार ०६:०२
साझा बिसौनी ।