कर्णालीमा उपनिर्वाचन: आठ पदमा ४४ उम्मेदवार
सुर्खेत: स्थानीय तहको उपनिर्वाचनका लागि कर्णाली प्रदेशका आठ पदमा ४४ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलका ४१ र तीन जना स्वतन्त्र गरी ४४ जनाले आइतवार मनोनयन दर्ता गराएका हुन् ।
दैलेखका महावु गाउँपालिकाको अध्यक्ष पदका लागि सात वटा दलले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल, समाजवादीबाट जगत हमाल, रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर रहेका छन् ।
एमालेबाट उम्मेदवार बनेका शाही यसअघि २०७४ मा नेकपा एमालेबाट महावुको अध्यक्ष बनेका थिए । २०७९ को निर्वाचनमा उनी एकीकृत समाजवादीबाट उम्मेदवार बनेर पराजित भएका थिए । अहिले केही समयअघि मात्र एमालेमा फर्किएर उनी पुनः महावुको अध्यक्ष उम्मेदवार बनेका हुन् । यसअघि नेपाली कांग्रेसबाट निर्वाचित महावु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको २०७९ माघ २७ गते मृत्यु भएको हो । उनको स्थापनमा उपचुनाव हुन लागेको हो ।
यसैगरी जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा ६ दलले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादी केन्द्रबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसीले मनोनयन दर्ता गराएका हुन् । यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सरिता सिंहको गत वर्षको भूकम्पमा परी मृत्यु भएको थियो । कांग्रेसले सरिताकै भाइबुहारी इन्द्रालाई उम्मेदवार बनाएको हो । एमालेले गत निर्वाचनमा पराजित बोहोरालाई नै अघि सारेको छ ।
उपनिर्वाचन हुने हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि सात जनाले मनोनयन दर्ता गराएका छन् । सर्केगाडमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् भने दुई जना स्वतन्त्रले पनि उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचु बुढाले उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्र उम्मेदवारी दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् । गत भदौ ४ गते सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको गाडी दुर्घटना हुँदा सर्केगाडका उपाध्यक्ष चन्द्र सिंह कार्कीको मृत्यु भएको थियो । उनले २०७९ को निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेर उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।
त्यसैगरी दैलेखको दुल्लू नगरपालिका–१३ मा वडाध्यक्ष पदका लागि ६ दलले मनोनयत दर्ता गराएका छन् । उक्त पदका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लका अनुसार एमालेबाट लालबहादुर शाही, कांग्रेसबाट शेरबहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, राप्रपाबाट रेशम शाही, रास्वपाबाट रामबहादुर शाही र नेमकिपाबाट पूणर्प्रसाद उपाध्यायले मनोनयन दर्ता गराएका हुन् । यसअघिका वडाध्यक्ष बिर्खबहादुर शाहीको गत माघमा ब्रेनट्युमरका कारण मृत्यु भएको थियो । २०७९ मा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
कालीकोटको तिलागुफा–४ राचुलीको वडाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट ३४ वर्षीय पैलबहादुर शाही, एमालेबाट ४६ वर्षीय ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट ३९ वर्षीय खड्कराज शाही र माओवादी केन्द्रबाट नैशोभा शाहीले मनोनययन दर्ता गराएका छन् ।
त्यस्तै, राष्टिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाहीले उम्मेदवारी दिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बमले उम्मेदवारी दिएका छन् । जिल्लामा दर्ता भएका सबै दलहरूले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । २०७९ मा निर्वाचित वडाध्यक्ष परबहादुर शाहीको दुई वर्षअघि राचुली पहिरोमा परी बेपत्ता भएपछि उपनिर्वाचन हुन लागेको हो ।
परबहादुर माओवादी केन्द्रबाट निर्वाचित थिए । यसपटक माओवादी केन्द्रले परबहादुरकै श्रीमती नैशोभालाई उम्मेदवार बनाएको हो । पार्टीका जिल्ला अध्यक्षसमेत रहेका नेमकिपाका उम्मेदवार खड्कराज भने २०७४ का निर्वाचित वडाध्यक्ष हुन् । एमालेका उम्मेदवार शाही पार्टीको जिल्ला सचिवालय सदस्य हुन् ।
यसैगरी रूकुमपश्चिममा सानीभेरी गाउँपालिका–५ मा वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । जसमा चार जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद वस्यालले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसका तर्फबाट मोतिराम खत्री, माओवादी केन्द्रका तर्फबाट जसिराम वस्नेत, एकीकृत समाजवादीका तर्फबाट हंसराज पुरी तथा स्वतन्त्र उम्मेदवार वीरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
जाजरकोटको कुसे गाउँपालिका–७ को वडाअध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट खम्बबहादुर घर्ती, एमालेबाट डम्मरबहादुर घर्ती, माओवादी केन्द्रबाट गोरख नेपाली र राप्रपाबाट लालबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाक्री र समाजवादीबाट ज्योति घर्तीले मनोनयन दर्ता गराएका हुन् ।
प्रकाशित मितिः ३ मंसिर २०८१, सोमबार ०६:०६
साझा बिसौनी ।