बजेट बनाउन बस्तीबाटै योजना छनोट

सुर्खेत: सुर्खेतका स्थानीय तहहरूले बस्तीस्तरबाट योजना छनोट प्रक्रिया सुरु गरेका छन् । आर्थिक वर्ष २०८१÷०८२ को लागि वार्षिक बजेट बनाउन यहाँका स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याउने गरी सबै स्थानीय तहले काम गरिरहेका छन् ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको हरेक वडाका टोल–टोलमा योजना छनोट प्रक्रिया सुरु भएको नगरप्रमुख लालविर भण्डारीले बताए । गतवर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, नागरिकले दिएका सुझावका आधारमा योजना छनोट गर्नेगरी कार्ययोजना तयार पारिएको उनको भनाइ छ । बस्तीस्तरबाट आएका योजना वडाबाट छनोट भएर गएपछि नगरपालिका शाखा, उपशाखामा छलफल गरी कार्यपालिका हुँदै सभामा बजेट तर्जुमा प्रक्रियामा लैजाने भण्डारीले जनाए । उनले संघ सरकारले बजेट सिलिङ पठाएको भएपनि प्रदेशले सिलिङ पठाउन ढिलाइ गरेको जानकारी दिए ।

नगरपालिकाको वडा नं. ७ ले गत चैत १ गतेदेखि योजना छनोट प्रक्रिया थालेको छ । वडाहरूमा कस्ता योजना आवश्यक छन्, कस्तो र कति रकमको योजना बनाउने भनेर टोल–टोलमा नागरिक भेलामार्फत् छलफल गर्ने गरिएको वडा नं. ७ का वडा अध्यक्ष खिमबहादुर बयकले बताए । वडाका योजना छनोट गर्न यतिबेला टोल–टोलमा पुग्ने गरेको उनले जानकारी दिए । वडाले १२ वटा टोलमा योजना छनोट प्रक्रियाबारे छलफल गरिसकेको छ । योजना छनोट प्रक्रियाको अन्तिम चरणमा पुगेको वडा अध्यक्ष बयकले बताए । नागरिकले विकास निर्माणका स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युतजस्ता योजनालाई प्राथमिकताका साथ उठाएका छन् । बयकले भने, ‘आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सवाल टोल भेलाबाट आएका छन् । लक्षितवर्ग विशेष कार्यक्रम समावेश गर्नुपर्ने मागसमेत आइरहेको छ ।’ अघिल्लो वर्षमा वडाबाट गएका सबै योजना बजेटमा नसमेटिएको भन्दै उनले यो वर्ष त्यस्ता विषयलाई बजेटमा समेट्ने गरी पहल थालिएको जानकारी दिए ।

पश्चिम सुर्खेतकै चौकुने गाउँपालिकाले बस्ती स्तरबाट योजना छनोट गर्नका लागि एकीकृत योजना तयार पारेको छ । यही हप्तादेखि योजना छनोटको काम सुरु गरिने गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिनेगरी एकीकृत कार्ययोजना निर्माण गरिएको उनको भनाइ छ । ‘स्थानीय आवश्यकताको पहिचान बस्तीका नागरिकले गर्ने भएकाले योजना तर्जुमामा पालिकाले बस्तीको सहभागिता बढाएको हो,’ उनले भने । उनका अनुसार नागरिकको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले पनि बढी प्रभावकारी हुनेभएकाले सबै जनप्रतिनिधि बसेर कार्ययोजना तयार पारिएको जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकाले पनि योजना छनोट प्रक्रिया थालेको छ । योजनाका लागि बस्तीमा जाँदा स्थानीय आवश्यकता पहिचानमा मद्दत पुग्ने नगरप्रमुख मोहनमाया ढकालले बताइन् । ‘नगरपालिकाले सबै वडालाई योजना छनोट प्रक्रिया थाल्न परिपत्र गरेको छ । यसरी योजना छनोट गर्दा सबै क्षेत्रको समावेशी सहभागिता हुने भएकाले सबैले स्थानीय आवश्यकतालाई पालिकासँग दर्शाउनका लागि बस्तीस्तरमा पुगेर योजना छनोट गर्न लागिएको हो’, उनले भनिन् । अबको केही दिनमा वीरेन्द्रनगरका १६ वटै वडाका टोल–टोलमा आवश्यकताका आधारमा योजना छनोट हुने उनको भनाइ छ । लक्षीत वर्ग विशेष योजना, बजेट कार्यान्वयनका लागि टोलमै पुगेर योजना छनोट गरिने उनको भनाइ छ ।
यस्तै पुर्वी सुर्खेतका गुर्भाकोट, भेरीगंगा, लेकवेशी नगरपालिकाले समेत बस्तीस्तरको योजना छनोट प्रक्रिया सुरु गर्ने तयारी गरेका छन् । त्यसका लागि विषयगत कार्यलयसँग छलफल भइरहेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए । उनले अन्य तयारी भइरहेको भन्दै संघ र प्रदेश सरकारबाट बजेट सिलिङ आउने बित्तिकै काम सुरु हुने जानकारी दिए ।

यसैगरी भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले केही दिनमा टोल–टोलमा योजना छनोट प्रक्रिया सुरु गरिने जानकारी दिए माथिल्लो निकायबाट बजेट सिलिङ आएलगत्तै काम थालिने उनको भनाइ छ । लेकवेशी नगरपालिकाले समेत योजना तर्जुमाको काम अघि बढाएको छ । अहिले पालिकास्तरमा छलफल गरेर योजना छनोटका लागि वडा तहमा पठाउने निर्णय गरिएको नगरप्रमुख उमेशकुमार पौडेलले बताए ।

यता कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले भने स्थानीय तहको बजेट सिलिङ तयार पारिसकेको जनाएको छ । वेबसाइटमा ७९ वटै पालिकाको बजेट सिलिङ राखिएको मन्त्रालयका शाखा अधिकृत विद्याप्रसाद उपाध्यायले बताए । अबको केही दिनमा पत्र तयार गरेर पालिकामा बजेट सिलिङ पठाइने उनले जानकारी दिए । मन्त्रालय मन्त्री विहीन हुँदा काममा बाँधा पुगेको भन्दै उनले स्थानीय तहको भने बजेट सिलिङ तयार भइसकेको जानकारी दिए । प्रदेशका मन्त्रालयको भने बजेट सिलिङ बनेको छैन ।

प्रकाशित मितिः   १६ बैशाख २०८१, आईतवार ०५:०५