पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण

सुर्खेत: कालीकोटको पचाल झरना गाउँपालिका–३ स्थित पचाल झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ । पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गर्न लागिएको हो ।
गत आर्थिक वर्षबाट पूर्वाधार निर्माणको काम थालिएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० बाट पूर्वाधार निर्माणको काम सुरु गरिएको मन्त्रालयकि प्रवक्ता रेनुका न्यौपानेले बताइन् । उनका अनुसार योजना कार्यान्वयन डिभिजन वन कार्यालय कालीकोटले गरेको छ । अहिले पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् ।
पदमार्ग, मन्दिर, सभाहल, क्यान्टिन लगायतका पूर्वाधार निर्माणका काम भइरहेको डिभिजन वन कार्यालय कालीकोटले जनाइएको छ । विभिन्न चरणमा पूर्वाधार निर्माणका भइरहेको कार्यालयका इन्जिनियर प्रकाश सेजुवालले बताए । पूर्वाधार निर्माणका लागि बसना न्यौपाने जेभी सुर्खेतसँग २०७९ असार २३ गते ठेक्का सम्झौता गरिएको छ । चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी ६ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको इन्जिनियर सेजुवालले जनाए । २०८३ असारसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । हालसम्म पूर्वाधार निर्माणको ६५ प्रतिशत काम सकिएको छ । पिकनिक स्थल र पार्क निर्माण, प्रतिक्षालय निर्माण, जिपल्यान्ड समेत बनाइनेछ ।
पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) २०७८ मा निर्माण गरिएको थियो । डीपीआर अनुसार नौ करोड ६५ लाख लागत अनुमान छ । खार्डुगाउँदेखि पचाल झरनासम्म चार किलोमिटरको पदमार्ग निर्माण गरिनेछ । अहिलेसम्म १६ सय मिटर पदमार्ग निर्माणको काम सकिएको छ । दुई वटा मन्दिर निर्माण हुनेछन् । एउटा मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । पूर्वाधार निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने लक्ष्य रहेको पचाल झरना गाउँपालिकाले जनाएको छ । अहिले तीव्र गतिमा पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाका अध्यक्ष देवराज शाहीले बताए ।
पचाल झरनाको नापजाँच
२०८० असोज २ गते नापी विभागले पचाल झरनाको नापजाँच गरेको गाउँपालिकाले जनाएको छ । विभागले नापजाँचको विवरण सार्वजनिक गरेको छैन । तर गाउँपालिकाले तीन सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँको समेत दूरी लिँदा चार सय १५ मिटर अग्लो रहेको दाबी गरेको छ ।
हालैै मात्र नापी विभागले झरनाको नापजाँच गरेकाले आधिकारिक विवरण नभएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए । यो ऐतिहासिक झरनाको संरक्षण, विकास र प्रवद्र्धन गर्न लागिएको भन्दै अध्यक्ष शाहीले आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि मुख्य आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरे । पदमार्ग निर्माण, सभाहल निर्माण र झरनाको बेस क्याम्पमा होमस्टेको तयारी हुँदै गरेकोले पर्यटकीय सम्भावना बढेको उनले जनाए ।
पचाल झरनाबाट खसेको पानी करिब दश किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो झरना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानीयहरूका अनुसार यो झरनाको बीचमा ठूलाठूला गुफाहरू पनि छन् । सशस्त्र द्वन्द्वको समयमा माओवादीहरूले यिनै गुफाहरूमा हातहतियारको गोदामसमेत बनाउने गरेको बताइन्छ । वडा नं. ३ का स्थानीय तुलाराज कठायतले झरना हेर्न आन्तरिक पर्यटक आउने गरेको बताए । दशैँ र तिहारको बीचमा पर्यटकहरू बढी आउने गर्छन् । उनका अनुसार विद्यालयहरूले शैक्षिक भ्रमणमा विद्यार्थीहरूलाई लिँदा यही झरनाको अवलोकन गराउने गरेका छन् ।
हिउँदको समयमा पानीको बहाव कम हुने र वर्षा यामको समयमा तीव्र पानीको बहावमा पनि शान्तरूपमा झरना खसिरहन्छ । कठायतले भने, ‘असारदेखि कार्तिकसम्म झरना ठूलो देखिन्छ । झरना बाहै महिना निरन्तर बहिरन्छन् । अहिले पूर्वाधार निर्माण पनि थालिएको छ ।’
सदमुकाम मान्माबाट करिब तीन घण्टा गाडी र ६ घण्टा पैदलयात्रा गरेपछि त्यहाँ पुग्न सकिन्छ । बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माण पनि भइरहेको छ । तर, यसको उचित प्रचारप्रसार भने हुन सकेको छैन । आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने यस झरना अग्लाअग्ला पहाडी हिमश्रृंखलाहरूको फेदमा भएकाले थप आकर्षक देखिन्छ ।


साझा बिसौनी ।