निर्वाचन क्षेत्र रणनीतिक सडक: निर्माणमा ढिलाइ, दश महिना म्याद थप
सुर्खेत: पश्चिम सुर्खेतमा निर्माणाधिन निर्वाचन क्षेत्र रणनीतिक सडक स्तरोन्नतिका लागि म्याद थप गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं. ३ मा निर्माण भइरहेको खम्बागाडे–बाबियाचौर–गुटु सडक निर्माणका लागि दश महिना म्याद थप गरिएको हो । २०७८ चैत २४ गतेदेखि उक्त सडक स्तरोन्नतिको काम थालिएको थियो । भिमेश्वर खड्का जेभी नेपालगञ्जसँग सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का सम्झौता गरी काम अघि बढाएको हो । दश किलोमिटर सडक निर्माणका लागि काम अघि बढेको छ ।
२०८१ वैशाख ४ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको थियो । तोकिएको समयअवधिमा काम सम्पन्न हुन नसकेपछि म्याद थपिएको सडक डिभिजन कार्यालयले जनाएको छ । अहिले २०८१ फागुनसम्म म्याद थप गरिएको कार्यालयका इन्जिनियर अशोक चौधरीले बताए । उनका अनुसार दश महिना म्याद थपिएको हो । १८ करोड ९० लाखमा कामको ठेक्का सम्झौता गरिएको हो । हालसम्म सडक स्तरोन्नतिको ४८ प्रतिशत भौतिक प्रगति भएको छ भने ४८ प्रतिशत नै वित्तीय प्रगति हासिल भएको छ । दश किलोमिटर सडक स्तरोन्नतिका ८० प्रतिशत नाला निर्माणको काम सकिएको इन्जिनियर चौधरीले बताए । उनका अनुसार साढे दुई किलोमिटर सडकको काम नै सुरु गरिएको छैन ।
रूख कटानका लागि वनको अनुमति नहुँदा उक्त स्थानमा काम हुन नसकेको जनाइएको छ । करिब सात किलोमिटर सडकमा सव–वेसको काम सकिएको छ । अब भने कालोपत्रेको काम बाँकी रहेको इन्जिनियर चौधरी बताउँछन् । उनले भने, ‘साढे दुई किलोमिटरमा काम हुन सकेको छैन, अन्य स्थानमा सव–वेसको काम सकिएको छ भने ८० प्रतिशत नाला निर्माणको काम सम्पन्न भयो ।’ तोकिएकै मितिमा काम सक्न निर्माण कम्पनीलाई ताकेता गरिएको समेत उनले बताए ।
काममा ढिलाइ
निर्माण कम्पनीको ढिलासुस्ती र बजेट अभावका कारण सडक स्तरोन्नतिको काम ढिलाइ भइरहेको छ । सरकारले बर्सेनि रूपमा न्यून मात्र बजेट विनियोजन गर्ने गरेको छ । सडक स्तरोन्नतिको काम थालिएको तीन वर्षमा ४८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पछिल्लो समय दश महिना म्याद थपिएको छ । बजेट न्यून हुँदा कामको गति पनि सुस्त रहेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा सरकारले एक करोड मात्र बजेट विनियोजन ग¥यो । जसले गर्दा कामको भुक्तानी दिन समेत समस्या भएको कार्यालयका इन्जिनियर चौधरीले बताए ।
अर्थ मन्त्रालयसँग बजेट माग गरिएको भएपनि उपलब्ध भएन् । बर्सेनि न्यून मात्र बजेट विनियोजन हुनेगरेको उनले बताए । बजेट अभावले काम अघि बढाउन समस्या हुने गरेको चौधरीको भनाइ छ । चालु आर्थिक वर्षमा सरकारले तीन करोड ६० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटसमेत निर्माण कम्पनीलाई भुक्तानी दिन अपुग हुने कार्यालयले जनाएको छ ।
तीन वर्षमा काम सक्ने लक्ष्य अधुरै
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २१ चैत २०७७ मा बालुवाटारमा एक औपचारिक कार्यक्रम गरेर एक सय ६५ वटै निर्वाचन क्षेत्रलाई दुई लेनको रणनीतिक सडकको शिलान्यास गरेका थिए । यी सडक तीन वर्षभित्र निर्माण हुने लक्ष्य थियो । आर्थिक वर्ष २०८०/०८१ सालभित्र सकिने गरी काम सुरु गरिएको भएपनि अधिकांश सडक अधुरै छन् । यी सडक अन्तरजिल्ला, सदरमुकाम र राजमार्गसँग जोडिने भएकाले रणनीतिक महŒव राखिएको छ । न्यून बजेट विनियोजन हुनु, निर्माण कम्पनीको लापरबाही लगायतका कारण निर्वाचन क्षेत्र रणनीतिक सडक योजना प्रभावकारी बन्न सकेको छैन । कतिपय सडकको कामसमेत सुरु हुन सकेको छैन ।
प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार ०५:०५
साझा बिसौनी ।