१३२ केभिए प्रसारण लाइनः ६ हजार रुख काट्न विभागको अनुमति
सुर्खेत: कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइनअन्तर्गत पर्ने रूख कटानको अनुमति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ हजारभन्दा बढी रूख कटानको अनुमति दिएको हो ।
यसअघि नै राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार आठ सय रूखमा छपान गरिएको थियो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख विद्युत विस्तार क्षेत्रमा पर्ने भएकाले कटान गर्न लागिएको हो । साउन १६ गते विभागले रूख कटानको अनुमतिको पत्र दिएको आयोजना प्रमुख रवि चौधरीले बताए । अहिले रूख कटान आदेशको पत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पेस गरिएको छ । अब निकुञ्जले रूख कटानको स्वीकृति दिएपछि मात्र कटान सुरु हुनेछ । यो अनुमतिसँगै विद्युत विस्तारको काम रफ्तारमा अघि बढ्नेछ ।
बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय ९१ र बर्दिया राष्ट्रिय निकुञ्जमा तीन हजार तीन सय २० रूख कटानका लागि विभागले अनुमति दिएको हो । २०७९ असार १५ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान आदेश दिएको थियो । सोही आदेश अनुरूप रूखमा छपान गरी कटानको प्रक्रिया अघि बढाइएको छ । रूखमा चिनो लगाएको करिब दुई महिनापछि आयोजनाले रूख कटानका लागि स्वीकृति पाएको हो । अहिले दुई वटा राष्ट्रिय निकुञ्जमा रूख कटान अनुमतिको फाइल पेस गरिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख चौधरीले भने, ‘अबको केही दिनमा रूख कटानको काम सुरु हुन्छ, अहिले विभागले अनुमति दिएसँगै बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा फाइल पेस गरेका छौँ । निकुञ्जले स्वीकृति दिनेवित्तिकै काम सुरु हुन्छ ।’
विद्युत विस्तारमा मुख्यमन्त्रीको चासो
प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पनि सरकारको नेतृत्व सम्हालेलगत्तै एक सय ३२ केभिए प्रसारण लाइन विस्तार योजनामा चासो दिएका थिए । प्रशारण लाइन विस्तारलाई अघि बढाउन विभिन्न क्षेत्रसँग छलफलसमेत गरेका थिए । केही दिन अघि मात्र निकुञ्जभित्रको रूख कटान समस्याको बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगानासहितको टोलीसँग मुख्यमन्त्री कँडेलले छलफल गरेका थिए । उनले रूख कटानको प्रक्रियालाई सहज बनाइदिन आग्रह गरेका थिए ।
विभागका निर्देशक ढुंगानाले छपानको लागि फाइल स्वीकृत गरिसकेको जानकारी गराएका थिए । साथै उनले रूख कटानको अनुमतिको लागि तत्कालै सहजीकरण गर्ने प्रतिबद्वता पनि जनाए । अबभने निकुञ्जभित्रको समस्या समाधान भएको मुख्यमन्त्री कँडेलले बताए । अन्य क्षेत्रमा देखिएको विवादबारे छलफल गरिने उनको भनाइ छ । अब गाभरमा रहेको जग्गा विवादलगायतका समस्यामा केन्द्रित भइ छिट्टै नै कर्णालीलाई एक सय ३२ केभिए प्रसारण लाइनमा जोड्न पहल गरिने मुख्यमन्त्री कँडेलको भनाइ छ ।
जग्गा विवाद कायमै
आयोजना स्थलमा जग्गा विवाद भने कायमै रहेको छ । अहिलेसम्म विवाद समाधान हुन सकेको छैन । विद्युत लाइन विस्तार गर्दा बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । त्यहाँका स्थानीयले आयोजनाविरुद्ध उच्च अदालत बाँकेमा मुद्दा दर्तासमेत गरेका छन् । उक्त स्थानमा कुनै पनि काम हुनसकिरहेको छैन ।
७० प्रतिशत भौतिक प्रगति
हालसम्म विद्युत प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । एक सय २५ वटा फाउन्डेसन निर्माण गरिएको छ । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सव–स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाइएको छ
प्रकाशित मितिः २४ श्रावण २०८१, बिहीबार ०५:०५

साझा बिसौनी ।