स्कुले माया

जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना

 

के माग्छौ भनी कसैले सोधे म माग्थें बालापन
खुसहाल थियो अनुपम थियो त्यो मेरो बालापन ।

यशोदा पराजुलीको यो मीठो गीतले विगतमा डुबेको बालापन सम्झाइदिन्छ र तरल भएर मन द्रवीभूत हुन्छ । प्यारो नेवारेमा मनमौजी भइ विचरण गरेको, स्कुल पढेको, छुट्टीमा गोठाला गएको, समय परिस्थिति अनुसार घाँस–दाउरा बोकेको, पानी ओसारेको, शैसवकालमा खाइ–खेलेका र भोगेका तमाम यस्ता घटनाहरू कहिलेकाहीँ सम्झनामा भुर्लुक–भुर्लुक उम्लन्छन् ।

पछिल्ला दिनमा निजामती गाउँको पर्याय बनेको सुर्खेतको नेवारेमा बालापनको हाम्रो माया रोपिएको मात्र होइन, पाँच दसक भन्दा माथि उकालो चढेको उमेरले पनि नेवारेकै माटामा टेकेर जिम्मेवारी बोकिरहेको छ । मायाको डोरी चुटालेर टाढा जान किन किन मन मान्दैन, कहिलेकाहीँ काम विशेषले टाढा गए पनि सौंराइले भुतुक्क पार्छ र यही भूगोलको गुरुत्वले खिचिरहन्छ ।

लीलाराम गैरे, लोकप्रसाद ढकाललगायतका केटुला हामी छिमेकी दौंतरी मात्र होइनौँ, घनिष्ठ बालसखाहरू पनि हौँ । हाम्रा केही उटपट्याङ र बदमासीमा आधा हिस्सा मेरो भाग पर्न आउँथ्यो भने बाँकी अरुको भागमा पर्न जान्थ्यो । गैरे परमधाम भैसके, ढकाल मेरा स्कुले सहपाठी पनि हुन, हामीले सँगसँगै अक्षर फुटाल्न सुरु गरेका हौँ । कुनै माहोलमा केही प्रसंग उठ्दा हाम्रो मित्रताको बारेमा व्याख्या गर्दै ‘हामी त एक कक्षाबाट सँगसँगै पढेका’ भनी मैले भनाइ पूर्ण गर्दा–नगर्दै ढकालले उछिन्दै बोले, ‘होइन नि होइन, हामी त शीशु कक्षाबाट सुरु गरेको हो पढाइ ।’

हामीले विद्यार्जन गर्न कलिलो उमेरमा जर्बुटा निम्नमाध्यमिक विद्यालयमै पहिलो पाइला चालेका हौँ । त्यतिबेला यो स्कुल चनौटेको सिरानतिर थियो । चनौटे र नेवारे तत्कालीन दुई वडालाई पायक पारी अरु फराकिलो हुन र समृद्ध बन्न चनौटेबाट स्कुल हाम्रो घर–जग्गामा स¥यो । हामी पाँच मिनेट उत्तर नेवारेमा बसाई स¥यौं भने उमापति गौतम दाजु (भिनाजु) गाग्रेतालतिर जानुभयो । त्यसमानेमा यो विद्यालयसँग मेरो आत्मीय सम्बन्ध छ ।

