प्रदेश कर्मचारी अभिलेखालय स्थापना गरिँदै
सुर्खेत: कर्णाली प्रदेश सरकारले प्रदेश कर्मचारी अभिलेखालय स्थापना गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर प्रदेश कर्मचारी अभिलेखालय स्थापना गर्न लागिएको हो ।
प्रदेश र स्थानीय तहका कर्मचारीको अभिलेख प्रणालीलाई व्यवस्थित गर्न प्रदेश कर्मचारी अभिलेखालय स्थापना गरिने जनाएको छ । अभिलेखालय स्थापना गरेसँगै संघीय निजामति किताब खानाले गर्ने सम्पूर्ण काम प्रदेशबाटै हुनेछ । यो वर्ष प्रदेशमा कर्मचारी अभिलेखालय स्थापना गरेर काम सुरु गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । अहिले मन्त्रालयले कर्मचारी अभिलेख शाखा स्थापना गरेर काम गरिरहेको मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुले बताए ।
अभिलेखालय स्थापना गर्न कर्मचारीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को काम अन्तिम चरणमा पुगेको सारुले जानकारी दिए । उनका अनुसार केही काम भने कार्यालयको कर्मचारी अभिलेख शाखाबाट भइरहेको छ । सारुले भने, ‘ गतवर्षबाट कर्मचारी अभिलेख शाखा स्थापना गरेर काम सुरु गरेका छौँ, यो वर्ष ओएनएम गरेर अभिलेखालय स्थापना गर्छौं ।’
कर्मचारीको तलबी प्रतिवेदन अन्तिम चरणमा
यसैबीच कर्णाली प्रदेश सरकारले कर्मचारीको तलबी प्रतिवेदन निर्माणको काम अन्तिम पुगेको जनाएको छ । प्रदेश निजामती सेवामा रहेका कर्मचारीहरूको प्रतिवेदन निर्माण भइरहेको हो ।
तलबी प्रतिवेदनले नै कर्मचारीको सेवा सुविधाबारे बजेट तय गर्न सहज हुनेछ । हालसम्म संघीय सरकारले तोकेका कार्यालयबाहेक अरु नयाँ कार्यालय निजामती किताब कारखानामा दर्ता छैनन् । प्रदेश सरकारले कर्मचारी संगठन तथा व्यवस्थापन (ओएनएम) गर्दा निजामती किताब खानामा प्रदेशका नयाँ कार्यालयहरू अहिलेसम्म दर्ता भएका छैनन् । प्रदेश मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूले खाएको तलब बेरुजु निकाल्दै आएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश अभिलेखालय स्थापना गरेर प्रदेशबाटै सबै काम गरिने जनाइएको छ । तर अभिलेखालय स्थापना हुन आवश्यक जनशक्ति छैन । अहिले ओएनएम गरेर अभिलेखालय स्थापना गर्न लागिएको छ । कार्यालयका सचिव आनन्द सारुले तलबी प्रतिवेदन पहिला संघीय निजामती किताबखानामा दर्ता हुनुपर्ने भएपनि हालसम्म नभएको उनले बताए । संघबाट समायोजन भएर आएका कर्मचारी भएकाले धेरै समस्या नभएको उनको भनाइ छ । ‘अब प्रदेशको अभिलेखालय बन्न सुरु भएको छ, प्रदेशको अभिलेखालयबाटै दर्ता हुनेछ,’ उनले भने ।
कर्मचारीलाई संकेत नम्बर प्रदान
गत आर्थिक वर्षदेखि कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत नम्बर (सिटरोल) प्रदान गर्न सुरु गरिएको छ । प्रदेश सरकारले गतवर्षदेखि वैयक्तिक विवरण फाराम प्रदान गर्न सुरु गरेको हो । प्रदेश लोकसेवाबाट सिफारिस प्रदेश निजामती कर्मचारीहरूको वैयक्तिक विवरण फाराम (सिटरोल) संकेत प्रदान वितरण गर्न थालिएको हो । प्रदेश सरकारका प्रमुख सचिव चुडामणी पौडेलले कर्णाली प्रदेश अभिलेख शाखा अद्यावधि रहने गरी निजामती कर्मचारीको वैयक्तिक विवरणको अद्यावधि कार्य मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको अभिलेख शाखाबाट सुरु गरिएको जानकारी दिए । स्थानीय कर्मचारीको हकमा निजामती किताब खानासँग कर्मचारी विवरण अनलाइनमा अद्यावधिक गर्न किताब खानालाई अनुरोध गरिएको पनि उनले बताए ।
कर्णाली प्रदेश निजामती कर्मचारी संघ, स्थानीय र प्रदेशमा जहाँ सरुवा–बढुवा भएपनि फरक नपर्ने गरी सिटरोल व्यवस्था गरिएको पौडेलले जानकारी दिए । यो कार्यले सरुवा–बढुवा, पेन्सनलगायत कार्यमा एकरूपता कायम हुने उनको भनाइ छ । पछिल्लो समय प्रदेश सरकारले कर्मचारीको वृत्ति विकास र क्षमता विकासका कार्यक्रममा समेत जोड दिएको छ । यो वर्षबाट कर्मचारी अभिलेखालय स्थापना गरेर कार्यान्वयनमा ल्याइनेछ ।
प्रकाशित मितिः २८ कार्तिक २०८१, बुधबार ०६:०६
साझा बिसौनी ।