कर्णालीमा बढ्दो लागुऔषध कारोबार

सुर्खेत: पछिल्लो समय कर्णाली प्रदेशमा लागुऔषध कारोबार बढ्दो क्रममा छ । प्रत्येक वर्ष कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

सबैभन्दा बढी प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधको कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन् । वीरेन्द्रनगरमा लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ । कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवतीको संलग्न रहेको प्रहरीले जनाएको छ । पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउनेलगायतका कारणले गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । कतिपय लागुऔषधको कारोबार मात्रै गर्ने भेटिएका छन् भने केही भारत गएर लागुऔषध सेवन गर्ने र आफूलाई खानका लागि बोकेर ल्याउने गरेका छन् ।

१५ देखि ३५ वर्षसम्मका युवायुवतीहरू बढी मात्रामा छन् भने अन्य उमेर समूहका महिला पुरुष लागुपदार्थ सेवन गर्ने र कारोबारसमेत गर्ने गरेका छन् । प्रदेशमा रूपैडिया, गड्डा चौकी नाकालगायत आसपासका क्षेत्रबाट लागुऔषध बढी कारोबार हुने गरेको छ । प्रदेशभर चालु आर्थिक वर्ष २०८०/०८१ को जेष्ठ महिनासम्म ९४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भएका छन् । एक सय ४३ पुरुष र ६ जना महिला पक्राउ परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ८४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भएका थिए । उक्त वर्ष एक सय २१ पुरुष र १५ महिला पक्राउ परेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९मा ९५ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भए । उक्त वर्षमा एक सय ६४ पुरुष र आठ महिला पक्राउ परेका थिए । आर्थिक वर्ष २०७९÷०८० मा एक सय १४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भए । उक्त वर्षमा एक सय ९९ पुरुष र १६ जना महिला पक्राउ परेको प्रदेश प्रहरी कार्यालय सुर्खेको तथ्यांकमा उल्लेख छ ।

लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री हुने आइसलगायत चरेस, अफिम, गाँजा, डाइजेपाम, फेनारगन, नाइट्रोजन, फेन्सिडल, डाइजेक्स जस्ता लागुऔषध बढी कारोबार हुने गरेको छ । नेपालमा नियन्त्रित लागुऔषध भनिने औषधि सीमावर्ती भारतीय बजारका औषधि पसलमा बिक्री हुन्छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी वीरबहादुर ओलीले लागुऔषध कारोबार र प्रयोगकर्ता १८ देखि २४ वर्षसम्मका धेरै भेटिएको बताएका छन् । उनका अनुसार १८ वर्षमुनिका पनि केही संख्यामा प्रयोगकर्ता भेटिएको र उनीहरूले आफूले प्रयोग गर्नका लागि ल्याउने गरेको पाइएको छ । ‘२५ वर्षमाथिको विभिन्न उमेर समूहका व्यक्तिहरू लागुऔषध ओसारपसर कारोबारमा बढी संलग्न भएको छन् । ५०/६० वर्षका व्यक्तिहरू पनि प्रयोगकर्ता फेला परेका छन् । उनीहरू पारिवारिक तनाव, आर्थिक समस्या र साथीहरूको संगतमा लागेर यसमा फस्ने गरेका छन्,’ एसपी ओलीले भने ।

लागुऔषध कारोबार नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । ‘प्रयोगकर्तालाई नियन्त्रण गर्न विशेष प्रहरी परिचालन गरेका छौं,’ एसपी ओलीले भने, ‘सामाजिक अगुवाहरूसँगको समन्वयमा लागु पदार्थविरुद्ध जनचेतना मूलक कार्यक्रम, विद्यालय र कलेजमा गएर त्यसबाट हुने असरबारे विद्यार्थीहरूलाई जानकारी गराउनुका साथै बुझाउने गरिएको । ८ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई सचेतना मूलक कक्षा लिने गरेका छौँ ।’

लागुऔषधमा फस्ने ८ देखि १२ कक्षाका बढी हुने भएकाले पनि यसमा विशेष जोड दिँदै आएको ओलीको भनाइ छ । विद्यालयका अन्य कक्षाका साना बालबालिकालाई पनि लागुऔषधविरुद्ध सचेतना दिने काम निरन्तर गरिरहेको बताउँदै, एसपी ओलीले भने, ‘विद्यालयमा लागुऔषध मात्र नभइ ट्राफिक सचेतना र समाजमा हुनसक्ने आपराधिक गतिविधिका घटनाबारेमा पनि सचेत हुन जरुरी छ ।’ प्रहरी साझेदारी कार्यक्रम, लाल्टीन अभियानलगायतका अभियान सञ्चालन गरिरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषधको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ । लागूऔषध कारोबारको अवस्था अत्यन्त नाजुक अवस्थामा रहेको पाइएको हो । पछिल्ला केही वर्षको तथ्यांकले समेत सुर्खेतमा लागुऔषधको कारोबार बढेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अघिल्ला आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा धेरै लागुऔषध कारोबारी पक्राउ परेको जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काले चालु आर्थिक वर्षको वैशाख र जेठमा मात्र ११ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भएको बताए । १८ जना पक्राउ परेका छन् । खड्काले भने, ‘वीरेन्द्रनगरमा लागुऔषध कारोबारी बढेका छन्, उनीहरूले विभिन्न पेसा व्यवसायमा रहेर कारोबार गरिरहेका छन् ।’

प्रकाशित मितिः   ३१ जेष्ठ २०८१, बिहीबार १०:११