प्रदेश सरकार पुनर्गठन हुने: बाहिरियो माओवादी, कांग्रेसको प्रवेश कहिले ?

सुर्खेत: नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । राजनीतिक समीकरण बदलिएर केन्द्रमा नयाँ सरकार बनिसकेपछि प्रदेशबाट पनि माओवादी बाहिरिएको हो । माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले सोमवार मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका हुन् ।
यसअघि नेकपा (एमाले) र माओवादीसहितको गठबन्धनबाट कर्णाली प्रदेश सरकार गठन भएको थियो । एमाले संसदीय दलका नेता मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारमा माओवादीका चार जना मन्त्री सहभागी थिए । आर्थिक मामिला तथा योजनामन्त्रीमा महेन्द्र केसी, सामाजिक विकासमन्त्रीमा वीरबहादुर शाही, ऊर्जा तथा जलस्रोतमन्त्रीमा रणसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत थिए । गत वैशाख १८ गते मन्त्री नियुक्त भएका चारै जनाले सोमवार संयुक्तरूपमा राजीनामा दिएका हुन् ।
राजीनामा पत्र बुझ्दै मुख्यमन्त्री कँडेलले माओवादीसँगको छोटो अवधिको सहकार्य सहज भएको प्रतिक्रिया दिएका छन् । ‘छोटो समय भएपनि उहाँहरूसँगको सहकार्य सहज नै रह्यो’ कँडेलले भनेका छन्, ‘मन्त्रीपरिषद् सदस्यको रूपमा उहाँहरूले पु¥याउनु भएको योगदानको लागि हार्दिक धन्यवाद ।’ साथै उनले सरकारमा नरहे पनि सहयोग र सहकार्य हुने बताएका छन् । ‘कर्णालीको विकास र समृद्विमा आगामी दिनहरूमा पनि साथ, सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्दछु’ कँडेलको भनाइ छ ।
एमाले–माओवादी गठबन्धनको सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेटसमेत ल्याइसकेको छ । उक्त बजेट प्रदेशसभाबाट पारितसमेत भइसकेको छ । तर अब बजेट कार्यान्वयनको जिम्मेवारी भने एमाले र कांग्रेस समीकरणको सरकारले पाएको छ । कँडेल नेतृत्वकै सरकारमा कांग्रेसलाई सहभागी गराउने तयारी गरिएको छ । गठबन्धन दलबीच कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिने आन्तरिक सहमति भइसकेको छ । नयाँ समिकरणपछि पनि आफ्नै सरकारले निरन्तरता पाउने मुख्यमन्त्री कँडेलले बताएका छन् । यद्यपि, सरकारमा कांग्रेसको सहभागिता कहिले हुन्छ भन्ने टुँगो लागिसकेको छैन । उनले प्रदेश सरकारको नेतृत्वमा आफूले नै निरन्तरता पाउनेमा ढुक्क रहेको र पुनर्गठनको विषयमा भने केन्द्रको निर्णय कुरिरहेको जनाए । केन्द्रीय नेतृत्वबाट सहमति पाएलगत्तै मन्त्रीमण्डल विस्तार गरिने कँडेल बताउँछन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले सरकारमा जाने विषयमा टुँगो नलागिसकेको जनाए । विष्टले भने, ‘संघमा नयाँ समिकरणको सरकार बनिसकेकाले त्यसको प्रभाव स्वाभाविक रूपमा प्रदेशमा पर्छ, माथिबाट के निर्देशन आउँछ, सोही अनुसार कांग्रेसले धारणा बनाउँछ, अहिले कुनै सहमति भएको छैन ।’ उनले केन्द्रको समीकरण अनुुसार नै आफूहरू अघि बढ्ने तर अहिले नै यो विषयमा छलफल नभएको जनाए । विष्टले पनि अहिलेसम्म केन्द्रको निर्णय कुरेर बसेको बताए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले सोमवार नै प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । अब मुख्यमन्त्री कँडेलले कांग्रेसलाई सरकारमा सहभागी गराएर प्रदेशसभाबाट पुनः विश्वासको मत लिनेछन् ।
प्रकाशित मितिः ८ श्रावण २०८१, मंगलवार १०:१८
साझा बिसौनी ।