‘सरकार छिट्टै विस्तार हुन्छ’

सुर्खेत: कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले छिट्टै सरकार विस्तार हुने बताएका छन् । सोमवार बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले मन्त्रालयहरू मन्त्रीविहीन रहे पनि कुनै काममा बाधा नपुगेको उनको भनाइ छ । मुख्यमन्त्री कँडेलले यो बिचमा ठूलै नीतिगत निर्णय गर्नुपर्ने कुनै काम नरहेको र मन्त्रालयबाट हुने कामहरू निरन्तर भइरहेको जनाए । अहिले सबै मन्त्रालयको जिम्मेवारी कँडेल आफैँले सम्हालिरहेका छन् । ‘मन्त्रालय खाली भएपनि काम रोकिएको छैन, छिटै पूर्ण आकारको सरकार देख्नु पाउनुहुन्छ,’ उनले भने ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार गठनमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएको छ । बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले लामोसमयसम्म मन्त्रालय मन्त्रीविहीन हुँदा बजेट कार्यान्वयनमा समस्या भएको बताए । अहिले योजना निर्माण, बजेट निर्माण र बजेट कार्यान्वयनको काम सरकार नहुँदा रोकिएको उनको भनाइ छ । ‘लोकलाज मान्नुपर्ने हो, यतिका दिनसम्म पनि सरकारले पूर्णता पाउँदैन, जनताले के भन्लान्,’ उनले प्रश्न गरे, ‘मुख्यमन्त्रीले यसअघिको बैठकमा यो स्थिति धेरै दिन रहँदैन भन्नुभयो । तर आज पनि खाली नै ?’ सरकार विस्तार नभइ मन्त्री नहुँदा कतिपय फाइल मन्त्रालयमा रोकिएको उनले जनाए ।

यस्तै, नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले माओवादीका कारण मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको प्रष्ट पारे । ‘बाहिर माओवादीका कारण सरकार विस्तार हुन सकेन भन्ने पारिएको छ,’ शर्माले भने, ‘मन्त्रिपरिषद् गठनमा माओवादीबाट कुनै रोकतोक भएको छैन । हामीले चाहेर ढिला भएको पनि हैन, मुख्यमन्त्रीका केही बाध्यता र विवशता मन्त्रिपरिषद् गठनमा ढिलाइ भएको होला ।’ यसैबीच प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । सोमवार बसेको बैठकमा सभामुख नन्दा गुरुङले अधिवेशन अन्त्य गरिएको जानकारी गराएकी थिइन् ।

प्रकाशित मितिः   १८ बैशाख २०८१, मंगलवार ११:५२