जर्बुटा निम्न माध्यमिक विद्यालयबाट स्तरोन्नति भइ हाम्रो स्कुल अमरज्योति माध्यमिक विद्यालय भयो । कक्षा एक र दुईको मसिनो सम्झना छैन तर तीन कक्षादेखी दस कक्षासम्म निरन्तर श्रध्देय गुरु हरिबहादुर कोइरालाबाट ज्ञान खुराक पाउने एक भाग्यमानी शीष्य ठान्दछु आफुलाई । गुरुआमा हुनुहुन्थ्यो तुलसीदेवी श्रेष्ठ । उहाँको ममता गहिरो थियो । समादरणीय गुरुवरहरू धनप्रसाद देवकोटा, रविलाल धमला, डिलबहादुर ढकाल, सुन्दरमान श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, जुद्धकेशर खनाल, चक्रबहादुर केसी, यामलाल सापकोटा, सनतकुमार पाण्डे, तीर्थराज उपाध्याय, शिवनारायण बिसी, बेलप्रसाद शाक्य, लीलाराम सुवेदी, शक्ति पौडेल, कालीप्रसाद पाण्डे लगायतका उच्च व्यक्तित्वको ज्ञानगोचरले प्रभाव पारेको छ जीवनमा । स्कुलमा मात्र होइन म जागिरे भैसकेपछि पनि कहिले कसो भेट हुँदा, ‘काल कहाँबाट आउँछ अरे ?’ भनी मलाई नै इंगित गर्दै घरीघरी जिस्क्याउनु हुन्थ्यो गुरु डिलबहादुर ढकालज्यु । मलाई सम्झना छैन तर उहाँहरू भन्नुहुन्थ्यो मैले तीन कक्षामा पढ्दाका बखत रविलाल गुरुज्युलाई सोधेको प्रश्न रहेछ त्यो, सर काल कहाँबाट आउँछ ? विशाल हृदयका ती दुवै गुरुजन हुनुहुन्न दुनियाँमा, सम्झना मात्र छोडेर बैकुण्ठबासी हुनुभयो । जीवन भन्नू यस्तै रहेछ ।

अध्ययनका लागि अरु साथीहरू पनि बाहिरबाट जोडिन आए । तीन, चार, पाँच, हुँदै आठ कक्षासम्म जोडिए । किताब साटेर पढ्नु, गाइड खोसाखोस गर्नु, गृहकार्य नगरेका दिन भागेर टाप कस्नु । चित्त नबुझे आपसमा लडाइँ झगडा गर्नु र गुरुजनका लठ्ठीका सोहोरा खानु अभ्यस्त थियो जीवन । विगतका ती घटनाहरू फुर्सदमा उघारी हेर्दा रमाइलो लाग्छ । बर्खा र दसैँ तिहारमा लामो बिदा हुन्थ्यो, अन्तिमतिर साथी भाइसँग भेट्न मन निकै हतारिन्थ्यो । बिदा अगाडि मनमुटाव भएका केही साथीहरू पनि स्कुल खुलेपछि हात मिलाउँथे र हार्दिकता प्रकट गर्दथे । मेल मिलापका लागि कोही मध्यस्थकर्ताको केही जरुरी पर्दैनथ्यो । आफ्ना कक्षामा पढ्ने केटी साथीहरूसँग पनि झगडा त परिरहन्थ्यो, गुरुहरूबाट लठ्ठीको सजाय भोगे पनि बानी सुध्रदैनथ्यो । त्यति हुँदाहुँदै पनि तल्ला माथिल्ला कक्षाका केटा वा केटीहरूले हाम्रो कक्षाका केटीहरूलाई थोरै हेलाँहोँचो गरेको पनि मनले पटक्कै सहँदैनथ्यो, स्वीकार्दैनथ्यो साह्रै अपमानबोध हुन्थ्यो ।

एउटा घटना स्मरणमा छ, कुनैकुनै शुक्रबार कोठा लिप्नुपथ्र्यो । गोबर ओसार्ने काम केटाहरूको हुन्थ्यो । नजिकै खोलामा सङ्लो पानी कलकल बगिरहन्थ्यो । हामी गोबर खोज्न गाउँमा तँछाडमछाड दौडन्थ्यौं, किनकि तल्ला र माथिल्ला कक्षाका केटाहरू पनि गोबरकै खोजीमा निस्कन्थे । चोरेरै होकि न किन हो हाम्रा केटीहरूलाई अर्को कक्षाबाट गोबर चोरेको आरोप लाग्यो । हामी गयौं झाँको झार्न । भर्खरै लिपेको कक्षा कोठा जुत्ता चप्पलले टेकेर जानाजान भत्काइदिए भन्दै हामीलाई पनि आरोपित गरियो । कहिलेकाहीँ त झगडामै बर्बाद हुन्थ्यो समय ।

