दुई तहका सरकारबीच द्वन्द्व !

हेलिप्याड हटाएर अस्पताल बनाइँदै

सुर्खेत: समयमै छलफल र समन्वय नहुँदा सरकारी भौतिक संरचना हटाउन लागिएको छ । दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ३ स्थित सान्नतडामा बनेको हेलिप्याडको संरचना हटाउन लागिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश सरकारले उक्त संरचना निर्माण गरेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बाढी, पहिरो, आगलागी, कटान, दुर्घटनाका सूचनाप्राप्त अनुसार खोज, उद्धार र राहत कार्यलाई सहजपुग्ने उद्देश्यले हेलिप्याड निर्माण ग¥यो । आठ लाख लागतमा डिभिजन वन कार्यालय दैलेखले संरचना निर्माण गरेको हो । उक्त आर्थिक वर्षमा दैलेखका दुई स्थानमा हेलिप्याड निर्माण गरिएको डिभिजन वन कार्यालय दैलेखका सूचना अधिकारी वेदप्रकाश ढकालले बताए । उनका अनुसार भगवतीमाई गाउँपालिका र ठाटीकाँध गाउँपालिकामा हेलिप्याडका संरचना निर्माण गरिएको हो । उनले भने, ‘प्रदेश सरकारको आठ÷आठ लाख लागतमा संरचना निर्माण गरिएको हो ।’

स्थानीय सरकारसँग समन्वय नगरी संरचना निर्माण गरिएको भगवतीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष दानबहादुर थापाले बताए । त्यतिबेला स्थानीय सरकारसँग कुनैपनि समन्वय नै नगरी प्रदेश सरकारले हस्तक्षेपपूर्ण तरिकाले संरचना निर्माण गरेको उनको भनाइ छ । अन्य स्थानमा विकल्प खोज्न भनिएको भएपनि जबरजस्ती संरचना खडा गरिएको उनको आरोपसमेत छ । अस्पताल निर्माण गर्ने भन्दाभन्दै प्रदेश सरकारले अटेरी गरी संरचना निर्माण गरेको उनले जनाए । विनाअध्ययन स्थानीयको आवश्यकता विपरित संरचना निर्माण गरेकाले गाउँपालिकाले पुरानो संरचना हटाएर सोही स्थानमा नयाँ संरचना निर्माण गर्न लागेको जनाइएको छ । हेलिप्याड निर्माण गरिएको जग्गा गाउँपालिकाको आधारभूत अस्पताल निर्माणका लागि स्थानीय सरकारले आफ्नो नाममा बनाएको थियो ।

समन्वयविना नै प्रदेश सरकारले उक्त संरचना निर्माण गरेकाले स्थानीय सरकारले भत्काउन बाध्य बनेको गाउँपालिकाले जनाएको छ । पुरानो संरचना हटाएर आधारभूत अस्पताल निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले बताए । उनका अनुसार गाउँपालिकाको सहमतिविनै उक्त संरचना निर्माण गरिएकाले हटाउनु परेको हो । गाउँपालिकाले १३ रोपनी जग्गामा दश शैय्याको आधारभूत अस्पताल निर्माण गर्न लागेको छ । अध्यक्ष थापाले भने, ‘त्यो जग्गा पहिले नै अस्पताल निर्माण गर्नका लागि पालिकाले लिएको थियो । अटेरी गरी प्रदेश सरकारले संरचना निर्माण ग¥यो । त्यसैले हामीले हटाउन खोजेका छाँै ।’

नागरिकको आधारभूत आवश्यकताका आधारमा अस्पताल निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । स्थानीय र प्रदेश सरकारको समन्वयको अभावमा राज्यको सम्पत्तिको व्यापक दुरूपयोग भएको भगवतीमाई गाउँपालिका–४ का स्थानीय जनकप्रसाद अधिकारीले बताए । नागरिकलाई हेलिप्याड र अस्पताल दुवै आवश्यक पर्ने भएपनि दुई तहका सरकारको लडाईले संरचना हटाउन लागिएको उनले जनाए । अधिकारीले भने, ‘आवश्यक समन्वय नहुँदा लाखौँ रकममा बनेका संरचना हटाइँदैछ । हामी नागरिकका लागि दुःख लाग्दो कुरा हो । हामीलाई अस्पताल र हेलिप्याड उत्तिकै आवश्यक छन् ।’

 

आधारभूत अस्पताल निर्माण गरिँदै

 

भगवतीमाई गाउँपालिका–३ स्थित हेलिप्याड निर्माण गरिएकै स्थानमा आधारभूत अस्पताल निर्माण सुरु गरिएको छ । गाउँपालिकाले उक्त स्थानमा अस्पताल निर्माण सुरु गरेको हो । संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल निर्माण’ गर्ने नीति अनुरूप अस्पताल निर्माण गर्न लागिएको हो ।

अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भइ काम सुरु गरिएको गाउँपालिकाका इन्जिनियर खगेन्द्र शर्माले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९/२०८० देखि अस्पताल निर्माणको काम थालिएको हो । गत आर्थिक वर्षमा टेण्डर लगायतका काम गरिएको थियो । चालु आर्थिक वर्ष २०८०/०८१ देखि ठेक्का सम्झौता गरेर काम अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार १३ करोडमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ ।

प्रकाशित मितिः   १८ बैशाख २०८१, मंगलवार ०५:०५