सामाजिक विकास मन्त्रालय

कार्यक्रम धेरै, बजेट न्यून

चालु आर्थिक वर्षको तुलनामा ४२ करोड बजेट घटाइएको छ

सुर्खेत: आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका महŒवपूर्ण कार्यक्रम कटौती हुने भएका छन् । वार्षिक बजेट कटौती भएपछि कार्यान्वयन गर्नुपर्ने योजना र कार्यक्रम पनि कटौती गर्नुपर्ने भएको हो ।

आर्थिक वर्ष २०८१÷०८२ का लागि करिब ४२ करोडले मन्त्रालयको बजेट घटाइएको छ । प्रदेशसभामा पेस गरिएको बजेटमा सामाजिक विकास मन्त्रालयलाई आगामी वर्षका लागि पाँच अर्ब ७२ करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा ६ अर्ब १४ करोड विनियोजन गरिएको थियो । ठूलो मात्रामा बजेट कटौती भएपछि सामाजिक क्षेत्रका कार्यक्रम कार्यान्वयन हुने छैनन् । जनताका आधारभूत आवश्यकतासँग जोडिएको मन्त्रालय भएकाले धेरै कार्यक्रम सामाजिक क्षेत्रका हुने गरेका छन् ।

आगामी वर्षमा निकै महŒवपूर्ण मानिएका कार्यक्रमसमेत कटौती गर्नुपर्ने बाध्यता बनेको मन्त्रालयका प्रवक्ता वृषबहादुर शाहीले बताए । उनका अनुसार सेवा क्षेत्र धेरै भएको मन्त्रालयको ठूलो मात्रामा बजेट कटौती गरिँदा कार्यक्रम कार्यान्वयन गर्न समस्या हुनेभएको हो । ‘मन्त्रालयको ४२ करोड बजेट घटाइएको छ,’ उनले भने, ‘मन्त्रालयका सेवा क्षेत्र धेरै छन्, कार्यक्रम पनि बढेका छन् तर बजेट घटाइँदा योजना कटौती गर्नुपर्ने भएको हो ।’

 

मन्त्रालयका मुख्य प्राथमिकताका क्षेत्र

बजेटमा मन्त्रालयले सामाजिक क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । बालमैत्री, छाउपडीमुक्त, छुवाछुतमुक्त, बालविवाहमुक्त लगायतका विषय प्राथमिकतामा परेका छन् । दलित, पछाडि परेका वर्ग, लोपोन्मुख तथा सीमान्तकृत वर्ग र समुदायलाई सशक्तीकरण गर्न अनौपचारिक शिक्षा तथा व्यावसायिक तालिम प्रदानगरी जीविकोपार्जन र आय आर्जनका कार्यक्रमसमेत सञ्चालन गर्ने योजना मन्त्रालयको रहेको छ ।

यसैगरी सीमान्तकृत समुदाय एवम् जोखिममा रहेका बालबालिकाको संरक्षण तथा शैक्षिक विकास सहयोगलगायत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका कार्यक्रम परिमार्जनसहित सञ्चालन गर्ने जनाइएको छ । उद्यमी महिलाहरूलाई प्रोत्साहन गर्नका लागि एक जिल्ला एक उद्यमी महिला प्रोत्सालहन कार्यक्रम हुनेछ ।

‘कर्णालीको साझा सन्देशः बालविवाह, छाउपडी र छुवाछुतमुक्त प्रदेश’ लगायतका कार्यक्रम राखिएको छ । विकृतिपूर्ण सामाजिक तथा सांस्कृतिक मान्यताको अन्त्य गर्न प्रदेश प्रमुख सामाजिक सशक्तीकरण कार्यक्रमलाई अभियानको रूपमा मन्त्रालयले सुरु गर्ने भएको छ । लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको उद्दार, संरक्षण र पुनस्र्थापनाका लागि प्रदेशस्तरमा दीर्घकालीन पुनस्थापना केन्द्र स्थापनाका कार्यक्रम राखिएको छ ।

शिक्षा क्षेत्रमा न्यून मात्र बजेट विनियोजन हुनेगरेकोमा आगामी वर्ष थप शिक्षाका कार्यक्रमसमेत कटौती हुने देखिएको छ । मन्त्रालयका शिक्षा शाखा प्रमुख वलवीर सुनारले बजेटमा शिक्षा क्षेत्र उपेक्षामा पर्ने गरेको जनाए । उनले भने, ‘यो वर्ष बजेट कटौती भएपछि शिक्षाका कार्यक्रममा समेत असर पर्नेछ । नयाँ कार्यक्रमको सुरुवात गर्न समस्या हुन्छ ।’

 

मन्त्रालयले चालु वर्षमा गरेका काम

मन्त्रालयले यो वर्ष प्रदेश रंगशाला निर्माण र प्रदेश अस्पतालको पूर्वाधारमा जोड दिएको छ । यसैगरी केही नयाँ कार्यक्रम समेत सुरुवात गरेको छ । नयाँ कार्यक्रमका रूपमा नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको हो । नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम निकै प्रभावकारी रहेको मन्त्रालयको दाबी छ ।

चालु आर्थिक वर्षदेखि प्रदेश प्रमुख ‘सामाजिक रूपान्तरण अभियान’ कार्यक्रम सञ्चालन गरेको छ । बालविवाह, बहुविवाह, बोक्सी प्रथा, मानव बेचविखनजस्ता सामाजिक विकृतिका विरुद्ध टोलस्तरीय सामाजिक रूपान्तरण समिति गठन गरी प्रदेश प्रमुख सामाजिक रूपान्तरण कार्यक्रम सञ्चालन गरेको हो ।

 

बजेट कार्यान्वयन न्यून

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म कूल बजेटको ५३ दशमलव दुई प्रतिशत मात्र बजेट कार्यान्वयन गरेको छ । पुँजीगततर्फ ४४ दशमलव ४६ प्रतिशत र चालुतर्फ ६० दशमलव ६९ प्रतिशत बजेट कार्यान्वयन गरेको हो । सामाजिक विकास मन्त्रालय सेवा क्षेत्र धेरै भएको मन्त्रालय हो । तर बजेट कार्यान्वयनमा सुस्त देखिएको छ । एकातर्फ चालु आर्थिक वर्षको विकास बजेट कार्यान्वयन गर्न सकेको छैन भने मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट समेत कटौती भएको छ ।

प्रकाशित मितिः   ७ असार २०८१, बिहीबार ०५:०५