पढाइ त सात घण्टीसम्म हुन्थ्यो तर आफूमा लगनशीलता र धैर्यताको थोरै अनिकाल थियो । खेलप्रेमी साथीहरू फूटबल, भलिबल र क्यारेमबोर्डमा आकर्षित हुन्थे तर हाम्रो कक् फाइट र किक् फाइट नै रुचिकर थियो । एउटा खुट्टा पछाडि मोडेर अर्को हातले समाउनु पथ्र्यो । बाँकी हातले आफ्नो कठालो समाई एक खुट्टाले टेकेर कुमले हान्नुपर्ने हुन्थ्यो । त्यसरी हान्दा अर्को विपक्षलाई ढालियो वा दुबै खुट्टा टेक्न बाध्य पारियो भने बाजि जितेको मानिन्थ्यो । किक हान्न पनि खेलको मजा छुट्टै हुन्थ्यो र यसमा आफ्नो विशेष जाँगर चल्थ्यो । चप्पल हातको पञ्जामा घुसारिन्थ्यो, ताकि विपक्षीको प्रहार छेक्दै मुकाविला गर्न सकियोस् । चार पाँचजना एकतर्फ र एक्लै म अर्कोतर्फ हुँनेसम्मको सहमतिमा पनि साथीहरू सहर्ष खेल्न मान्दैनथे ।

 

एकदिन मध्यान्तरको छुट्टिमा शिवप्रसाद रेग्मीले अकस्मात मसँग पहिलोपटक किक् खेल्ने प्रस्ताव गरे । मलाई झन् अरु के चाहियो, जे खोजेको हो, त्यही पाइयोजस्तै भयो । हामी जुटिहाल्यौं आपसी अन्धाधुन्धा प्रहारमा । राम्ररी सम्हालिन नपाउँदै रेग्मीले प्रहार गर्दा मर्मस्थलमा लागेर म ढलेँ मूर्छित भएँ । होसमा आउँदा प्रशासनिक कक्षमा थिएँ । आमा आत्तिएर स्कुलमै आउनु भएको थियो, साथीहरूको मद्यतले घर गएँ । लडेर तँ कहिल्यै नथाक्ने भइस् मलाई रुवाउन जन्मेको रहेछस् भनि आमाले राति रुँदै गाली गर्नुभयो । आमाछोरा मात्रैको परिवार थियोे हाम्रो । आमा रोएपछि म पनि पग्लिएँ धरधरी, शिखाको तापले पग्लिन्छनी मैन, हो त्यस्तै । जुध्ने गोरुको सिङ फुक्लन्छ भने झैं त्यसपछि किक् खेल्न चुटुक्कै । रेग्मी भोलिपल्ट स्कुलमै आएनन् पर्सिपल्ट आए । मैले जानाजान हानेको होइन मनमा नराख्नु है साथी, रेग्मीले त्यसो भनेपछि हामीले हाँसेर हात मिलायौं ।

हाइस्कुल पास भएपछि अब उच्च शिक्षा, नोकरी र व्यवसायका लागि छिन्नभिन्न बिथोलिएर छुट्टाछुट्टै यात्रा तय गर्नुपर्ने भयो ।

स्कुल सरहद भित्रको रामरमाइलो छुट्यो, छाति भरीभरी माया खाँदिएको भए पनि भौतिक सम्बन्ध टुट्यो । वर्णमाला किताब बोकेर बाल्यकालदेखि पवित्र विद्याको मन्दिरमा पसेका हामी वयस्क उमेर लिएर निस्केका थियौँ, एउटा काल्पनिक चलचित्र जस्तै । बर्खाको लामो बिदापछि आपसमा भेट्न व्यग्र भैरहने मन वर्षौंवर्षसम्म तिर्खाए पनि परिस्थितिले टाढा टाढै धकेल्यो । आज समयले स्कुलका सबै गुरुहरू बदल्यो, विद्यार्थी बदल्यो र बदल्यो स्कुलको पूरापूर नक्सा । पुरानो मेटेर नयाँ सिर्जना गर्नु नै त परिवर्तन रहेछ । परिवर्तनले सबैलाई सुविधा दिएको छ, बदलामा पहिचान पनि खोसिरहेको छ ।

