आजदेखि प्रदेशसभाको हिउँदे अधिवेशन

सुर्खेत: कर्णाली प्रदेशसभाकोे हिउँदे अधिवेशन आज (बुधवार) देखि सुरु हुँदैछ । यो अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजे आह्वान गरिएको छ । बजेट अधिवशेन अन्त्य भएको पाँच महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । गत असोज २२ गते बजेट अधिवेशन अन्त्य भएको थियो ।
पहिलो बैठकमा दलका प्रतिनिधिहरूले आफ्ना धारणा राख्ने कार्यसूचि छ । बैठकको सुरुवातमा सभामुख नन्दा गुरुङले प्रदेशसभा आह्वानसम्बन्धी प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने र त्यसपछि दलिय धारणा राख्ने कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनबाट कानुन निर्माणमा जोड दिइनेछ । सभामा टेबल गरिसकेका विधेयकहरूमाथि छलफल र पारितसँगै नयाँ विधेयक पेस हुनेछन् । अहिले प्रदेशसभाका विभिन्न विषयगत समितिमा तीन वटा विधेयकहरू छलफलमा छन् । विधेयकमध्ये सामाजिक विकास समितिमा कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश मामिला समितिमा कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र अर्थ तथा प्राकृतिक स्रोत समितिमा कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका छन् ।

त्यस्तै फागुन १५ गते प्रदेशसभामा दर्ता भएको कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले पनि प्रदेशसभा बैठकमा टेबलपछि छलफलमा लागि प्रवेश पाउने छ । लामो समयसम्म अधिवेशन आह्वान नगरिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । सत्ता समीकरण बदलिएपछि पहिलो पटक प्रदेशसभा बैठक सञ्चालन हुँदैछ । समीकरण बदलिए पनि कर्णाली प्रदेश सरकार पुनर्गठन भने भइसकेको छैन ।

प्रकाशित मितिः   ३० फाल्गुन २०८०, बुधबार १०:२३