काँक्रेविहार हाफ म्याराथन हुँदै

सुर्खेत: काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । मध्यपश्चिम फिटनेश सेन्टरको आयोजनामा आउँदो असार ७ गते प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ नगद पुरस्कार पाउने छ । काँक्रेविहार हाफ म्याराथुनका संयोजक प्रमोद हमालका अनुसार दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ३० हजार र दशौँ स्थानसम्म हुने धावकले जनही २५ हजार पाउनेछन् ।

काँक्रेविहार हाफ म्याराथनको यो दोस्रो संस्करण हो । संयोजक हमालकाअनुसार पहिलो संस्करणमा कर्णाली प्रदेशका धावकहरूलाई मात्रै सहभागी गराइएको थियो भने यसपटक देशभरबाट प्रतियोगि सहभागी हुन सक्नेछन् । प्रतियोगिताबारे जानकारी दिन बिहीवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा हमालले भने, ‘रास्ट्रिय तथा अन्तर्रास्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्ने मुल उद्देश्यका साथ यो म्याराथुन आयोजना गर्न लागिएको हो ।’

२१ किलोमिटरको हाफ म्याराथुनका अलावा विद्यार्थीलाई केन्द्रीत गर्दै पाँच किलोमिटर र दुई किलोमिटर दुरीको दौड प्रतियोगिता समेत समावेश गरिएको छ । जसमा करिब दुई हजार विद्यार्थीहरू समावेश गर्ने तयारी गरिएको छ । ‘प्रतियोगिता आयोजना गर्न १४ लाख ९५ हजार लागत लाग्ने अनुमान गरेका छौँ’ हमालले भन, ‘यसमा हामीले खेलकुद परिषदबाट पाँच लाख प्राप्त गरेका छौँ भने प्रदेश सरकारको पर्यटन मन्त्रालय, स्थानीय पालिका र निजी क्षेत्रबाट बाँकी रकम जुटाउने छौँ ।’

प्रकाशित मितिः   २८ बैशाख २०८१, शुक्रबार १३:००