सरकार गठनमा अलमल

सुर्खेत: कर्णाली प्रदेश सरकार गठनमा अलमल देखिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधवार नै राजीनामा दिए पनि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच मन्त्रालयको भागबण्डामा सहमति हुन नसक्दा सरकार गठनको प्रक्रिया अवरुद्ध भएको हो ।

सहमतिअनुसार अब सरकारको नेतृत्व एमालेले गर्नेछ । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने निश्चितप्रायः छ । तर मन्त्रालयको भागबण्डा नहुँदा उनले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न सकेका छैनन् । प्रदेश प्रमुख तिलक परियारले बुधवार नै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेका छन् । दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन् । मुख्यमन्त्रीका लागी दाबी पेस गर्न चैत २७ गतेसम्मको समय दिइएको छ ।

प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरे पनि गठबन्धनभित्र नै भाबण्डा मिलेको छैन । प्रदेशमा अहिले आठ वटा मन्त्रालय छन् । जसमध्ये माओवादीले चार वटा मन्त्रालयमा दाबी गरेको छ । चार मन्त्रालयसहित सभामुख पनि पाउनुपर्ने दाबी माओवादीको छ । अहिले एमालेबाट नन्दा गुरुङ सभामुख छिन् । मुख्यमन्त्री एमालेले पाउँदा सभामुखसहित आधा मन्त्रालयमा माओवादीले दाबी प्रस्तुत गरेको जनाइएको छ ।

नयाँ सरकार गठनको विषयमा बिहीवार दुई दलबीच छलफल भएपनि सहमति हुन नसकेको हो । माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबीच भेट भएको थियो । छलफलमा शर्माले सभामुखसहित मन्त्रालयको टुँगो लगाएर सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए । तर कँडेलले पहिले मुख्यमन्त्रीमा दाबी पेस गर्ने र त्यसपछि थप छलफलसहित मन्त्रालयको टुँगो लगाउने प्रस्ताव गरेका थिए । जसमा शर्मा सहमत भएनन् ।

बिहीवार नै माओवादीको संसदीय दलको बैठकसमेत बसेको थियो । बैठकले सरकार गठनको विषयमा निर्णयसहितको जिम्मेवारी दलका नेता शर्मालाई दिने निर्णय गरेको छ । साथै प्याकेजमै सहमति गरेर मात्रै मुख्यमन्त्रीमा एमालेलाई समर्थन दिनुपर्ने निर्णय भएको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए । मुख्यमन्त्री नियुक्तिअघि नै सभामुखले राजीनामा दिनुपर्ने, मन्त्रालयको भागबण्डाको टुँगो लगाउनुपर्ने र दुई वर्षपछि पुनः सरकारको नेतृत्व माओवादीलाई दिने लगायतका सहमति गर्नुपर्ने माओवादीको माग छ । यी मागमा सहमत भएमा मात्रै मुख्यमन्त्रीका लागि समर्थन दिने जनाइएको छ ।

माओवादी सहमत नभएपछि बिहीवार कँडेलले मुख्यमन्त्रीमा दाबी पेस गर्न पाएनन् । उनले बिहीवार नै माओवादी र नेकपा (एकीकृत समाजवादी) सहितको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका थिए । एमाले पहिला मुख्यमन्त्री नियुक्ति गर्ने र त्यसपछि भागबण्डाको विषयमा छलफल गर्ने पक्षमा छ । बिहीवार सहमति नभए पनि शुक्रवार (आज) थप छलफल गरेर टुँगो लगाउने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मितिः   २३ चैत्र २०८०, शुक्रबार १२:१८