कर्णाली याक्सका लागि सुर्खेतमा ‘ट्यालेन्ट हन्ट’

सुर्खेत: नेपाल प्रिमियर लिग (एनपीएल) टिम कर्णाली याक्सले प्रदेशबाट ‘आइकनिक खेलाडी’ छनोट गर्नका लागि सुर्खेतमा ‘ट्यालेन्ट हन्ट’ गरेको छ । शुक्रवार वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा भएको ट्यालेन्ट हन्टमा ९० जना क्रिकेटरहरू सहभागी भएका थिए । जसबाट पहिलो चरणमा १५ जना खेलाडीलाई सर्टलिस्टमा राखिएको छ ।

सर्टलिस्टमा परेका १५ जनाबाट चार जना खेलाडी छानेर काठमाडौंमा हुने टिमको बन्द प्रशिक्षणमा सहभागी गराइने कर्णाली याक्सका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले जानकारी दिए । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने एक जनाले एनपीएल खेल्ने कर्णाली याक्सको टिममा सहभागी हुने अवसर पाउनेछन् ।

‘ट्यालेन्ट हन्ट’ का लागि कर्णाली याक्सका मुख्य प्रशिक्षक मल्लसहित मार्की खेलाडी सोम्पाल कामी, खेलाडीहरू गुल्शनकुमार झा, नन्दन यादव, देव खनाल, अर्जुन घर्ती, मौसम ढकाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिस बिक्रम ठकुरीसहितको टोली बिहीवार सुर्खेत आइपुगेको थियो । मुख्य प्रशिक्षक मल्लले प्रदेशका प्रतिभावान खेलाडीहरू छनोट गर्ने उद्देश्यले ट्यालेन्ट हन्ट गरिएको बताए । यसले कर्णालीका खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्ने उनको भनाइ थियो ।

कर्णाली याक्सको टिमले शुक्रवार नै पत्रकार सम्मेलनसमेत गरेको थियो । उक्त सम्मेलनमा पनि मल्लले कर्णाली याक्स एनपीएल खेल्नका लागि मात्रै नभएर कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै यहाँको क्रिकेट विकासमा दिर्घकालीन रूपमै काम गर्ने योजनासहित आएको बताए । तत्कालका लागि एनपीएलमा केन्द्रित भएपनि आगामी दिनमा कर्णालीको क्रिकेट र यहाँका स्थानीय खेलाडीहरूका लागि काम गर्ने उनको भनाइ थियो ।

 

प्रकाशित मितिः   १ मंसिर २०८१, शनिबार ०६:०२