तरकारी खेतीले बनायो आत्मनिर्भर
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–२ आदर्श टोलकी मनपुरा कामीलाई अहिले वीरेन्द्रनगर बजारमा तरकारी बेच्न भ्याई–नभ्याई छ । उनी एकाबिहानै तरकारी बेच्न बजार आउँछिन् र अबेर घर फर्कन्छिन् । उनले उत्पादन गरेको तरकारीले राम्रै बजार पाएको छ ।
हाल करेला, काक्रा चिचिण्डा, टमाटर र फर्सी बजारमा बेच्दै आएकी छन् । ‘तरकारी खेतीले म आत्मनिर्भर बनेकी छु,’ कामीले भनिन्, ‘करेला एक सय, चिचिण्डा दुई सय, फर्सी प्रतिकेजी ५० रूपैयाँमा बिक्री गर्दै आएकी छु ।’
मेहनत गरेर तरकारी खेती गरे कसैसँग ऋण सापट गर्न जानु पर्दैन र रोजगारका लागि खाडी मुलुकमा पसिना बेच्नु पर्दैन । मेहनत गरे घरका खेतबारीमै सुन फलाउन सकिने विश्वास उनको छ । २०७५ सालबाट व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएको उनले बताइन् । उनले १३ रापनी जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएकी छिन् ।
कृषि विकास निर्देशनालय सुर्खेतले अनुदान सहयोग गरेपछि उनले तरकारी खेतीलाई विस्तार गरेको जनाइन् । तरकारी खेती गरेकी मनपुराले अहिले वार्षिक चारदेखि पाँच लाख रूपैयाँसम्म कमाउँछिन् । तरकारी खेतीबाटै उनले छोराछोरीको अध्ययन खर्च पु¥याएकी छिन् । ‘धान लगाउने सबै खेतमा अहिले तरकारी खेती गरिरहेकी छु,’ कामीले भनिन् । बजारमा तरकारीको अभाव र उत्पादनको सम्भावनालाई देखेर तरकारी खेती सुरु गरेको उनले बताइन् ।
श्रीमतीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्न लागेपछि उनका श्रीमान् नेत्रबहादुर कुमालले शिक्षकको जागिर छोडेर तरकारीमा लागेका छन् । तरकारी खेतीलाई विस्तार गरेर अघि बढ्ने सोच रहेको कुमालले बताए । डोकोमै बोकेर वीरेन्द्रनगरका पसलहरूमा तरकारी बिक्री गर्ने गरेको उनले सुनाए ।
यस्तै वीरेन्द्रनगर नगरपालिका–३ का डिल्लीप्रसाद शर्माले व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएका छन् । तरकारी खेतीबाट हुने आम्दानीले शर्माको परिवारको खर्च चल्ने गरेको छ । उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन् । ६ कठ्ठा बढी जग्गामा उनले तरकारी खेती गरेर वार्षिक रूपमा नौ लाखदेखि दश लाखसम्म रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
‘यस वर्षमात्रै सात वटा टनेलबाट एक हजार क्विन्टल टमाटर उत्पादन भएको छ, जसबाट ७० हजार आम्दानी भयो’, उनले, ‘यो वर्ष टमाटरबाट राम्रो आम्दानी भयो, बारीमा अझै टमाटार बिक्री भइरहेको छ ।’ तरकारी खेती गर्दै जाँदा लगाउने आधुनिक तौरतरिका सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उनको भनाइ छ । किसान शर्माले आधुनिक तरिकाले तरकारी खेती गर्ने तालिम लिएका छन् । ‘वीरेन्द्रनगर नगरपालिकाबाट ६० दिनको मौसमी तथा बेमौसमी तरकारी खेतिप्रविधि सम्बन्धी तालिम लिएर खेती गर्ने तौरतरिका सिकेँ’ उनले भने ‘त्यसैअनुरूप खेती गर्दै जाँदा उत्पादन बढ्न थाल्यो ।’
परिवारको घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उनले बताए । उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । पहिला मौसमी तरकारीमात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि आम्दानी सोचेभन्दा बढी नै हुने गरेको शर्माले सुनाए । ‘तरकारी खेतीलाई विस्तार गर्न जग्गा भाडामा लिएको छु’, उनले भने, ‘१२ कठ्ठा जग्गा भाडामा लिएको छु । ६ कठ्ठामा पुरै तरकारी लगाएको छु ।’ खेती गर्नका लागि तालिमसँगै आधुनिक यन्त्र, उपकरण, बीउबिजन, विषादी, मलखादका लागि अनुदान पाउदा व्यवसाय गर्न सहज भएको उनको भनाइ छ । २०७५ सालमा न्यौपाने कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर शर्माले व्यवसाय सञ्चालन गरिरहेका छन् । कृषि विकास निर्देशनालय सुर्खेतबाट विभिन्न समयमा अनुदान लिइरहेको उनले बताए । सरकारी अनुदानले व्यवसाय गर्न सहज भएको उनको भनाइ छ ।
साझा बिसौनी ।