गत असोजको तेस्रो साता एकदिन बिहानी भ्रमणका क्रममा एकजना स्कुले साथीसँग भेट भयो । त्यही मेसोमा चिया पिउँदै हामी गफियौं ।
‘समय अनुकूल पारेर हाम्रा ब्याचका स्कुले साथीहरूसँग भेटघाट कार्यक्रम राखौंन यार !’ शिव वस्त्रालयका मालधनी शिव रेग्मीले भने ।

‘दुई वर्ष अगाडि खगेन्द्र भट्टराई, पूर्ण भट्टराई र लोकप्रसाद ढकालसँग सामुहिक भेट भएको थियो । त्यतिबेला पनि खगेन्द्रको यस्तै प्रस्ताव आयो । अहिलेसम्म अनुकूल परेको छ कि छैन कुन्नी’ मैले भनेँ ।
‘खगेन्द्रसँग मेरो पनि कुरा भएको छ, अब गरौँ न ।’

‘गरौँ भने तुरुन्तै गरौँ, दसैँ–तिहारकै बीचमा गरौँ । नत्र उही ताल हुन्छ ।’

स्कुले साथीभाइको भेटघाटलाई कार्यक्रमकै रूप दिनु भन्दा पनि पहिला थालनीलाई नै प्राथमिकतामा राख्ने सहमति भयो हाम्रो ।

कृष्णप्रसाद सापकोटा सुर्खेत आएको मौका छोपेर असोज २८ गते रेग्मीले हामी तत्काल उपस्थित हुनसक्ने साथीहरूलाई सम्पर्क गरे बमोजिम गोविन्दप्रसाद ढकाल, शिवप्रसाद रेग्मी, पूर्णप्रसाद भट्टराई, होमलाल भण्डारी, कृष्णप्रसाद सापकोटा, लालबहादुर खड्का, लोकप्रसाद ढकाल, श्यामलाल पौडेल, म उमालाल आचार्य, रुद्रप्रसाद ढकाल, डम्बरप्रसाद सुवेदी र खगेन्द्र भट्टराई १२ जना साथी शिव वस्त्रालमा बेलुका सामेल भयौँ ।

दसैँ शुभकामनासहित स्कुले मायाको हार्दिकता प्रकट ग¥यौँ ।

उपस्थित साथीहरू सबैसँग ठाँउठाउँमा मेरो त बाक्लो–पातलो भेटघाट भैरहन्थ्यो, तर पूर्ण भट्टराई, कृष्ण सापकोटा र लालहादुर खड्काले रुद्र ढकाल र डम्बर सुवेदीलाई पटक्कै चिन्न सकेनन् । चिनजानलाई पुनर्ताजगी गर्नुप¥यो । समयको जंघार तरेर, एउटा युग पार गरेर हामी ४० वर्षपछि भेटिएका थियौँ । हामीले सुख दुःख साट्यौँ, अनुभव साट्यौँ र साट्यौँ भावना पनि । स्कुले मायाको यो पुनर्मिलनले मन मस्तिष्क उद्वेलित बनायो । चार दशकको अन्तरालमा भेरी नदीमा कति पानी बग्यो होला ! तर बगेको रहेनछ माया, डुबेको रहेनछ सम्झना । रसिला बात गर्ने चाहना हुँदाहुँदै पनि अँध्यारो झन् छिप्पिदै आएको कारण अब उप्रान्त भेटघाटलाई कार्यक्रमको रूप दिइ साथीहरूलाई जोड्दै समेट्ने र अरु सघन बनाउने अठोटका साथ बिदाबारी भयौँ ।

जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना !

 

-उमालला आचार्य

प्रकाशित मितिः   ३ कार्तिक २०८१, शनिबार ०५:०४