जिप दुर्घटनामा १२ जना घाइते
सुर्खेत: रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना भएको छ । बिहीवार बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलपटमा दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी १२ जना शिक्षक र विद्यार्थीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना तथा अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए । उनका अनुसार ग १ ज ८२४९ नम्बरको जिपले बाजुराको हिमाली गाउँपालिका–५, कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थी बोकेको थियो ।
दिउँसो १२ बजेतिर भएको उक्त दुर्घटनामा नौ जना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका छन् । विद्यार्थी र शिक्षक सबै सामान्य घाइते भएको र चालक गम्भीर घाइते भएको सूचना अधिकारी कार्कीले बताए ।
यसैबीच मुगुकै ताल्चा विमानस्थलमा उड्न लागेको जहाजले ठक्कर दिँदा विमानस्थल प्रमुख धीरेन्द्र भाम घाइते भएका छन् । जिल्ला प्रहरीका कार्यालय मुगुका अनुसार बिहीवार दिउँसो १२ बजेतिर ताल्चाबाट नेपालगञ्जका लागि उड्न लागेको सीता एयरको डोर्निएर जहाजको अघिल्लो भागको पंखाले भामलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी, प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार उनी गम्भीर घाइते भएको र उनलाई नेपालगन्ज हुँदै काठमाडौं पठाइएको छ । उनका अनुसार भामले जहाजका चालकलाई जहाज उडान गर्न संकेत गरिरहेका थिए । जहाज बिस्तारै गुडिरहेका बेला चालकले बोलाएपछि भाम जहाजतर्फ गइरहेका थिए । त्यही बेला जहाजको अघिल्लो भागको पंखाले ठक्कर दिएपछि उनी घाइते भएका हुन् । भामको टाउमा धेरै चोट लागेको सूचना अधिकारी कार्कीले जानकारी दिए ।
प्रकाशित मितिः ११ जेष्ठ २०८१, शुक्रबार १२:३४
साझा बिसौनी ।