प्रदेश सरकार पुनर्गठन अनिश्चित
सुर्खेत: केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेपछि कर्णाली प्रदेश सरकार फेरबदलको टुँगो भने लागेको छैन । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रदेशहरूको भागबण्डा टुँगो नलाग्दा कर्णालीमा अहिले पनि एमाले र माओवादी नेतृत्वको सरकार कायमै छ ।
गठबन्धन फेरिएसँगै प्रदेश सरकार पनि पुनर्गठन हुने छ । माओवादी केन्द्र सरकारबाट बाहिरिने छ भने कांग्रेस सरकारमा सहभागी हुनेछ । गठबन्धन दल एमाले र कांग्रेसबीच कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिने आन्तरिक सहमति भइसकेको छ । तर कांग्रेस कहिलेसम्म सरकारमा जान्छ भन्ने टुँगो लागेको छैन । नयाँ समिकरणपछि पनि आफ्नै सरकारले निरन्तरता पाउने मुख्यमन्त्री यामलाल कँडेलले बताए । उनले प्रदेश सरकारको नेतृत्वमा आफूले नै निरन्तरता पाउनेमा ढुक्क रहेको र पुनर्गठनको विषयमा भने केन्द्रको निर्णय कुरिरहेको जनाए ।
केन्द्रीय नेतृत्वबाट सहमति पाएलगत्तै मन्त्रीमण्डल विस्तार गरिने कँडेल बताउँछन् । उनले भने, ‘माओवादीका साथीहरूले राजीनामा दिनुभएको छैन, माथिबाट पनि त्यस्तो कुनै निर्णय आएको छैन, मेरै नेतृत्वको सरकारले निरन्तरता पाउँछ, काम भइराखेकै छ ।’ केन्द्रको निर्णय र माओवादीका मन्त्रीले राजीनामा दिएमात्र सरकार पुनर्गठन गरिने उनले जानकारी दिए ।
केन्द्रमा नयाँ सत्ता समिकरण अनुसारको सरकार बनेपनि प्रदेशमा भने कुनै निर्णय भएको छैन । सत्ता साझेदार दल नेपाली कांग्रेससँग पनि यस विषयमा कुनै छलफल समेत नभएको मुख्यमन्त्री कँडेलले बताए । ‘प्रदेशमा सरकार फेरबदल संघमा सत्ता गठबन्धनले जे गर्छ त्यही अनुसार हुने हो’ उनी भन्छन्,‘सरकार पुनर्गठनबारे अहिलेसम्म केही निर्देशन आएको छैन । पहिले पनि संघमा सत्ता गठबन्धनले गरेको निर्णय अनुसारै प्रदेशमा सरकार बनेको छ । अहिले पनि त्यही हुन्छ ।’ सरकार फेरबदलले प्रदेश सरकारको काममा कुनै बाँधा नभएको समेत उनले बताएका छन् ।
गठबन्धन दल एमाले र कांग्रेसबीच कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिने आन्तरिक सहमति भइसकेको छ । तर कांग्रेस कहिलेसम्म सरकारमा जान्छ भन्ने टुँगो लागेको छैन ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताए । संघीय सरकारमा फेरबदल आएपनि प्रदेशमा भने यस विषयमा कुनैपनि छलफल नै नभएको उनको भनाइ छ । विष्टले भने,‘संघमा नयाँ समिकरणको सरकार बनिसकेकाले त्यसको प्रभाव स्वाभाविक रूपमा प्रदेशमा पर्छ, माथिबाट के निर्देशन आउँछ, सोही अनुसार कांग्रेसले धारणा बनाउँछ, अहिले कुनै सहमति भएको छैन ।’ उनले केन्द्रको समीकरण अनुुसार नै आफूहरू अघि बढ्ने तर अहिले नै यो विषयमा छलफल नभएको जनाए । विष्टले पनि अहिलेसम्म केन्द्रको निर्णय कुरेर बसेको बताए ।
केन्द्रको निर्णय नआउनेबेलासम्म प्रदेशमा माओवादीले पनि सरकार नछाड्ने भएको छ । नेकपा (माओवादी केन्द्र )कर्णाली प्रदेश दलको प्रमुख सचेतक कृष्णबहादुर जिसीले केन्द्रको निर्णय नआएकाले माओवादीले तत्काल सरकार नछाड्ने बताए । माओवादीबाट मन्त्री बनेकाहरूले अहिले नै त्यो विषयमा निर्णय नभएकाले तत्काल सरकार नछाड्ने बताइएको छ । उनले भने,‘अहिलेसम्म केन्द्रबाट कुनैपनि निर्णय आएको छैन, केन्द्रको निर्णय आएपछि प्रदेशमा माओवादीले सरकार छाड्छ ।’
माओवादीबाट प्रदेशमा चार मन्त्री छन् । माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा बीरबहादुर शाही, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रनसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गबहादुर रावत मन्त्री भएका छन् । केन्द्रमा सत्ता फेरिएपनि प्रदेशमा भने उनीहरूले काम गरिरहेका छन् ।
प्रकाशित मितिः २ श्रावण २०८१, बुधबार ०९:३३
साझा बिसौनी ।