चट्याङले सताएको गाउँ

बर्सेनि जान्छ ज्यान, बसाइँ सर्दै स्थानीय

 

सुर्खेत: शनिवार साँझ चट्याङ पर्दा दैलेखमा पाँच जना घाइते भए । महावु गाउँपालिका–२ डुम्रीका खड्कबहादुर सुनारको घरमा चट्याङ प¥यो । चट्याङले उनका छोरा २३ वर्षीय नगेन्द्र सुनार, २९ वर्षीय डिलबहादुर सुनार र उनका भाइका छोरा नौ वर्षीय महेश सुनार घाइते भए ।

यस्तै चट्याङकै कारण भगवतीमाई गाउँपालिका–१, गन्म राकका २६ वर्षीय रेमश थापा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गुराँस गाउँपालिका वडा नं. ३ टोटेपोखराकी १४ वर्षकी बाटुली शाही पनि घाइते भएकी छन् । घाइते पाँच जनामध्ये एक जनाको अवस्था सामान्य रहेको छ भने चार जनाको उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए । उनका अनुसार घरहरूमा पनि क्षति पुगेको छ ।

कर्णालीका अन्य जिल्लाभन्दा दैलेखमा चट्याङका घटना धेरै हुने गरेका छन् । जसबाट मानवीय र धनजनको क्षति हुने गरेको छ । गत वर्ष मात्रै दैलेखको महावु गाउँपालिकामा चट्याङ परेर दुई जनाले ज्यान गुमाए भने ५० जनाभन्दा बढी घाइते भएका थिए । २०८० भदौ २८ मा महावु–१ खरिगैरामा चट्याङ पर्दा एक जनाको मृत्यु भयो । ४२ वर्षीय भुमिसरा खत्रीको मृत्यु भएको हो । त्यसैगरी २०८० असोज १ गते चट्याङ लागेर महावु गाउँपालिका–३ बासीका १६ वर्षीय किशोर दाहालको मृत्यु भएको थियो । यो पालिकामा मात्र गत वर्षमा दुई जनाले चट्याङबाट ज्यान गुमाउनुपर्‍यो ।

बर्सेनि चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि महावु गाउँपालिकाका बासिन्दा त्रसित हुने गरेका छन् । हरेक वर्ष चट्याङका कारण मानिसहरूले ज्यान गुमाउनु परिरहेको महावु गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रकाश थापाले बताए । यो वर्ष मात्र वडामा चार÷पाँच पटक चट्याङ परिसकेको उनले जनाए । शनिवार साँझ वडाका तीन जना घाइते भएको र प्रदेश अस्पतालमा उपचार भइरहेको थापाको भनाइ छ ।

पछिल्लो समय चट्याङका घटनामा वृद्धि भएको महावुकै वडा नं. २ का ८१ वर्षीय दलबहादुर गुरुङ बताउँछन् । ‘चड्केनीले मानवीय क्षति नभएको वर्ष नै छैन,’ उनले भने, ‘यो गाउँ चट्याङ पर्ने गाउँको रूपमा परिचित छ । पछिल्लो समय गाउँका मानिस त्रासमा छन् ।’ चट्याङबाट बच्ने कुनै उपाय नभएपछि गाउँलेहरू मेघगर्जन सुरू हुनासाथ घरभित्र बस्ने गरेको समेत गुरुङले जनाए ।

चट्याङबाट बर्सेनि क्षति हुने गरे पनि किन चट्याङ पर्छ र कसरी जोगिने भन्नेबारे स्थानीयलाई थाहा छैन । न त कसैले यसबारे उनीहरूलाई सम्झाएको छ । यस्तो प्राकृतिक विपत्तिमा पर्नेलाई राज्यले क्षतिपूर्तिसमेत निकै न्यून दिने गरेकोे छ । चट्याङको पीडा खेप्न नसकेको गाउँका झण्डै एक दर्जन परिवार बसाइँसराइ गरेको स्थानीयहरू बताउँछन् ।

कर्णाली प्रदेशभर विगत चार वर्षमा चट्याङ लागेर २२ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको चार वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष चट्याङका घटना बढिरहेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा चट्याङ परेर सात जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ६ जनाको मृत्यु भयो । त्यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा तीन जनाको मृत्यु भयो भने आर्थिक वर्ष २०८०÷०८१ मा ६ जनाको मृत्यु भयो । चालु आर्थिक वर्षको हालसम्ममा चट्याङ परेर एक जनाको ज्यान गएको छ । प्रदेशमा मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ ।

 

सतर्कता कम

चट्याङले बर्सेनि क्षति पु¥याउने गरेको भएपनि तीन तहकै सरकारले चट्याङसम्बन्धी कुनैपनि चासो दिएको पाइदैन । फाट्टफुट्ट प्रदेशभरीबाटै यसरी आएका क्षति विवरण एक ठाउँमा राख्ने हो भने, चट्याङ विपद् निकै भयावह छ । यसले पु¥याउने क्षति अन्य विपद्को भन्दा कम छैन । तैपनि तुलनात्मक रूपमा चट्याङको पूर्वतयारी र सुरक्षाका विधिलाई सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन ।

प्रकाशित मितिः   ११ भाद्र २०८१, मंगलवार ०६:००