सुर्खेत जिल्ला लिग: उपाधि प्रतिस्पर्धामा बाबियाचौर र काँक्रेविहार

सुर्खेत: सुर्खेत जिल्लास्तरीय ‘ए’ डिभिजन लिगको उपाधिका लागि काँक्रेविहार क्लब र बाबियाचौर स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । समूह चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएका दुई क्लब फाइनल प्रवेश गरेका छन् ।

सेमीफाइनलमा बाबियाचौरले साथी खोर्के युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेर पहिलो पटक जिल्ला लिगको फाइनल पुगेको हो । त्यसअघि लिग चरणमा समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो । जहाँ, उसले पाँच खेलमध्ये तीनमा जित, एउटा बराबरी र एउटामा हारको नतिजा निकालेको थियो ।

फाइनल प्रवेश गर्ने अर्को टिम काँक्रेविहार क्लब लिग चरणमा समूह ‘बी’ को विजेता हो । उसले पाँचवटै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको थियो । सेमीफाइनलमा काँक्रेविहारले फ्रेण्डसिप युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

दुई समूहका शीर्ष क्लबबीच उपाधि प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल बुधवार दिउँसो हुने आयोजक सुर्खेत जिल्ला फुटबल संघले जनाएको छ । दिउँसो ३ः३० बजे वीरेन्द्रनगरको कालिञ्चोक मैदानमा फाइनल खेल हुँदैछ ।

फाइनलअघि मंगलवार लिगको ट्रफी अनावरण पनि गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले ट्रफी अनावरण गरेका हुन् । उपाधि विजेताले ट्रफीसँगै ७५ हजार नगद पुरस्कार र मेडेल प्राप्त गर्नेछ भने द्वितिय हुनेले ३५ हजार नगद पुरस्कारसहित मेडेल प्राप्त गर्ने सुर्खेत जिल्ला फुटबल संघका महासचिव सुनिल देवकोटाले जानकारी दिए ।

प्रकाशित मितिः   ५ असार २०८१, मंगलवार २०:०४